काठमाडौं- नेपालमा गत २४ घण्टामा नयाँ कोरोना भाइरस संक्रमित नभएको र ३ सय २४ जनाको कोभिड-१९ परीक्षण भएको जानकारुि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ। यसअघि आइतबार पनि नयाँ संक्रमित भेटिएका थिएनन्।
स्वास्थ्य मन्त्रालयको कोभिड- १९ सम्बन्धी मिडिया बिफ्रिङमा स्वास्थ्य प्रवक्ता डा विकास देवकोटाले देशभर गत २४ घण्टामा नयाँ कोरोना भाइरस पोजिटिभ नदेखिएको जानकारी दिए।
उनले देशभर हालसम्म ८ हजार ४ सय १४ जनाको पिसिआर प्रविधिबाट नमुना परीक्षण भएको जानकारी दिए।
नेपालमा हालसम्म ३१ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ। जसमध्य ४ जना निको भइसकेका छन्। बाँकि २७ जनाको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको स्वास्थ्य स्थिति सामान्य रहेको प्रवक्ता देवकोटाले बताए।
प्रदेश नम्बर १ को कोशी अस्पतालमा १३ जना, प्रदेश २ को नारायणी प्रादेशिक अस्पताल ४ जना, सुदुरपश्चिम प्रदेशमा ३ जना, वागमति प्रदेशमा टेकु अस्पतालमा १ र चितवनमा २ जनाको उपचार भइरहेको छ।
सरकारले देशका सबै जिल्लामा दूत परीक्षण आरडिटी प्रविधिबाट पनि परीक्षण भइरहेको जनाएको छ। हालसम्म देशभर २५ हजार १ सय ४८ जनाको परीक्षण भएको जनाएको छ। गत २४ घण्टामा ३ हजार १९ जनाको परीक्षण भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।