काठमाडौं- नेपाल पत्रकार महासंघले श्रमजिवी पत्रकार र सञ्चार प्रतिष्ठानका लागि तत्काल राहत प्याकेज घोषणा गर्न सरकारसमक्ष माग गरेको छ। विगत चार हप्तायताको लकडाउनका कारण सञ्चार प्रतिष्ठानहरू समस्यामा परेको भन्दै राहत प्याकेज घोषणा गर्न महासंघले माग गरेको हो। महासंघको केन्द्रीय समितिका पदाधिकारी र प्रदेश समितिका पदाधिकारीहरुको डिजिटल कन्फ्रेन्स बैठकले यस्तो निर्णय गरेको हो।
'विगत चार हप्तादेखि जारी लकडाउनका कारण सञ्चार प्रतिष्ठानहरू समेत समस्यामा परेको हुँदा श्रमजीवी पत्रकार र सञ्चार प्रतिष्ठानहरुका निमित्त तत्काल राहत प्याकेज घोषणा गर्न महासंघ नेपाल सरकार समक्ष जोडदार माग गर्दछ,' बैठकपछि महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
बैठकमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणले उत्पन्न गराएको जटिल परिस्थितिमा सञ्चार क्षेत्रले खेलेको भूमिका र चुनौतीको समीक्षा भएको थियो। सरकारले संक्रमण नियन्त्रणका लागि चलाएको अभियानलाई सञ्चार क्षेत्रको तर्फबाट पूर्ण साथ दिँदै मर्यादित र जिम्मेवार पत्रकारितालाई महासंघले जोड दिएको छ ।
पत्रकारहरुलाई कतिपय सञ्चारगृहले पारिश्रमिक उपलब्ध नगराएकोप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।
समाचार संकलनका क्रममा आफ्नो सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न महासंघले आम सञ्चारकर्मीहरूलाई आग्रहसमेत गरको छ। साथै, क्वारेन्टीन, आइसोलेसन वार्ड र संक्रमण परिक्षण स्थलको संवेदनशीलतालाई ख्याल गर्न र पर्याप्त पूर्वसतर्कता र सुरक्षाको सुनिश्चितता नभई नजान पनि आग्रह गरिएको छ।
महासंघले असंगठित मजदुर, श्रमिक, सीमान्तकृत समुदाय र बाटोमा हिँडेर गन्तव्यतर्फ गइरहेका नागरिकहरुको समस्या सम्बोधन गर्न पनि माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।