काठमाडौं- लकडाउन भएयता ७ सय ५३ वटा स्थानीय तहले ६ लाख २८ हजारभन्दा बढी परिवारलाई राहत वितरण गरिसकेका छन्।
संघीय मामिला तथा सानान्य प्रशासन मन्त्रालयले स्थानीय तहको समन्वयमा मात्र राहत वितरण गर्न पाउने व्यवस्था गरेको छ। सबै स्थानीय तहबाट उपलब्ध विवरण अनुसार सो संख्यामा राहत वितरण भएको मन्त्रालयले जनाएको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहसँग दैनिक रूपमा भए/गरेका कामको ब्रिफिङ लिइरहेको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए। 'सोमबार १२ बजेसम्ममा ७ सय ५३ वटा स्थानीय तहले ६ लाख २८ हजारभन्दा बढी घरपरिवारलाई राहत वितरण गरेको तथ्यांक हाम्रो मन्त्रालयमा आएको छ,' उनले भने, 'राहत वितरण सहज होस् र सबैले राहत पाउन भनेर वितरणमा एकद्वार प्रणाली लगाएका छौं।'
मन्त्रालयले राहत वितरण वा समस्यामा परेका मजदुरलाई सहजीकरण गर्न हरेक प्रदेशको संयोजन गर्न एक/एक जना उपसचिवलाई तोकको समेत उनले जानकारी दिए। हिजोमात्र रोल्पालगायत विभिन्न जिल्लबाट भक्तपुरको इट्टा भट्टामा काम गर्ने ५ सय २ जना मजदुरलाई सम्बन्धित स्थानीय तहबाट राहत वितरण गरिएको प्रवक्ता अधिकारीले बताए।
मन्त्रीको पालिका प्रमुखसँग नियमित कन्फ्रेन्स
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदेश त्रिपाठीले गाउँपालिका तथा नगरपालिका प्रमुखहरुसँग नियमित रूपमा भिडियो कन्फ्रेन्समार्फत् स्थानीय तहले गरेको काम र त्यहाँ देखिएका अप्ठ्यारा बारे जानकारी लिइरहेको अधिकारीको भनाइ छ।
'मन्त्री ज्यूले दैनिक ८/१० वटा स्थानीय तहका प्रमुखसँग भिडियो कन्फ्रेन्सबाट कुरा गरिरहनु भएको छ,' अधिकारीले भने, 'यसले स्थानीय तह र केन्द्र सरकारबीच राम्रो तादत्म्यता देखिनुका साथै स्थानीय तहले पनि समस्या भए मन्त्री ज्यूसँग नै राख्ने अवसर पाए।' यसले यो संकटको बेला सबैलाई काम गर्ने उर्जासमेत थपेको उनको भनाइ छ।
राहत वितरण र अन्य कामका लागि स्थानीय तहहरुमा बजेटको अभाव नहोस् भनेर बिनियोजित बजेटमार्फत् रकमान्तर गर्न सक्ने व्यवस्थासमेत सामान्य प्रशासन मन्त्रालयले गरिसकेको छ। राहत वितरणमा भेदभाव नहोस् र पारदर्शी होस् भनेर मन्त्रालयले सबै स्थानीय तहलाई सजग गराएकाे छ।
'हामीले सबै पालिकाहरुलाई उत्तरदायित्ववहन हुने गरी काम गर्न व्यवस्था मिलाएका छौं,' अधिकारीले भने, 'राहत वितरणमा पारदर्शीता होस् र भोलि प्रश्न उठ्दा जवाफ दिन सक्ने गरी काम गर्न भनेका छौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।