काठमाडौं- कोरोना भाइरस संक्रमितको उपचारमा मलेरियाको औषधि हाइड्रक्सीक्लोरिक्विन प्रयोग गर्न औषधि उत्पादक कम्पनी र अमेरिकी सरकारबीच सहमति भएको छ। नोभार्टिस कम्पनी र अमेरिकी सरकारबीच कोरोना भाइरस संक्रमित अस्पतालमा भर्ना भएका ४ सय ४० बिरामीमा मलेरियाको औषधि हाइड्रक्सीक्लोरिक्विन प्रयोग गर्न सहमति भएको सिएनएनले जनाएको छ।
यो औषधि लामो समयदेखि मलेरियाको उपचारमा प्रयोग हुँदै आएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसविरुद्ध यसको प्रयोगमा लबिङ्ग गर्दै आइरहेका छन्। तर यसले कोरोना भाइरस संक्रमणलाई निको पार्ने अहिलेसम्म प्रमाणित भने भएको छैन।
स्विस औषधि निर्माण कम्पनी नोर्भाटिसले कोरोना भाइरस संक्रमितमा मलेरियाको औषधि प्रभावकारी हुन्छ भन्ने वैज्ञानिक प्रश्नको महत्वबारे आफू जानकार रहेको बताएको छ। विश्वका विभिन्न ल्याबमा अहिले कोरोना भाइरस संक्रमणको उपचारका लागि नयाँ औषधि उत्पादन गर्ने प्रतिस्पर्धा चलिरहे पनि सबै परीक्षणकै क्रममा रहेका छन्।
मलेरियाविरुद्धको सो औषधि कोरोना भाइरस संक्रमणको उपचारमा प्रभावकारी भएमा नेपालमा ५० हजार जनासम्ममा उपयोग गर्न सक्ने गरी स्टक छ। एसोशिएसन अफ फार्मस्युटिकल प्रोडक्टस् अफ नेपाल (एप्पोन)का अनुसार नेपालमा तीन कम्पनीले यो औषधिको उत्पादन गर्ने गरेका छन्।
देउराली जनता फार्मस्युटिकल प्रालि, क्यूमेड फर्मुलेशन प्रालि र मारुती फर्मा प्रालिले हाइड्रक्सीक्लोरिक्विन उत्पादन गर्ने गरेका छन्। उनीहरूसँग सात लाख ट्याब्लेट बनाउन सक्ने कच्चा पदार्थ मौज्दात रहेकाे एप्पोनले जनाएको छ।
यति औषधि उत्पादन भए ५० हजारसम्म बिरामीको उपचार गर्न सकिन्छ। देउराली जनता फार्मस्युटिकलले चार लाखवटा उक्त औषधिको ट्याब्लेट सरकारलाई दिने घोषणासमेत गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।