काठमाडौं– काठमाडौं विश्वविद्यालयले परीक्षा लिने बेला भएका स्नातक तहको विज्ञान र इन्जिनियरिङबाहेक अन्य विषयको अनलाइन कक्षा भइरहेको जनाएको छ।
विश्वविद्यालयका प्रवक्ता हेमराज काफ्लेका अनुसार स्कुल अफ म्यानेजमेन्ट, स्कुल अफ आर्टस, एजुकेशन, ल र मेडिकल साइन्सको कक्षा जुम, गुगल मिट तथा मुडलमार्फत् भइरहेको हाे।
‘अनलाइन पढाउने १० वर्ष देखिकै अनुभव अहिले प्रभावकारी भएको छ,’काफ्लेले भने,‘केयुले नै किनेको मुडलमार्फत् विद्यार्थीले अनलाइन कोर्ष गरिरहेका थिए। लकडाउने गर्दा फेस टु फेस कक्षा सञ्चालन पनि गरिरहेका छौँ। ’
१५ दिनअघि नै कक्षा सञ्चालन गरेको केयुले इन्जिनियरिङ र विज्ञानकाे पढाई पनि के गर्ने भन्ने बारेमा छलफल भइरहेको प्रवक्ता काफ्लेले बताए ।
मे महिनाभरि लकडाउनकै स्थिति रहे मूल्यांकनको जिम्मा सम्वन्धित प्राध्यापकलाई दिने गरि छलफल भइरहेको उनको भनाइ छ। ‘यसै नै ६० प्रतिशत प्राध्यापकले मुल्याङकन गरेबमोजिम विद्यार्थीको नतिजा प्रकाशन हुन्छ,’काफ्लेले भने,‘यही अवस्था रहे सबै मूल्यांकनको जिम्मा प्राध्यापकलाइ दिने तयारी भइरहेको छ।’
केयुमा १५ हजारको हाराहारीमा विद्यार्थी अध्ययनरत छन्। विभिन्न विषयका परीक्षा दिने बेला भएका ३ हजारबाहेक ९० प्रतिशत विद्यार्थी अनलाइन कक्षामा सहभागी रहेको काफ्लेले दावी गरे।
उनका अनुसार केही उपत्यकाबाहिर गएका र इन्टरनेटको पहुँच नभएकाहरुबाहेक सबै विद्यार्थी तथा प्राध्यापकहरुले कक्षा लिइरहेका छन्। कक्षा छुटेका विद्यार्थीका लागि पछि छुट्टै व्यवस्था गरिने काफ्लेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।