काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले राहतको नाममा गुणस्तरहीन खाद्यन्न वितरण गर्नेलाई कारबाही गर्न सरकारसँग माग गरेका छन्। साहले सामाजिक सञ्जाल फेसबुक पेजमार्फत् गुणस्तरहीन सामग्री वितरण गर्नेलाई कानुनअनुसार कारबाही गर्न माग गरेका हुन्।
‘समस्या समाधानका साथै कालोबजारी, मंहगी एवं गुणस्तरहीन सामानको अनुगमन तथा नियन्त्रण गर्ने निकाय आफै अनियमितता गर्नु दुर्भाग्य हो,’ साहले लेखेका छन्, ‘सडेको दाल खरिद, बिक्री र वितरण गर्ने मुख्य व्यक्तीलाई कारबाही नगरी कारबाहीको नाममा झारा टार्ने काम सम्बन्धित निकायले गर्नु दुःखत छ।’
केही दिनअघि बाराकाे कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवले आफ्नै यादव कोल्ड स्टोरबाट सडेको खाद्यन्न राहतको नाममा मजदुर र विपन्न परिवारलाई वितरण गरेका थिए। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटाैंडाले कलैया उपमहानगरपालिकाद्वारा वितरण गरिएको राहतको नमुना परीक्षण गर्दा गुणस्तरहीन खाद्यन्न भएको पुष्टी गरेको थियो। लकडाउनमा उपमहानगरपालिकाले आफ्ना २७ वडामा राहत वितरण गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।