काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि लागू गरिएको लकडाउनका कारण अलपत्र परेका रोल्पा, रुकुम र सल्यानका श्रमिकको उद्धार गरिएको छ। ऊर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनको पहलमा उपत्यकाका भक्तपुर र ललितपुरमा अलपत्र परेका करिब ४ सय श्रमिकको उद्धार गरी घर पठाएइको हो।
काभ्रेका विभिन्न स्थानबाट आएर भक्तपुरको शंखरापुर नगरपालिकामा रोकिएका रोल्पा, रुकुम र सल्यानका श्रमिकलाई ८ वटा बसमा हालेर गन्तव्यसम्म पुर्याइएको हो। काभ्रेबाट आएकालाई ६ वटा बसमा, भक्तपुरका विभिन्न इँटा भट्टामा कार्यरत मजदुरलाई दुईवटा र ललितपुरमा रहेकालाई एउटा बसमा राखेर घर पठाइएको हो।
ठूलो संख्याका मजदुरलाई सुरक्षाकर्मीले भक्तपुरको शंखरापुरमा रोकेको जानकारी पाएपछि मन्त्री पुनले उनीहरुलाई यतायताको व्यवस्था गरेका थिए। उनीहरुलाई मन्त्री पुनले आइतबार साँझ बिदाई गरेका हुन्।

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीमगरले पनि यसमा पहल गरेकी थिइन्।
ऊर्जामन्त्री पुनले अलपत्र परेका श्रमिकहरुलाई ६ वटा बसमा घर पठाएका हुन् भने त्यसअघि दिउँसो घर्तीले ललितपुरबाट घर जान चाहनेहरुलाई २ वटा बसमा बिदाई गरेकी थिइन्। उनले उपत्यकामै बस्न चाहनेहरुका लागि राहत वितरणसमेत गरेकी थिइन्।
रोल्पाबाट प्रतिनिधिसभामा निर्वाचित ऊर्जामन्त्री पुनलाई सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धी कामका लागि प्रदेश नं ५ को समन्वय गर्ने जिम्मेवारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।