काठमाडौं– पैदलयात्रीहरु अलपत्र परेपछि चन्द्रागिरि नगरपालिका, नेकपा चन्द्रागिरी र स्थानीय युवाहरुको सक्रियतामा थानकोटस्थित त्रिभुवन पार्कमा खानेबस्ने व्यवस्था मिलाइएको छ। त्यहाँ धेरै मजदुरहरु हुने भएपछि ३ सय २ जनालाई शनिबार बस चढाएर गन्तब्यस्थलतर्फ पठाइयो।
अलपत्र उनीहरुको यसरी उद्धार गरेपछि धेरै नहोलान् भन्ने अपेक्षा उद्धारमा संलग्नहरुको थियो। तर, केहीलाई घर फर्काएपछि जान पाइने आशामा आइतबार दुई सय भन्दा बढी व्यक्तिहरु थानकोट पुगे। प्रहरी र स्वयंसेवकले केहीलाई उनीहरुको डेरातफै नै फर्काइदिएको छ भने केहीलाई त्यहीँ बन्दोबस्त गरिएको छ।
उद्धार कार्यमा संलग्न नेकपाका तर्फबाट उक्त क्षेत्रकी सांसद अञ्जना विशंखे बाँकीलाई घर पठाउन नसकिने बताउँछिन्। उनले भनिन्, ‘हामीले एकदमै दुःख पाएकाहरुलाई लक्ष्य गरेर गाडीको जोहो गरेका थियौं। तर, अहिले घरमा राम्रैसँग बसिरहेका पनि आइपुग्नुभएको छ।’
सांसद विशंखेले उनीहरुको स्थायी ठेगाना लिएर त्यहाँको स्थानीय तहसँग सम्पर्क गरिरहेको बताइन्। थानकोट पुग्नेमा धेरै मजदुर रहेका छन्। काठमाडौंमै रहेका मजदुरहरु त्यहाँबाट गाडीमा पठाइने जानकारी शनिबार उद्धार गरिएकाहरुबाट पाएर त्यहाँ पुगेका हुन्।
हेर्नुहोस् भिडियो रिपोर्ट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।