काठमाडौं- तेह्रथुममा हालसम्म आरटिपिसिआर प्रविधिबाट परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ। जिल्लाबाट १२ जनाको आरटी पिसिआर परीक्षण गरिएको भए पनि सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगराज घिमिरेले जानकारी दिए।
'हालसम्म १२ जनाको पिसिआर परीक्षण गरिएको हो। सबैको रिपोर्ट नेगेटिभ आएको छ,' नेपाल लाइभसँग प्रमुख घिमिरेले भने।
पछिल्लो पटक १० जनाको नमूना संकलन गरी पिसिआर परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो। मेन्छायेम गाउँपालिकाका एकै परिवारका ३ जनाको र्यापिड परीक्षणमा पोजेटिभ देखिएपछि ती नमूनासँगै शंकास्पद अन्य ७ जनाको समेत पिसिआरका लागि धरान पठाइएको थियो। यसअघि नै जिल्लाबाट २ जनाको पिसिआर परीक्षण गराइएको थियो। उनीहरुको पनि रिपोर्ट नेगेटिभ आइसकेको छ।
तीनजनाको आरडीटी पोजेटिभ आउनेबित्तिकै जिल्ला अस्पताल तेह्रथुमको आइसोलेसनमा राखिएको थियो। हालसम्म मेन्छायाम गाउँपालिकाका ४ जना, म्याङलुङ नगरपालिकाका ३ जना र फेदाप गाउँपालिकाका ३ जनाको पिसिआर परीक्षण गरिएको छ।
जिल्लामा शनिबार सम्म १ सय ५८ जनाको परीक्षण गरिएकोमा तीनजनाबाहेक सबैको रिपोर्ट नेगेटिभ आएको छ। ती तीन जनाको पनि पिसिआरमा रिपोर्ट नेगेटिभ आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।