काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेता एवम् सांसद जयपुरी घर्तीले ललितपुर र भक्तपुरका विभिन्न इँटाभट्टामा काम गर्ने रोल्पाली श्रमिकलाई सहयोग गरेकी छन्।
दुई जिल्लाका विभिन्न स्थानमा रहेका इँटाभट्टामा काम गर्ने करीब ३ सय रोल्पाली श्रमिकलाई प्रत्यक्ष भेटेर समस्या बुझेको घर्तीले फेसबुकमा लेखेकी छन्। ‘एकाध ठाउँमा बाहेक स्थानीय जनप्रतिनिधी तथा सरकारले खान बस्नको राम्रौ व्यवस्था गरेको पाइयो,’ घर्तीले फेसबुकमा लेखेकी छन्, ‘खान बस्नमा धेरै समस्या भएका ७८ जनालाई तत्काल राहत वितरणसमेत गरेको छु। मजदुरहरुले आफ्नै थात्थलोमा फर्कने इच्छा व्यक्त गरेका छन्।’
उनले लकडाउनको पालना गर्न अनुरोध गर्दै सरकारले सहजीकरण गरेमा घर फर्काउन व्यवस्थापन गर्न पनि आफू लागि परेको बताएकी छन्। घर्ती २०६४ को संविधान सभा चुनावमा रोल्पा क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी थिइन् भने २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सामनुपातिकबाट छानिएकी थिइन्। उनी संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति समेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।