काठमाडौं– बसको व्यवस्था गरेर काठमाडौं छोडेर घर जानेका लागि सरकारले नपठाउने भएको छ। शनिबार पैदलयात्रा मार्फत घर जान लागेका श्रमिकहरुलाई बस मार्फत जिल्ला पुर्याइएको थियो। सरकारकै सहयोगमा घर जान पाइने आशामा आइतबार बिहानैबाट थानकोटस्थित त्रिभुवन पार्कमा पैदलयात्रीहरु पुगेका थिए।
शनिबार जिल्ला पठाइएसँगै घर पुग्ने आशाले त्रिभुवन पार्कमा आइतबार पुगेकाहरु भने त्रिभुवन पार्कमै बस्नुपर्ने भएको छ। बिहान चार बजेदेखि आएकाहरुलाई त्रिभुवन पार्कमा राखिएको थियो। बिहान १० बजेसम्म २५० बढी पैदलयात्री त्रिभुवन पार्कमा पुगिसकेका थिए। संख्या बढ्दै गएपछि व्यवस्थापन गर्न कठिनाइ उत्पन्न हुनाले थानकोट नपुग्दैका चोक चोकबाट फिर्ता गरिएको थियो।
त्रिभुवन पार्कमा पुगेकामध्ये कतिपयलाई पुनः उनीहरु बसेकै स्थानमा फर्कन निर्देशन दिइएको छ। फर्कन आग्रह गरेपछि हाल ११५ जनामात्रै त्रिभुवन पार्कमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ अन्जना विशंखेले जानकारी गराइन्। ‘शनिबार पठाएपछि सरकारी तवरमा पठाउने आशाले आउनेहरुको संख्या ठुलो रहेछ।’ उनले भनिन्, ‘कतिपय त सुविधा सम्पन्न व्यक्तिहरु पनि राति नै त्रिभुवन पार्कमा आइपुगेका रहेछन्।’
वास्तविक समस्यामा परेकाको पहिचान गरी उद्धार गरिने र अन्यलाई फिर्ता गरिएको बताइएको छ। सिन्धुपाल्चोक,काभ्रे,दोलखादेखि हिँड्दै काठमाडौं आई अलपत्र परेकाका लागि सहयोग गर्ने उद्देश्य राखिएपनि राजधानीकै आएर संख्या बढेको विशंखेले बताइन्।
आइतबारबाट समूहमा आएकाहरुलाई सुरक्षाविधि अपनाएर छुट्टाछुट्टै राख्ने तयारी गरिएको छ। क्वारेन्टाइनकै अवस्थामा उनीहरुलाई राखिने उनले जानकारी दिइन्। आइतबारबाट गम्भिर समस्यामा परेका नागरिकलाई मात्रै खाना बस्न र आश्रय उपलब्ध गराउने बताइएको छ।
चन्द्रागिरी नगरपालिकाले व्यवस्थापनमा सहयोग पुर्याउन स्थान उपलब्ध गराएको छ। नेकपाका कार्यकर्ता व्यवस्थापनमा खटेका छन्। खानाको लागि सरकार र व्यवसायीको संयुक्त पहलमा खुवाउने कार्य भइरहेको छ।
बस उपलब्ध गराएर काठमाडौं बाहिर पठाउने अधिकार प्राप्त नभएकाले पठाउन नसकिने विशखेंले बताइन्। उनले भनिन्, ‘शनिबार परिस्थितिबस पठाउने कार्य गरियो। अस्थायी शिविर राख्ने हाम्रो तयारी थियो। ठूलो योजनाले गरेको होइन।’
थानकोट पुग्नै नदिने गरी भित्री चोकहरुमा पैदलयात्रीहरुलाई रोक्न थालिएको छ। बिहान थानकोट पुग्नेगरी निस्केका मजदुरको समूहलाई कलंकी, बल्खु, कीर्तिपुरलगायतका स्थानबाट फिर्ता गरिएको थियो। थानकोटसम्म आउनै नदिने गरी फिर्ता गर्न प्रहरी प्रशासनलाई आग्रह गरिएको उनले बताइन्।
सामान्य अवस्था नआउन्जेलसम्म गम्भीर समस्यामा परेका ११५ जनालाई खुवाउने/बास बसाउने कार्य भइरहने उनले जानकारी दिइन्। संख्या थपिएमा व्यवस्थापन गर्नै नसकिने भएकाले अरुलाई थानकोटसम्म आउन नदिन प्रशासनलाई आग्रह गरेको उनले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।