काठमाडौं– अर्थमन्त्री डाक्टर युवराज खतिवडा र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनन्जय रेग्मीबीच कोरोनाका कारण पर्यटन उद्योगमा परेको समस्याका बारेको छलफल भएको छ। छलफलको क्रममा कोरोनाका कारण सबैभन्दा बढी प्रभाव पर्यटन क्षेत्रमा परेको भन्दै यसलाई कसरी रिकभर गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको सिइओ रेग्मीले बताए।
छलफलकै क्रममा अर्थमन्त्री खतिवडासँग आर्थिक वर्ष २०७७/७८ को बजेटमा पर्यटन उद्योग संरक्षणका लागि आवश्यक बजेटको व्यवस्था गरिदिन आफूले आग्रह गरेको उनले जानकारी दिए। पर्यटन उद्योगमा मात्रै अहिलेकाे अवस्थामा पनि कोरोनाका कारण झन्डै २ खर्ब रुपैयाँको लगानी संकटमा पर्ने अवस्था रहेको समेत मन्त्री खतिवडालाई पर्यटन बोर्डको तर्फबाट जानकारी गराएको रेग्मीले नेपाल लाइभलाई बताए।
‘मन्त्री खतिवडाबाट पनि समग्र पर्यटन उद्योगमा परेको समस्या र रिभकरको योजनासहितको एउटा प्रतिवेदन दिन आग्रह भएको छ,’ रेग्मीले भने, ‘मन्त्रीको आग्रह अनुसार एक साताभित्र विस्तृत रुपमा अध्ययन गरे पर्यटन उद्योगमा परेको समस्या र रिभकरको लागि आवश्यक बजेट र प्याकेजको विषयमा रिपोर्ट बुझाउछाैं।’ प्रारम्भिक अध्ययनमै नाैं खर्बभन्दा बढी नोक्सान पर्यटन उद्योगमा परेको देखिएको उनको भनाइ छ।
कोरानाका कारण नेपालको पर्यटन क्षेत्रमा सबैभन्दा राम्रो मानिएको समयमा समस्या परेको समेत उनको भनाइ छ। मन्त्री खतिवडासँग कोरोनाको महामारी अन्त्यपछि पनि कसरी अगाडि बढने भन्ने विषयमा छलफल भएको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।