काठमाडौं- प्रहरीले पक्राउ गरेका अभियुक्तलाई अब अदालतमा उपस्थित नगराई प्रहरी कार्यालयबाटै म्याद थप गर्न पाउने भएको छन्। प्रहरीले कुनै पनि आशंकित व्यक्तिलाई पक्राउ पूर्जी लिई वा नलिई पक्राउ गर्न सक्ने प्रावधान मुलुकी अपराध संहिताले दिएको छ। तत्कालै पक्राउ नगरे अभियुक्त भाग्न सक्ने अवस्थामा रहेमा प्रहरीले अदालत वा सम्बन्धित कार्यालयबाट पक्राउ पूर्जी नलिई पनि पक्राउ गर्न सक्छ।
यसरी पक्राउ परेका अभियुक्तलाई बाटोका म्याद बाहेक २४ घण्टाभित्रमा अदालत उपस्थित गराईसक्नु पर्ने कानूनी प्रवधान छ। तर महानगरीय प्रहरी परिसर काठमाडौंले भने आइतबारदेखि अभियुक्तलाई म्याद थपका लागि अनिवार्य रुपमा अदालतमा उपस्थित गराउनै पर्ने बाध्यताबाट मुक्त भएको हो।सम्बन्धित प्रहरी कार्यालय र अदालतका न्यायाधीश भिडियो कन्फ्रेन्समार्फत् छलफल भएपछि उपयुक्त लागेमा म्याद थप हुने व्यवस्था गरिएको छ।
आइतबार मात्रै भिडियो कन्फरेन्सबाट १० पुरुष र २ महिला गरी १२ जनाको म्याद थप गरिएको काठमाडौं परिसरका प्रवक्ता तथा डिएसपी होबिन्द्र बोगटीले नेपाल लाइभलाई जानकारी दिए।
प्रहरीले कुनै पनि अभियुक्तलाई हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था देखिएमा यसका कारणसहितको विवरण न्यायाधीलाई बताउँछन्। न्यायाधीशले अनुसन्धानकर्ता प्रहरीको विवरणअनुसार म्याद थप गर्न उचित लागेमा थप गर्न सक्नेछन्। साथै सँगै प्रहरी कार्यालयमा रहेका अभियुक्तलाई पनि भिडियो कन्फ्रेन्समार्फत् उक्त कसुरको बारेमा न्यायाधीशले सोधपुछ गरेपछि म्याद थप गर्न उचित लागेमा थप गरिने छ।
यसअघि भने प्रहरीले पक्राउ गरेका अभियुक्तलाई सरकारी वकिल कार्यालयमार्फत् अदालतमा पेश गरेर म्याद थप गर्दै आएको थियो।
भिडियो कन्फ्रेन्समार्फत् म्याद थप हुने भएपछि अदालत लैजाँदा वा फर्काउदा अभियुक्त भाग्न सक्ने सम्भावना नरहने, आर्थिक रुपमा समेत कम खर्च हुनुका साथै समयसमेत जोखिने गर्छ।
उता सरकारी वकिलको भूमिका भने यसमा केही खुम्चिने देखिन्छ। तर म्याद थपका लागि मात्रै भिडियो कन्फ्रेन्स विधि प्रयोगमा ल्याइएकाले सरकारी वकिलको भूमिका नखुम्चिने अनुसन्धान अधिकारी बताउँछन्।
म्याद थप भइसकेपछि मुद्दा दर्ता प्रक्रिया भने सरकारी वकिल कार्यालयमार्फत् नै हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।