राजविराज– प्रदेश २ को सरकारले एकै पटक ६ वटा कानुन पाउने भएको छ। मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले एक साताभित्रै ६ वटा कानुन प्रदेश सभामा पेश हुने बताएका छन्।
सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध शक्तिपिठ छिन्नमस्ता भगवती मन्दिरको ऐतिहासिक तथा धार्मीक महत्वका विषयमा पत्रकार श्यामसुन्दर यादवद्वारा लेखिएको पुस्तक ‘सखडेश्वरी छिन्नमस्ता शक्तिपीठ दर्शन’ विमोचन गर्न राजविराज आएका झाले एक हप्ताभित्रै कानुन अभावको अवस्थाबाट सरकार मुक्त हुने बताए। प्रदेश सभाले झाको संयोजकत्वमा कानुन मस्यौदा संयोजन समिति गठन गरेको थियो।
कानुन अभावमा प्रदेश सरकारले काम गर्न नसकेको गुनासो बढिरहेको बताउँदै झाले कानुन पास हुनासाथ सरकारले जनअपेक्षा अनुसारका गतिविधि अघि बढाउने बताए। ‘जनताका अपेक्षा धेरै छन्, तर त्यो अनुसारका गतिविधि अघि बढ्न सकेको छैन’, झाले भने–‘ऐतिहासिक प्रदेश सरकारको गठन भएको छ। धैर्यता राख्नोस्, जनअपेक्षा अनुसार नै काम हुन्छ।’
लामो समय चलेको एकतन्त्रीय शासनले बिगारेको व्यवस्थालाई सही मार्गमा ल्याउन केहि समय लाग्ने भन्दै उनले भने,‘२ सय ४० वर्षको गन्दगी सफा गरेर तराई÷मधेशलाई सही मार्गमा ल्याउन समय त लाग्छ। ५÷६ महिना पर्खनोस्, परिवर्तनका आधारहरु देखिन थाल्नेछन्।’
जनअपेक्षा पुरा गर्नकै लागि प्रदेश सरकारले बुधवार तीन महिने नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको बताएका झाले संस्कृति र साहित्यले नीति तथा कार्यक्रममा विशेष प्राथमिकता पाउने दावी गरे।
घाइतेका परिवारमा १ घर १ रोजगारी, मुख्यमन्त्री स्वच्छता अभियान, ‘बेटी पढाउ बेटी बचाउ’ अभियान लगायतका कार्यक्रम यसको उदाहरण भएको भन्दै मुख्य न्यायाधिवक्ता झाले प्रदेश सरकार सहिद र आन्दोलनका घाइते परिवारका सन्दर्भमा पनि सम्वेदनशिल रहेको जानकारी दिए।
कार्यक्रममा पत्रकार यादवद्वारा लेखिएको ‘सखडेश्वरी छिन्नमस्ता शक्तिपीठ दर्शन’ नामक पुस्तक विमोचन गरिएको थियो। सप्तरी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा नेपाल–भारत मैत्री संघका अध्यक्ष मनोजकुमार मुन्धडाले पुस्तक प्रकाशन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।