काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले व्यवसायी सुलभ अग्रवालमाथि अनुसन्धानका लागि तेस्रोपटक म्याद थपेको छ। थर्मल गनमा कालोबजारी गरेको आरोप लागेका अग्रवालमाथि अनुसन्धान गर्न आइतबार कार्यालयले १० दिनका लागि म्याद थप गर्ने निर्णय गरेको हो।
गत २५ चैतमा थर्मल गनको कालोबजारी गरी बढी मूल्यमा बिक्री गर्न लागेको अवस्थामा प्रहरीले नक्सालबाट पक्राउ गरेको थियो। उनलाई पहिलोपटक ७ दिन र दोस्रोपटक ५ दिन म्याद थप गरिएको थियो।
पक्राउ परेका बेला प्रहरीले उनको गाडीबाट ६७ थर्मल गन बरामद गरेको थियो। अग्रवालले १२ सय थान थर्मल गन ल्याएको भन्सार पासको बिलमा प्रष्ट उल्लेख छ। तर बाँकी १ हजार १ सय ३३ थान थर्मल गन कहाँ गए भन्ने प्रहरीले अहिलेसम्म पत्ता लगाउन सकेको छैन।

यसबारे पूर्व डिआइजी हेमन्त मल्ल भन्छन्, ‘एउटा कार्यालयले पक्राउ गरेर अर्को कार्यालयले मुद्दा चलाउँदा र अनुसन्धान गर्दा खासै केही फरक पर्दैन। अब बाँकी थर्मल गन किन पत्ता लागेनन् भन्ने प्रश्नको उत्तर चाहिँ सम्बन्धित प्रहरीले दिनुपर्छ।’
अग्रवाललाई पक्राउ गर्ने बित्तिकै अपराध महाशाखाको टोलीले उनको अफिस र घरमा छापामा मारेको थियो। तर त्यो क्रममा पनि केही फेला परेको थिएन।
भिडियो कन्फ्रेन्सबाटै म्याद थप
अभियुक्तलाई अदालत नलगी प्रहरी र अदालतबीच भिडियो कन्फ्रेन्स गराई म्याद थपको सुरुवात गरिएको छ। आइतबारबाट यो सुरुवात गरिएको हो। अग्रवालको पनि यसैगरी म्याद थप गरिएको हो।
महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता होविन्द्र बोगटीका अनुसार आइतबार १४ जनाको यसैगरी म्याद थप गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।