भैरहवा- विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण सरकारले घाेषणा गरेकाे लकडाउनका बेला रगत अभाव हुन नदिन भैरहवा क्षेत्रमा क्रियाशिल लायन्स क्लबहरुले आकस्मिक रक्तदान अभियान चलाएका छन्।
भैरहवा क्षेत्रमा क्रियाशिल ७ वटा लायन्स क्लबहरुले आकस्मिक रक्तदान अभियान चलाएका हुन्। समयसमयमा विभिन्न संघसंस्थाको आयोजनामा हुने रक्तदान कार्यक्रम लकडाउनका बेला प्रयाप्त हुन नसकेपछि रगतको अभाव हुन नदिन लायन्स क्लबहरुले अभियान चलाएका हुन्।
लायन्स क्लब इन्टरनेशनल, डिष्ट्रिक ३२५ बी टु एरिया–फोर अन्तर्गत रहेका लायन्स क्लब अफ सिद्धार्थनगर प्रोफेसनल, लायन्स क्लब अफ सिद्धार्थनगर युथ, लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियल, लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथ, लायन्स क्लब अफ लुम्बिनी क्रियटिभ लेडी, लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्ध र लायन्स क्लब अफ भैरहवा लुम्बिनीले उक्त अभियान चलाएकाे कार्यक्रम संयोजक रवि कुमार रौनियारले बताए।
लकडाउनको समयमा रगतको अभावकै कारण बिरामीकाे ज्यानसमेत जान सक्ने अवस्थालाई मध्यनजर गर्दै अभियान सञ्चालन गरिएको उनले बताए। 'रक्तदान कार्यक्रम गर्नका लागि हामीलाई रेडक्रसबाट अनुरोध आयो, एक दिन मात्र रक्तदान कार्यक्रम गर्दा प्रभावकारी नहुने भएकोले यस क्षेत्रका सात वटा क्लब मिलेर यो अभियान थालेका छौं,' उनले भने।
अप्रिल १० तारिखदेखि अप्रिल ३० तारिखसम्म तीनवटा शुक्रबार कार्यक्रम गर्ने तय भए अनुसार चैत २८ गते र बैशाख ५ गते रक्तदान सम्पन्न भइसकेको उनले जानकारी दिए। स्थानीय प्रशासनलाई जानकारी गराएर भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा कार्यक्रम गरिएको उनले बताए।
चैत २८ गते ४५ प्वाइन्ट रगत संकलन भएको र बैशाख ५ गते प्वाइन्ट रगत संकलन भएको उनले बताए। १ सय प्वाइन्ट रगत संकलन गर्ने लक्ष्य रहेको र संकलन गरिएको रगत रक्त संचार केन्द्र तथा रेडक्रसको जिम्मा लगाइने लायन्स क्लब अफ भैरहवा लुम्बिनीका संस्थापक अध्यक्ष समेत रहेका रौनियारले बताए।
लकडाउनमा अस्पतालमा रगतको अभाव हुन थालेपछि रक्तदान अभियान सञ्चालन गरिएको लायन्स क्लब इन्टरनेशनल, डिष्ट्रिक ३२५ बी टु एरिया–फोरका संयोजक विनोद खरेलले बताए। लायन्स क्लबको अगुवाइ तथा रेडक्रसको सहयोगमा भैरहवास्थित युनिभर्सल मेडिकल कलेजको ब्लड बैंकमा कार्यक्रम गरिएको उनले बताए।
'एक दिन मात्र रक्तदान कार्यक्रम गरेर हुँदैन, त्यसले १०/१२ दिनलाई मात्र रगत पुग्छ, तसर्थ अप्रिल महिनाको सबै शुक्रबार रक्तदान कार्यक्रम गर्ने निर्णयमा पुग्यौं,' खरेलले भने। अभियानमा साथ दिन लायन्स, नन–लायन्स तथा सबै संघ–संस्थालाई आह्वान गरिएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।