काठमाडौं- मार्च १७‚ म र लामले आफ्नो घरसम्मको यात्रा कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरू गर्यौं। लामको फ्लाइटअघि सायद यही नै हाम्रो अन्तिम भेटघाट थियो। म पनि काठमाडौंस्थित आफ्नो घरमा फर्कँदै थिएँ। सायद हामीलाई कोरोना संक्रमित भएकै कारणले बदनाम हुनुथियो‚ अवगत नै नभइ आउन लागेको आँधीबारे।
केही दिनपछि जब म आफ्नो घर फर्किएर सेल्फ क्वारेन्टाइनमा बसिरहेकी थिएँ‚ त्यहीबेला लामलाई कोरोना भाइरस पोजेटिभ देखिएको थाहा भयो। यो नै मलगायत मेरा साथीका लागि परीक्षाको घडी थियो। कसैलाई पूर्णरूपमा जानेबिना उसको बारेमा तथानाम लेखेर उडाइएका मिम्स‚ फेयरवेललगायतका भित्तामा झुन्डिने अक्षर आज आफ्नै लागि वास्तविकता बनेर उभिदियो। लामलाई कोरोना पोजेटिभ देखिएको २ दिनपछि मलाई पनि कोरोना पोजेटिभ देखियो।
मभन्दा अगाडि नेपालमा एक विद्यार्थी कोरोना संक्रमित थिए‚ जो त्यसबेला निको भएर घर फर्किसकेका थिए। त्यसैले पनि विभिन्न पत्रपत्रिकाहरूमा नेपालको कोरोना भाइरससम्बन्धी शतप्रतिशत 'रिकभरी रेट' थियो। सबै नेपालीहरू नेपालमा अरू कोरोना संक्रमित नभएको भन्दै गर्व गरिरहेका थिए। सबै कोभिड-१९ को पछि लागिरहेका थिए। म देशकै दोस्रो कोरोना संक्रमित व्यक्ति थिएँ र त्यसबेलाको एकमात्र एक्टिभ केस। त्यसैले पनि होला कसैलाई पनि संक्रमितका लागि अपनाउनुपर्ने कुनै निश्चित मापदण्ड थाहा थिएन।
राति १० बजे‚ मेरो परिवारलाई मेरो परीक्षणको रिपोर्टबारे जानकारी गराइयो। मेरी दिदीले बारम्बार मलाई कोरोना पोजेटिभ देखिएको बताइरहनुभएको थियो‚ जसलाई मैले विश्वास नै गर्न सकिरहेकी थिइनँ। त्यो दिनसम्म मलाई कोरोनाका कुनै पनि लक्षणहरू देखिएका थिएनन्। रिपोर्ट सार्वजनिक भएपछि ‘न मबाट मसँगै फ्लाइटमा आउका यात्रु अथवा मेरै परिवारमा पनि सर्यो कि?’ भन्ने चिन्ताले सताइरह्यो।
यिनै सोचहरू चलिरहँदा सरकारी अस्पतालको आइसोलेसनमा राख्नका लागि मलाई लिन एम्बुलेन्स आइपुग्यो। म अस्पताल भर्ना भएकै रातबाट मलाई कोरोनाका विभिन्न लक्षणहरू देखिन थाले। म मार्च २२ मा अस्पताल भर्ना भएकी थिएँ। मलाई त्यो रात सहन नसक्नेगरी पेट दुख्यो‚ जसले गर्दा म रातभर सुत्न सकिनँ। त्योसँगै मलाई श्वास प्रश्वासमा पनि केही समस्या देखिन थाल्यो। जब हामी आफ्नो श्वासमा ध्यान दिइरहँदा आफैंलाई थाहा हुन्छ कि श्वासको गति प्रतिक्षण बिग्रँदै गइरहेको छ र पुरा श्वास लिन पाइरहेको छैन भने कस्तो हुन्छ? मलाई पनि धेरै दिनसम्म त्यस्तै भइरह्यो। लामो श्वास लिन सकिरहकी थिइनँ।
संघर्ष गरेर बेडबाट उठ्नैपर्ने हुन्थ्यो‚ कर गरेर अलिकति भए पनि खाना खानुपर्थ्यो‚ अनिदोले झन् सताइरहेको थियो। म अहिले पनि सम्झिरहेकी छु- जब मैले गन्धको ज्ञान नहुनु पनि कोभिड-१९ कै एक लक्षण हो भन्नेबारे कतै पढें‚ मैले साबुनको एकपट्टीको भाग सुँघ्ने कोशिस गरें। अचम्म! मैले केही थाहा पाइनँ। लक्षणहरू दिनप्रतिदिन बढ्दै जाँदा ममा सुक्खा खोकी पनि देखिन थाल्यो‚ तर त्यसबेलासम्म मलाई ज्वरो आएको थिएन। मेरा लक्षणहरू गम्भीर प्रकृतिका बिरामीको जस्ता थिएनन्‚ सामान्य नै थिए। मभन्दा गम्भीर प्रकृतिका बिरामी‚ जसले कोरोना भाइरसको सामना गरिरहका छन्‚ उनीहरू सम्झेर अझै पनि मेरो मुटु काँप्छ।
यी सबैको बीचमा मिडियाले धेरै ठूलो भूमिका खेलेको छ। मलाई थाहा थियो कि मैले अब हुने सबै परिणामलाई भोग्नुपर्ने हुन्छ किनकी ‘फ्रान्सबाट दोहा हुँदै नेपाल आएकी एक १९ वर्षीया युवती’लाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो। काठमाडौं सानो छ। त्यसैले पनि यहाँ जसले मलाई चिनेका छन् उनीहरूले सजिलै अड्कल काट्न सक्थे कि म नै त्यो फ्रान्सबाट दोहा हुँदै नेपाल आएकी एक १९ वर्षीया युवती हुँ‚ जसलाई भरखरै कोरोना भाइरस पोजेटिभ देखिएको छ। विभिन्न मिडियाले मेरो नाम त लिएनन् तर मेरा बारेमा नामबाहेकका सबै विवरणसहित धमाधम विभिन्न आर्टिकलहरू लेख्न थाले।
कसैले लामलाई मेरो केटी साथी‚ जो पेरिसमा सँगै बस्ने गर्थे भनेर लेखे। कसैले मलाई पोजेटिभ देखिनुभन्दा अघि मैले मेरा धेरै आफन्तसँग भेटेको भनी लेखे। मेरो बुबा ममी डाक्टरसँग लगातार सम्पर्कमा रहनुभएको थियो। मलाई मेरोबारेमा लेखिएको एउटा आर्टिकलले साह्रै नै चित्त दुखाएको छ‚ न्यूयोर्क टाइम्सको नेपालको लागि पार्टनर ‘द रिपब्लिका’का प्रधानसम्पादकले मलाई ‘सुपर-स्प्रेडर’को रुपमा चित्रित गरिदिए। उनीहरूलाई मेरोबारेमा केही पनि थाहा थिएन‚ मैले भाइरसको संक्रमण फैलाएको भन्नेबारेमा उनीहरूसँग कुनै तथ्य/प्रमाण पनि थिएन। तर धेरै मानिसको नजरमा म ‘एक सुपर-स्प्रेडर’ भइसकेको थिएँ।



२३ मार्चमा कसैले‚ कतै मेरोबारेमा स्टोरी लेखेको थियो। त्यो स्टोरीमा उनीहरूले मेरा जति पनि जीवनका फ्याक्ट्सहरू छन् ती सबै तोडमोड गरेर उनीहरूलाई सुहाउँदो बनाएका थिए। म एउटा वस्तु भएकी थिएँ‚ त्यो वस्तु जसले आफ्नै देशमा कोरोना भाइरस फैलाइरहेको छ। सामाजिक सञ्जालहरू यिनै कुराले भरिएका थिए।
मानिसहरू मलाई विभिन्न आरोप लगाइरहेका थिए‚ कोही घृणाको रुपले हेरिरहेका थिए त कसैले मृत्युको डरसमेत देखाइरहेका थिए। मसँग म सेल्फ क्वारेन्टाइनमा बसेको प्रमाण थियो। र मसँग म नेपाल आएदेखि कति होस पुर्याएर सेल्फ क्वारेन्टाइनमा बसिरहेकी थिएँ भन्ने पनि प्रमाण थियो।
मेरा आफ्नै सामाजिक सञ्जालबाट जोडिएका मानिसले पनि मेराबारेमा केही जानकारी नै नभई विभिन्न अफवाहहरू फैलाएको पाएँ। तर मसँग त्योबेला मेरो आफ्नै आवाज थिएन‚ दुनियाँलाई मेरो वास्तविकता सुनाउनका लागि। म बुझ्छु‚ यो उनीहरूलाई कसैले गलत जानकारी दिए‚ उनीहरूमा कुनै बिरामीलाई मानसिक रुपमा झन् घायल बनाउने कुनै उद्देश्य थिएन होला।
त्यो दिन‚ ममा लागेको संक्रमणलाई लिएर स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्यो र लकडाउनको समेत घोषणा गर्नुपर्यो। म बेडमा बसेर सोचिरहें- जबकी म आफ्नो रूमबाट बाहिरसम्म निस्किएकी छैन भने मेरो कारणले गर्दा किन पुरै देश लकडाउन गर्नुपर्यो? हो‚ देशले लकडाउनमा जाने निर्णय गर्नुमा म पनि केही कारणले उत्तरदायी छु। तर वास्तविकता भने मेरैमात्र कारणले देशमा लकडाउन गरिएको जस्तो देखिन आयो।
यी सबैको बीचमा पनि मलाई सधैं हौसला प्रदान गरेर उपचारमा संलग्न हुने सबै नर्सहरूप्रति म सधैं आभारी नै रहनेछु। मार्च २४ मा ड्युटीमा रहेकी एक नर्सले उनका एकजना फेसबुकका साथीले मेरो सफल उपचारका लागि गाउँमा सबैसँग मिलेर प्रार्थना गरेको सुनाइन्। र‚ ती नर्स म भर्ना भएको अस्पतालमा काम गर्छिन् भन्ने थाहा पाएपछि उनले उक्त कुरा मलाई सुनाइदिनू भनेका रहेछन्। यस्तै कुराहरूले मेरो आत्मविश्वास अझै दृढ भइरहेको थियो। त्यहाँ कार्यरत नर्सहरूले प्रत्येक पटक मेरो स्वास्थ्यको बारेमा सोधिरहे। मेरो उपचारमा खटिएका डाक्टरहरुले पनि मप्रति धेरै नै सहानुभुति दर्शाउनुभयो। हरेकपटक ‘सबै ठिक हुन्छ’ भनेर मलाई झन् बल दिइरहनुभयो।
मेरो अवस्था बुझेर मलाई यो स्थितिमा ल्याइपुर्याउनु भएकोमा तपाईं सबैमा धन्यवाद। अहिले म पूर्णरुपमा निको भइसकेकी छु। ममा अब कुनै पनि लक्षणहरू छैनन्। कोरोनाको रिपोर्ट पनि नेगेटिभ आएको छ। मसँगै फ्लाइटमा आएका कुनै पनि व्यक्तिमा कोरोना संक्रमण रहेनछ। मेरा परिवारका सबै सदस्यहरूमा पनि कोरोना नेगेटिभ आएको छ। लाम पनि अहिले पूर्णरुपमा निको भइसकेका छन्।
मलाई अझै पनि डर लागिरहेको छ कि अझै धेरै कुराहरू छन्‚ जो प्रत्यक्षरुपमा यो आर्टिकलमा भन्न छुटेका छन्। मलाई जुन किसिमले डाक्टर‚ नर्सहरूले सौहार्दपूर्ण वातावारणका साथ उपचार गर्नुभयो र औषधीहरू चलाइयो त्यसबाट पनि अस्पतालमा पर्याप्त तयारी छ भन्ने कुरा सजिलै भन्न सकिन्छ। मैले कहिले पनि सेल्फ क्वारेन्टाइनमा रहँदा कसरी आफूलाई राखें भनेर भन्न पाएकी थिइनँ। म अब यी सबै कुरालाई खुलेर भन्न सक्ने भएकी छु। र भविष्यमा पनि यसका बारेमा लेखी नै रहनेछु।
अन्तिममा‚ मेरो परिवार‚ नर्स‚ डाक्टर‚ साथीहरूको सहयोगमा आज मेरो मानसिक तथा शारीरिक स्वास्थ्यावस्था ठिक छ। मेरो अवस्थालाई गम्भीररूपमा लिएर मेरो स्वास्थ्यलाभको कामना गर्नुहुने सबैप्रति म हृदयतः आभारी छु। यससँगै मलाई एउटा कुराको महसुश भएको छ कि मानिस यस्ता किसिमका भाइरसले हाम्रो दिमागमा पार्ने असरको बारेमा हामी त्यति सचेत छैनौं। श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षणले मानिसको मानसिक स्वास्थ्यमा कति असर परिरहेको हुन्छ भन्ने मानिसले अड्कल काट्न पनि सक्दैन।
कोभिड-१९ लाई घृणाको विषय बनाउनुपर्ने कुनै कारण छैन‚ हामी सबैले यो भाइरस जो कोहीमा पनि सर्न सक्छ भन्ने बुझ्न जरूरी छ। कसैलाई मेरोजस्तै लक्षणहरू देखापरेको छ भने उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
‘ले ड्रागन दिसिनी’मा प्रकाशित प्रसिद्धी श्रेष्ठको ब्लगबाट अनुवाद गरिएको। उनी गत शनिबार कोरोना संक्रमणलाई जितेर घर फर्किएकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।