काठमाडौ–सरकारले लकडाउनका बेला घरबाट ननिस्कन आग्रह गरेपछि २५ दिनसम्म जसोतसो बसे ललितपुरको लामाचौरमा रहेका ४७ मजदूर। तर खाना अभावले छटपटाउन थालिसकेका थिए। राजधानीमा बस्न नसक्ने अवस्था सिर्जना भइरहेको थियो। हरेक दिन गाउँ सम्झन थालेका थिए। अनि उनीहरुले हिँडेरै भए पनि गाउँ जाने निर्णय गरे।
लकडाउनलाई उल्लंघन गर्दै ४७ मजदूर वैशाख ६ गते ललितपुर महालक्ष्मी नगरपालिका ९, साबिक लामाटार, डाडाथोकमा भेला हुन थाले। स्थानीयले सोधीखोजी गर्दा थाहा भयो उनीहरु सिन्धुली, गोलन्जोर जान कस्सिएर निस्केका थिए। दुधे बच्चा बोकेका महिलासहितका मजदूरहरु यति लामो बाटो हिँड्न तयार भएको दृश्य साँच्चै कारुणिक थियो। उनीहरुको अवस्था देखेपछि स्थानीय स्वयंसेवीहरु सहयोग गर्न तयार भए।
स्थानीयहरु जयकृष्ण बोगटी, शशिधर पोखरेल लगायतका युवाले स्वतस्फुर्त रुपमा यसरी अलपत्र मानिसका लागि खानाको व्यवस्था गर्न थाले। समाजसेवी राजेन्द्र पौडेलले ललितपुरदेखि काभ्रेको सिमानासम्म जान ट्रकको व्यवस्था गरे। घर जाने सवारीसाधनको त व्यवस्था भयो तर उनीहरुलाई लैजाने र उक्त स्थानमा जिम्मेवारी लिन मानिसको अभाव सिर्जना भयो। प्रहरीले जिम्मा लिने व्यक्ति नभएसम्म पठाउन नसकिने अडान राख्यो।
३ घन्टासम्म स्थानीय स्वयंसेवी र प्रहरीका बीच समन्वयको पहल चलिरहयो। वडा अध्यक्ष बासु गौतम स्वयं नै उक्त क्षेत्रमा अलपत्र मानिसलाई घर फर्काउने प्रयासमा लागे पनि सफल हुन सकेका थिएनन्।
उनीहरुलाई घर फर्काउन चलचित्रकर्मीहरु रामशरण पाठक र रज्जु प्रधानले पनि पहल गरिरहेका थिए। यही क्रममा काभ्रेको सिमानसम्म जाने प्रवन्ध मिल्यो। चलचित्र निर्माता रज्जु प्रधानले अलपत्र श्रमिकका लागि जिम्मा लिइदिन आग्रह गरेपछि रोशीदेखि नेपालथोकसम्मका लागि रोशी गाउँपालिका प्रमुख डिबि लामा र नेपालथोकदेखि गोलन्जोरसम्मका लागि प्रदेश सांसद राजन दाहालले जिम्मा लिए।
त्यसपछि प्रहरीले जानका लागि अनुमति दियो। यसरी समग्र पहलपछि राति ७ बजे उनीहरुलाई काठमाडौबाट गाउँ फर्काउन सफल भएको निर्देशक पाठकले जानकारी दिए। हाल विपत व्यवस्थापनमा सक्रिय चलचित्रकर्मी रामशरण पाठकले सरकार आफ्नो जनताप्रति जिम्मेवार नहुँदा नागरिकहरुले सास्ती व्यहोर्नुपरेको बताए । ‘सरकार जनताप्रति बेपर्वाह हुन सक्छ तर हामी हाम्रो दाजुभाइ दिदिबहिनीलाई बेहाल छोड्न सकेनौं त्यही पहलका कारण उनीहरुले आफ्नो गाउँ फर्कन पाउनुभयो,’ उनले भने।
घर जाने व्यवस्था गर्न सर्वोच्च अदालतले आदेश गरेको अवस्थामा सवै युवाहरु मिलेर अलपत्र परेकाहरुको उद्दार गर्न सफल भएकोमा खुसी लागेको उनले बताए।
प्रदेश सांसदको हात भाँचियो
शनिबार ललितपुरको लामाटारबाट सिन्धुलीलगायत अन्य जिल्लाका ४७ जना पैदल यात्रीहरुको उद्दार गर्ने क्रममा वागमती प्रदेशका सांसद राजन दाहालको हात भाँचिएको छ।
पनौती नगरपालिका, नमोबुद्ध र रोसी गाउँपालिका प्रमुखको सहयोगमा नेपालथोक आइपुग्दा राति अबेर भएको अवस्थामा अचानक हावा ,हुरी र पानी पर्न थालेपछि नाजिकैका छाप्रामा मजदूर लैजाने क्रममा अँध्यारोका कारण दाहाल शनिबार साँझ साँढे आठ बजे अचानक नालामा लडेका थिए। उनको दाहिने हात भाँचिएको छ। मजदूरलाई घर पु¥याएलगत्तै उनको उपचार अहिले धुलिखेल अस्पतालमा भइरहेको छ।









नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।