काठमाडौं- राष्ट्रिय जनता पार्टी राजपा स्थापना भएको तीन वर्ष पूरा भएको छ। चौथो स्थापना दिवसको अवसरमा राजपा संयोजक शरतसिंह भण्डारीले पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तक, मतदाता तथा आम जनसमुदायप्रति शुभकामना र बधाई ज्ञापन गरेका छन्।
कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण पार्टीले यस वर्ष कुनै पनि औपचारिका कार्यक्रम गर्न नसकेको भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
‘यस महामारीबाट जोगिन सम्पूर्ण पार्टी पंक्तिलाई एकढिक्का भई दृढ संकल्पका साथ लक डाउनको नियम पालना गर्न गराउन हुन आग्रह गर्दछौं’, विज्ञप्तिमा भनिएको छ, ‘साथै, आफू सुरक्षित रही आफ्नो वडामा नागरिकहरुलाई राहत लगायत अन्य कुनै प्रकारको समस्याहरु देखिए समन्वयकारी भूमिका निर्वाह गर्न समेत आग्रह गर्दछौं।‘
यसरी गठन भएको थियो राजपा
विभिन्न मोर्चाको नाममा अनेक खाले आन्दोलन गर्दै आएका केही मधेस केन्द्रित दलका नेताहरु ०७४ बैशाख ६ गते राति अबेरसम्म जावलाखेलको एक घरमा छलफलमा व्यस्त थिए। ७ गते बिहान झन्डै २ बजेसम्म चलेको सो वार्तामा पाँच पार्टीका नेताहरु उपस्थित थिए।
बैठकले एकीकृत पार्टीको नाम राष्ट्रिय जनता पार्टी रहने, नेतृत्व महन्थ ठाकुरले गर्ने, चुनाव चिह्न र झन्डामा छाता राख्ने सहमति गर्यो। जसअनुसार, ७ गते दिउँसो उनीहरुले काठमाडौंको कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा एकताको घोषणा गरे। एकता घोषणामा पार्टीको चिह्न र झन्डा सार्वजनिक गरियो।
महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, महेन्द्र राय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टी, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी र राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिक एकता प्रक्रियामा सामेल भएका थिए।
एकता प्रक्रियाको अन्तिम समयमा अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी पनि जोडिन आइपुग्यो।
यसरी ६ वटा मधेसकेन्द्रित दलहरु मिलेर राष्ट्रिय जनता पार्टी गठन भयो। पार्टीको नाममा मधेस शब्द कतै उल्लेख भएन। एकतासभामा राजेन्द्र महतोले भनेका थिए, 'यो पार्टी हिमाल, पहाड र तराईको पनि हो।'
तर 'राष्ट्रिय जनता पार्टी' नामको पार्टी निर्वाचन आयोगमा एक महिनाअघि नै दर्ता भइसकेकाले त्यो नाम एकीकृत पार्टीले पाएन। १३ गते बसेको पार्टीको बैठकले पार्टीको नाम 'राष्ट्रिय जनता पार्टी, नेपाल' (राजपा) राख्ने निर्णय गर्यो।
एकतापछि पार्टीले निर्वाचन आयोगमा बुझाइएको विधानको धारा २२ (१) मा एक वर्षभित्र महाधिवेशन गर्ने किटान गरिएको थियो। यसअनुसार उनले ०७५ असार ३० सम्म महाधिवेशन गरिसक्नुपर्ने थियो। तर, सकेन। त्यतिमात्रै होइन, पार्टी दर्ता गरिएको मिति तीन वर्ष पुग्दै लाग्दा समेत उसले महाधिवेशन गर्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।