काठमाडौं- कोरोना भाइरस (कोभिड १९) का कारण आक्रान्त बनेको यो समयमा सबैभन्दा बढी मारमा श्रमिक छन्। सुरक्षाको उपाय अपनाउन गरिएको लकडाउन २७ दिन पुग्दा त श्रमिकलाई जीवन असुरक्षाको महसुस रोगले भन्दा बढी भोकले भएको छ।
अप्ठ्यारोमा आफ्नै थातथलो फर्किन उनीहरू सयौँ किलोमिटर हिँडेरै घर फर्किरहेका देखिन्छन्। लकडाउनका कारण उद्योग, कलकारखाना, होटेल र निर्माणलगायत काम ठप्प भएपछि श्रम गर्नेहरू विकल्पविहीन भए। भएको जोहो सकियो। केहीले पाएको राहत पनि हप्ता दिनभन्दा बढीलाई भएन।
श्रमिकका दुःखका तस्बिरले सामाजिक सञ्जालदेखि सञ्चारमाध्यम भरिएका छन्। यसरी श्रमिकहरू विकल्पविहीन भइरहँदा धेरैको प्रश्न ‘सर्वहारा सरकार’ले श्रमिक चिनेन भन्नेमा रह्यो। भोटको राजनीतिमा चाहिने मजदूर वर्गलाई अप्ठ्यारो पर्दा सरकार कहाँ छ भनेर प्रश्नहरू आइरहेकै छन्।
लोकतन्त्रमा नागरिकले यसरी सरकार खोजिरहनु र सरकार छ भन्ने महसुस गर्न नसक्नु सरकारकै लागि दुःखद विषय हुनुपर्ने हो। यस्तो बेला श्रमिकका विषयमा प्रत्यक्ष सरोकार राख्ने श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवको खोजी अरुभन्दा बढी छ। उनले के गरिरहेका छन् र के सोचिरहेका छन् भन्ने सवालसँगै श्रमिकको अवस्था देखेका छन् त?
श्रमिकले भोगिरहेको यस्तो कहालीलाग्दो दुःखका बेला मन्त्री यादव कहाँ छन् भनेर हामीले सोधिखोजि गर्यौं । पत्ता लाग्यो– श्रमिकहरूले असुरक्षित महसुस गरेर छाडिरहेको राजधानीमै छन् मन्त्री यादव।
केही अप्ठ्यारो गरी कुराकानीमा राजी भएका उनलाई बिसञ्चो रहेछ। आराम हुनुहुन्छ? भन्ने प्रश्नबाट भएको कुराकानीको सुरुवातमा मन्त्री यादवले आफू वास्तवमै आराम नरहेको सुनाए। फोन र इमेलबाट गर्न मिल्ने केही कामबाहेक उनी मन्त्रिपरिषदको तीनवटा बैठकमा समेत उपस्थिति हुन नसकेका रहेछन्।
जनैखटिराले सताएपछि १८ दिनदेखि घरमै आराम गरिरहेका मन्त्री यादवलाई सवाल जवाफमा ल्याउनु राम्रो नदेखिए पनि उनले केही बोल्नैपर्ने भएको छ। यसैले यो विषम परिस्थितिमा उनले गर्न सक्ने के गर्दैछन् भनेर नेपाल लाइभका वीरेन्द्र ओलीले कुराकानी गरेका छन्:
मन्त्रीज्यू तपाईलाई कस्तो छ ? सन्चै हुनुहुन्छ?
साँचो कुरा भन्ने हो भने सन्चो छैन। यो लकडाउनकै अवस्थामा जनै खटिराले सारै पिरोलेको छ। तपाईंले देखिरहनु भएको छ। मैले लुगा लगाउन मिलेको छैन। दाह्री काट्न नसक्ने र नुहाउन पनि नसक्ने गरी सारै अप्ठ्यारो अवस्थामा छु।
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति क्याबिनेटलगायत महत्वपूर्ण बैठकमा सहभागी नभएको कति दिन भयो?
यसबीचमा तीन वटा क्याबिनेट भए। त्यसमा सहभागी हुन पाइनँ। मेरो स्वास्थ्य बिग्रेको १७ दिनभन्दा धेरै भयो होला। चिकित्सकहरूका अनुसार यो जनै खटिरा बढीमा २१ दिनसम्म निको हुँदो रहेछ। त्योभन्दा अघि निको हुँदैन। अहिले तपाईसँग कुरा गर्दै गर्दा भित्र लुगा लगाएको छैन। होइन भने यो गर्मीमा च्यादर ओडेर बस्नुपर्ने अवश्यकता थिएन।
भित्र लुगा लगाउनेबित्तिकै सियोले घोचेको जस्तो अनुभूति हुँदो रहेछ। फेरि शरीरको एक भाग होइन पुरै दुख्ने हुदो रहेछ। बेलुकातिर ज्वरो पनि आउँदो रहेछ। यो लकडाउनको अवस्थामा आफूलाई यस्तो हुदा दु:ख लागिरहेको छ। देश महामारीमा हुदाँहुँदै पनि मेरो सक्रियता कम भयो। यस्तो हुनु आफैँ दु:खद हो, त्यो मलाई निको लागेको छैन। यो दुखद घडी हो। यस घडीमा पनि टेलिफोन, इमेलमार्फत् मन्त्रालयका कामको संयोजन गरिरहेको छु।
यो वर्तमान परिस्थितिमा गरिब निमुखा ज्यालामजदूरी गर्ने श्रमिकहरूको अवस्था कस्तो छ। राहत पाए कि पाएन भन्ने विषयमा जिल्लामा के-के छ भन्ने विषयमा समन्वय गरिराखेको छु।
जुन पार्टीले आफूलाई मजदूर किसानको जगमा उभिएको भन्छ। त्यही पार्टीको तपाईं मन्त्री हुनुहुन्छ। लकडाउनपछि अहिले मजदूरहरू काठमाडौदेखि दाङ, बाँकेमात्रै होइन कैलाली कञ्चनपुर,पूर्वका झापा मोरङ, सुनसरी, सोलुखुम्बीसम्म रातविरात खाई नखाई केही नभनी कष्टपूर्ण यात्रागरी देख्दा मन कटक्क खाएको छैन ?
यो दुःखको कुरा हो। हाम्रा दाजुभाइ दिदीबहिनीहरूले यो लकडाउनबारे बुझ्नु पर्ने हो। यस्तो कष्ट गरेर आफ्नो घर जानै नहुने हो किन भने यो विश्वव्यापी लकडाउन भइरहेको अवस्था हो। यो बेला यसरी मुभमेन्ट गर्नु आफैँमा संक्रमित हुने सम्भावना बढी हुन्छ। सरकारले कुनै इमरजेन्सी लगाएर लकडाउन लगाएको होइन। यो अवस्थामा हाम्रा नागरिक जो जहाँ छन् त्यही सुरक्षित हुनुपर्छ भन्ने उद्देश्यले लकडाउन लगाइएको हो। हामीले यसलाई अवज्ञा गर्नु पर्ने वा यसलाई तोडेर बहादुरी देखाउने पर्ने अवस्था होइन।
हुन त उनीहरूको बाध्यता पनि होला। तर, सरकारले जो जहाँ बसेको छ त्यही खाने सुत्ने व्यवस्था गर्ने निर्णय गरेको छ। सम्बन्धित वडा अध्यक्षले वा स्थानीय सरकारले सम्पूर्ण व्यवस्था गर्न निर्देशन दिइसकेको छ। नेपाल सरकारले यस्तो गरेको अवस्थामा बाहिर निस्कन हुँदैन थियो। मजदूर दैनिक ज्यालादारी गर्नेले खान बस्न पाएका छन कि छैनन् भन्ने बारेमा ठाउँ ठाउँमा फोन गरेर सोधेको थिएँ। त्यस्तो खालको समस्या छैन भन्ने पाइयो। हाम्रा मजदूर साथीहरू र विद्यार्थी साथीहरू लकडाउन हुनेबित्तिकै के-के नै होला भनेर भयको वातावरण भएपछि सयौँ किलोमिटर पैदलै हिडेर जानुभयो। त्यो मिडियालगायत सामाजिक सञ्जालमा फोटाहरू देखिए। त्यस्तो हुन दुखद पक्ष हो।
तपाईंको पार्टीका मजदूर संगठन नेतासंग फोन संवाद भएको थियो। उहाँले के भन्नु भयो भने राहत विरतणको कार्य स्थानीय सरकारलाई दिने निर्णय गरियो। तर, स्थानीय सरकारले आफूलाई भोट हाल्यो कि हालेन भन्ने आधारमा राहत दिने काम भयो। विभिन्न आयोजनाका ठेकेदारहरूले श्रमिकलाई पैसा नदिएर भागे जसले गर्दा मजदूरहरू थप पीडा भोग्नु पर्याे भनेर भन्दै छन् नि?
तपाईंले भनेका शत प्रतिशत विरोध गर्दिन। यति ठूलो ब्यापकस्तरमा व्यवस्थापन गर्दा कहीँ न कहीँ कमजोरी हुन सक्छ। त्यो तपाईंले भनेको जस्तो भएको नहुन सक्छ। हाम्रो पार्टी मजदूर र श्रमजीवी वर्गको पक्षमा काम गरेको छ। हाम्रो पार्टी र सरकारको स्पष्ट निर्देशन छ। देशमा काम नपाएर लकडाउनका कारण मजदूर किसान भोकै मर्न पाउने छैन। त्यस अनुकूलका निर्देशन प्रदेश र स्थानीय सरकारलाई समेत निर्देशन दिइसकिएको छ। यस्तो अवस्थामा कहिकतै व्यवस्थापकीय त्रुटि हुन सक्छन्। त्यो भएको छैन भन्दिनँ। मलाई पनि यस्ता त्रुटिका सूचना आएका छन्। नियतबस होइन संयोगबस यस्तो परिस्थिति आएको छ। हामीलाई जहाँ जहाँबाट सूचना आएको छ। त्यहाँ सम्पूर्ण व्यवस्थापन गर्ने प्रयास गरेका छौं।
अहिले कुन पार्टीको सरकार छ? कुन व्यक्ति कुन जातिको कुन समुदायको छ भन्ने विषयभन्दा माथि उठेर मानवताको सेवामा स्थानीयदेखि प्रदेश र संघीय सरकार लागिपरेको छ। व्यवस्थापन पक्षमा यदाकदा समस्या देखिए पनि समष्टिगतरूपमा सबै सजग छौँ।
अहिले तपाईंसँग अन्तर्वार्ता दिन आउनुभन्दा अघि प्रदेश नं २ को संयोजकको हैसियतले समन्वय गरी रहेको थिएँ। सबै जिल्लाको अवस्थाको बारेमा बुझेको थिएँ। त्यहाँ आइसोलेसनमा बस्नेको अवस्था कस्तो छ? क्वारेन्टाइनमा बस्नेको अवस्था कस्तो छ? मेडिकल सामग्री र खाद्यान्न वितरणको अवस्था के छ भन्ने बारेमा रिपाेर्ट लिएँ। यी सबै विषयमा प्रदेश नम्बर २ का मन्त्रीसँग कुरा पनि भयो। सबै महामारीविरुद्ध लागि रहेका छन्। अहिले कुन पार्टीको सरकार छ? कुन व्यक्ति कुन जातिको कुन समुदायको छ भन्ने विषयभन्दा माथि उठेर मानवताको सेवामा स्थानीयदेखि प्रदेश र संघीय सरकार लागिपरेको छ। व्यवस्थापन पक्ष यदाकदा समस्या देखिए पनि समष्टिगतरूपमा सबै सजग छौँ।
तपाईंकै पार्टीको मजदूर संगठनले लकडाउन घोषणा हुनुअघि सरकारलाई ११ बुँदे सुझाव दिएको रहेछ। हामीले दिएका सबै सुझावको पालना नगरी बेवास्ता गरियो भन्छन् नि?
त्यस्तो मलाई अनुभुति भएको छैन। नेपाल सरकारले गरेको कामकै कारण कोरोना संक्रमितको संख्या बढ्न पाएको छैन। यति ठूलो संख्यामा बाहिरबाट मान्छेहरू आएका छन्। ती व्यक्तिमा मात्रै कोरोना देखियो। लकडाउनकै कारण ठूलो मात्रामा संक्रमितको संख्या बढ्न सकेको छैन। हाम्रा काम्रेडले दिएको सुझावकै आधारमा सरकारले काम गरिरहेको छ।
कोरोनाबाट बच्ने लकडाउन नै अचुक उपाय हो। होइन भने नेपालजस्तो साधन स्रोतको कमी भएको देशमा अहिले सम्हाल्न नसक्ने अस्थिति हुने थियो। हाम्रा साथीहरूले जुन सल्लाह सुझाव दिनु भएको छ। त्यसलाई सरकारले गम्भीरतापूर्वक लिएको छ। सम्पूर्ण देशको अवस्था हेरेर त्यही अगाडि बढेका छौं।
नेपालमा दैनिक ज्यालादारी गरेर दुई छाक टार्नेको संख्या धेरै छ। लकडाउन भएपछि धेरै उद्योगधन्दा कलकारखाना बन्द भएका छन्। अहिले धेरै मजदुरहरू घरमै सेल्फक्वारेन्टाइनमा बसेका छन्। त्यस्ता वर्गका निम्ति सरकारले राहतको प्याकेज ल्याउने सोचेको छ कि छैन ?
त्यस विषयमा एफएनसिसिआई र सिएनआईलगायतका रोजगारदाताका बीचमा समन्वयको कुरा भइरहेको छ। अहिले सबैले निर्णय गरेर चैत १२ देखि मसान्तसम्मको तलब सेवा सुविधा र राहत दिने कुरा भएको छ। त्यो सार्वजनिक पनि भएको छ। त्यो ठूलो कल्याणको कुरा पनि हो। अब वैशाख १ गतेदेखिको विषयमा कसरी जाने भन्ने विषयमा सबै पक्षसँग छलफल भइरहेको छ।
अहिले त्यहाँ काम गर्ने मजदूरको तलब भत्ताभन्दा विहान बेलुकाको छान टार्ने कसरी भन्ने छ। त्यसका लागि स्थानीयतहका वडामा राहत वितरण गरिएको छ। स्थानीय सरकारले कुनै कसर बाँकी नराखी चामल, दाल, तरकारी, तेल नुन, साबुन, स्यानिटाइजर सबैजसो उपलब्ध गराएको छ। यो नेपालीहरूका लागि सुखद अनुभूति छ। नेपालीहरू भोकभोकै बस्नु परेको छैन।
अस्वस्थताका बीच मैले समय दिन सकेको छैन। शरिरिकरूपमा उपस्थित नभए पनि नियमित कम्युनिकेसनमा छु। सबै व्यक्तिहरू पदाधिकारीहरूसँग दैनिक संवाद हुन्छ। प्रत्येक दिनको डेभलभमेन्टको विषयमा शेयर गर्छौं।
सरकारले मजदूरलाई राहत उपलब्ध गराउन नसक्दा एउटा राहतबाट प्रताडित छन् भने अर्कोतिर कोरोबाट प्रताडित हुने अवस्था छ यस्तो हुँदा सरकारकै कारण मजदूर डबल कोरोनाबाट प्रताडित हुने भए भन्ने आरोप छ नि?
त्यो भ्रमपूर्ण कुरा हो। मैले तपाईंलाई भन्दै गर्दा रोजगारदाता र श्रम मन्त्रालयबीच जे जस्तो व्यवस्थापन भएका छन्। त्यसमा श्रम मन्त्रालयको व्यापक भूमिका छ। मैले राजगारदातासँग परामर्श गरेको थिएँ। आइतबार थप बसेर छलफल गर्ने र त्यसको कसरी निकास निस्कन्छ भन्ने विषयमा उहाँहरू पनि संवेदनशील हुनुहुन्छ। मन्त्रालयको साझा जिम्मेवारी भएकाले संवेदनशील छ। हाम्रो सिंगो मन्त्रालय पनि संवेदनशील छ। सबै आ–आफ्नो जिम्मेवारीमा अगाडि बढेको छ।
अस्वस्थताका बीच मैले समय दिन सकेको छैन। शरिरिकरूपमा उपस्थित नभए पनि नियमित कम्युनिकेसनमा छु। सबै व्यक्तिहरू पदाधिकारीहरूसँग दैनिक संवाद हुन्छ। प्रत्येक दिनको डेभलभमेन्टको विषयमा शेयर गर्छौं। कसले कहाँ जिम्मेवारी पुरा गर्यौं अहिले पनि कुन जिल्लाको अवस्था के छ भन्ने मेरो अगाडि छ।
म आफैँ प्रदेश २ को संयोजक भएकाले आठ वटै जिल्लाको अपडेट भइरहन्छु। कोरोना नियन्त्रण तथा रोकथामका लागि उपप्रधानमन्त्रीज्यूको संयोजकत्व बनेको समितिलाई दैनिकरूपमा रिपोर्ट पठाउछौँ। तर केही उश्रृङ्खल व्यक्तिहरू लकडाउनलाई मजाकको विषय बनाउने लुकिछिपि भाग्ने देखिएको छ। त्यसमा सरकार कडाइका साथ अगाडि बढेको छ।
के भोकभोकै साना बच्चा बच्ची बोकेर आफ्नो घर जाने उनीहरूको रहर होला र?
यो बलमिच्याँई हो। सरकारले लकडाउन घोषणा गरेपछि जो जहाँ छ त्यही बस्नुस् त्यही व्यवस्थापन हुन्छ भनिएको छ। कुनै व्यक्ति बाटोमा जाँदै गरेको देखिएको छ भने तपाईंको सञ्चारमाध्यममार्फत् भन्न चाहन्छु। जहाँ जहाँका स्थानीय सरकारका जनप्रतिनिधि छन् त्यहाँ व्यवस्थापनमा लागौँ। यदि भुलबस कोही निस्कनु भएको छ भने बाटोमा जहाँ हुनुहुन्छ त्यही व्यवस्थापन हुन्छ। हामीले जतिसक्दो छिटो मान्छेको मुभमेन्ट रोकौँ। लकडाउनलाई पूर्णरूपमा सफल बनाउँ।
हामी सम्पूर्ण नेपालीको बारेमा अहिले एक साथ सोचिरहेका छौं। हाम्रा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू सबै समान छन्। यसमा को धनी को गरिब भन्ने छैन। सबैलाई बराबररूपमा समस्या आइपुगेको छ।
संघ, प्रदेश र स्थानीय तीन वटा सरकार छ। तर मजदूरहरू सरकारी कहीँ पाएनौँ भन्छन् नि!
यो कुरामा विश्वस्त छैन। अहिले स्थानीय जनप्रतिनिधि कसिएर लागेका छन्। यदि कुनै मान्छे गाउँमा पस्यो भने तुरुन्त प्रहरीको जिम्मा लगाउने त्यसको जाँच गराउने विषयमा समेत र सजग छन्। त्यस्तो भइरहेको छ। कुनै व्यक्ति भोकै छ भने स्थानीय प्रशासनलाई रिपाेर्ट गर्ने स्थानीय सरकारलाई घचघच्याउने जागरुकता आएको छ। थोरै समयमा धेरै पोजेटिभ लक्षणहरू देखिरहेका छन्। त्यसैले के आग्रह गर्न चाहन्छु भने यस किसिमको अनर्गल प्रचार नगरी दिए हुन्थ्यो। यस्तो हुँदा हाम्रा साथीहरूको मनोबल खस्कने वातावरण हुन्छ। विश्वव्यापी रूपमै भयावह स्थिति आएको छ। हामी नेपालीहरू एकजुट भएर यस्ता प्रकोपका विरुद्ध लड्न लागौं। कसैको खिस्सी गर्ने, मनोबल गिराउने कुरा कसैले गर्नु हुँदैन।
के त्यसो भए श्रमिकहरू हाम्रो मन्त्रीज्यू हाम्रो सारथी हुनु सक्नु भएन भन्ने कुरामा कुनै सत्यता छैन है?
त्यसको कुनै सत्यता छैन। हामी सम्पूर्ण नेपालीको बारेमा अहिले एक साथ सोचिरहेका छौं। हाम्रा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू सबै समान छन्। यसमा को धनी को गरिब भन्ने छैन। सबैलाई बराबररूपमा समस्या आइपुगेको छ। एकले अर्कोलाई हरेक मामिलामा सहयोग गर्ने, सुरक्षा दिने र लिने वातावरण बनाउनु पर्नेछ। श्रमिकहरू हाम्रो अन्नदाता हो। जसको पसिनाले हाम्रो राष्ट्रको भार थेगिएको छ। यस्तो अवस्थामा श्रमिकहरूको बारेमा नकारात्मकता वा यस्तो खालको सोच सोच्न पनि सक्दैनौं।
राष्ट्रपतिदेखि प्रधानमन्त्री आफैँ ईच्छा देखाएर विदेशमा रहेका मजदूरहरूलाई अप्ठेरो नहोस् भनेर राष्ट्राध्यक्ष र सरकार प्रमुखसँग बारम्बर छलफलमा बस्नुभएको छ। हामी देश बाहिरका श्रमिकको बारेमा यति धेरै चिन्तित छौँ भने देशमै भएका हाम्रै दाजुभाइ दिदीबहिनीसँग सरोकार नराख्ने भन्ने हुँदैन। कुनै किसिमको कमी कमजोरी हुन दिँदैनौं तपाईंमार्फत विश्वास दिलाउन चाहन्छु।
विदेशमा भएका नेपालहरूले हामीलाई उद्दार गर्नुस् भनेर हारगुहार गरिरहेका छन्। विदेशमा अलपत्र परेका श्रमिकका लागि सरकारले के सोचेको छ?
सरकारले उनीहरूको बारेमा सोचिरहेको छ। अहिले तपाईंसँग कुरा गर्दैगर्दा प्रधानमन्त्रीज्यूलाई उच्चस्तरीय समितिले ब्रिफिङ गरिरहेको छ। अस्वस्थताका कारण म जान पाइनँ। त्यो अर्को कुरा हो। तर अहिलेको परिस्थितिमा खाडी मुलुकमा भएको अव्यवस्थाका विषयमा परराष्ट्रमन्त्रीले सबै राजदूतसँग कुरा गरिरहनु भएको छ। म पनि कुरा गरिरहेको छु। प्रधानमन्त्री र राष्ट्रपति पनि चिन्तित हुनुहुन्छ। तत् तत् देशका सरकार प्रमुख र राष्ट्राध्यक्षलाई मानवीय समस्या आइरेका बेला नेपालीको लागि काम गर्नुस् भनेर हामीले आग्रह गरेका छौँ। उहाँहरूले पनि आश्वासन दिनुभएको छ।
खाडीका ८ वटै देशमा हामी परामर्शमा छौँ। अहिलेसम्म ठूलो समस्या छैन। धेरै रोजगारदाताले काम दिन सक्दैनौँ भनेको सुनिएको छ। जुन देशमा काम बन्द भएको छ, त्यहाँका सरकार र हाम्रा कुटनीतिक नियोगका प्रतिनिधिबीच समन्वय र छलफल भइरहेको छ। विश्व नै अहिले क्वारेन्टाइनमा छ। यातायातको व्यवस्था छैन। रोजगारदाता पनि श्रमिकलाई खाने बस्ने व्यवस्था मिलाउन तयार देखिएका छ्न्। युएईमा अलिधेरै कठिनाइ भएको जानकारी आएको छ। जहाँ आवश्कता पर्छ त्यहाँ राजदूताबासले सेल्टर बनाउने र थप खर्च चाहिएमा नेपाल सरकारले त्यसको व्यवस्थापन गर्ने सोच पनि हामीले बनाएका छौँ। नेपाली दाजुभाइको विदेशमा वा स्वदेशमा ल्याएर व्यवस्थापन गर्न हामी तयार छौँ। हामी चिन्तित छौँ। निकासको बाटोमा जानुपर्यो भनेर छलफल भइरहेको छ।
तर प्रकृतिप्रदत्त प्रकोपमा कठिनाइ हुने रहेछ। यातायातको सुविधा छैन। हामीले चाहेर प्लेन नआउने रहेछ। यहाँ ल्याएर पनि क्वारेन्टाइनमा राख्नुपर्ने अवस्था आउँछ। उहाँहरू जुन देशमा क्वारेन्टाइन वा आइसोलेसन जेमा हुनुहुन्छ नेपाल फर्कन सक्ने परिस्थिति आउने बित्तिकै यहाँ ल्याउछौँ।
विदेशमा बसिरहेका नेपालीहरूले सरकारले रेमिट्यान्सको लोभ गर्यो तर आपतमा हेरेन भनिरहेका छन् नि!
उहाँहरूले यो कुरा थाहा पाउनु भएन होला। तर हामीले गरिरहेका छौँ। हाम्रो देशको राष्ट्रपति आफ्ना नागरिकप्रति चिन्तित हुनुहुन्छ। यो देशको प्रधानमन्त्री जो आफैँ बिरामी हुनुहुन्छ र पनि नेपालीहरूको बारेमा चिन्तित हुनुहुन्छ। सिंगो सरकार चिन्तित छ। उहाँहरूलाई दु:ख पर्न दिने छैनौँ। हाम्रो चाहना उहाँहरूलाई दुख होस् भन्ने होइन।
तर प्रकृति प्रदत्त प्रकोपमा कठिनाइ हुने रहेछ। यातायातको सुविधा छैन। हामीले चाहेर प्लेन नआउने रहेछ। यहाँ ल्याएर पनि क्वारेन्टाइनमा राख्नुपर्ने अवस्था आउँछ। उहाँहरू जुन देशमा क्वारेन्टाइन वा आइसोलेसन जेमा हुनुहुन्छ नेपाल फर्कन सक्ने परिस्थिति आउने बित्तिकै यहाँ ल्याउछौँ। उहाँहरूको सुरक्षा नै हाम्रो सुरक्षा हो। सम्पूर्ण नेपालीको सुरक्षा कसरी गर्ने, एकले अर्कालाई कसरी सुरक्षित बनाउने भन्ने विषयमा हामी चिन्तित भइरहेका छौँ। उहाँहरूलाई सम्मानपूर्वक कसरी भित्र्याउने भन्ने ब्याकुलता हामीमा छ। प्रतिकूल परिस्थितिका कारण हामीले ल्याउन सकेका छैनौँ। हामी उहाँहरूलाई नेपाल भित्र्याउन प्रयासरत छौँ।
खाडीमा नेपालीहरूको निधन भएर शव उतै अड्किएको छ। यसबारेमा तपाईंहरूले केही सोच्नुभएको छ?
कोरोना भाइरसबाट विदेशमा १४ जनाको मृत्यु भएको छ। उहाँहरूको शव उतै दाहसंस्कार गर्ने योजना बनाएका छौँ। अन्य विविधकारण मृत्युवरण गरेका नेपालीको ६८ वटा शव विदेशमा छ। ती ६८ मध्ये कोरियामा रहेका व्यक्तिको पारिवारिक सहमतिमा उतै दाहसंस्कार गरिएको छ। बाँकी ६७ शवको पनि पारिवारिक सहमति भयो भने उतै दाहसंस्कार गर्ने कुरा उठेको छ। त्यसका लागि वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले समन्वय गरिरहेको छ। परिवारको सहमतिले विदेशमा दाहसंस्कार भएन भने लकडाउन खुलेपछि ल्याउने व्यवस्था मिलाउछौँ।
चीनमा अलपत्र नेपालीलाई क्वारेन्टाइनमा राखियो। सरकारको प्रसंसा भयो। तर भारतबाट नेपाल आउन खोज्न नेपालीलाई बेवास्ता गरियो। सीमामा उनीहरू अलपत्र भए। किन यस्तो बेवास्ता गरेको?
बेवास्ता गरिएको होइन। चीनमा लकडाउनमा परेका नेपालीलाई त्यत्रो मेहनत गरेर व्यवस्थापन गर्यौं। क्वारेन्टाइनमा राखेर उहाँहरूलाई घरघरमा पठाइयो। त्यसले नेपालीप्रति नेपाल सरकार कति संवेदनशील छ भन्ने सन्देश त्यो थियो। त्यसबाट हामीले प्रेरणा लिनुपर्छ। यसले नेपाल सरकार आफ्ना नागरिकप्रति कति संवेदनशील छ भन्ने पनि देखाएको छ।
नेपालमा निर्माणका धेरै काम भइरहेका छन्। नेपाली युवाहरू यही काम बाहिर गएर गर्ने र यहाँ बाहिरका मान्छे आएर काम गर्ने भइरहेको छ। घर बनाउने, प्लम्बर, इलेक्ट्रिसियनहरू सबै विदेशी छन्। उनीहरूले यहाँ काम पाएका छन्। त्यसकारण हामीकहाँ रोजगारीको अवसर नभएको होइन।
रह्यो कुरा भारतको। भारत र नेपाल दुवै देशमा लकडाउन भएपछि लाखौँको संख्यामा ह्वारह्वार्ती नेपालीहरू आउन थाले। त्यसले गर्दा व्यवस्थापन गर्न कठिनाइ भएको हो। भारत र नेपाल दुवै देश सचेत थिएनन्। यति ठूलो संख्यामा नेपालीहरू आउँछन् भन्ने अनुमान पनि भएन। हामीलाई भारतमा नेपाली कति छन् भन्ने यथेष्ठ जानकारी छैन। तत्कालीन् अवस्थामा अलिकति कमजोरी देखियो। अहिले भारतबाट फर्केका नेपालीहरूलाई क्वारेन्टाइन र आइसोलेसनमा राखिएको छ। भारतमा जो अड्केका छन्, भारतमा क्वारेन्टाइन र आइसोलेसनमा पनि राखिएको छ।
तपाईंहरूकै कमजोरीले कोरोना फैलने जोखिम पनि भयो नि!
ह्वारह्वार्ती आउँदा हामीले जाँच गर्न पनि भ्याएनौँ। त्यसले गर्दा पश्चिमी क्षेत्रमा तीनवटा कोरोनाका केस देखा परे। जसका कारण हामी धेरै सचेत र सतर्क हुनुपर्याे। अन्य स्थानमा पनि त्यस्तै समस्या देखियो। पर्सामा पनि भारतबाट आएका मानिसहरूकै कारण संक्रमण भएको फेला पर्याे। समयमै जाँच गर्न सके त्यो अवस्था आउने थिएन। धेरै मानिस एकैपटक आएका कारण जाँच गर्न सकेनौँ। त्यतिबेला हामीसँग जाँच गर्ने साधनस्रोतको पनि अभाव भयो।
नेपालमा अड्केका भारतीयको पनि खाने बस्ने व्यवस्था हामीले गरेका छौँ। जसरी हामीले भारतीय नागरिकको व्यवस्थापन गरेका छौँ, त्यसरी नै भारतमा रहेका नेपाली नागरिकलाई व्यवस्था गरिएको छ। उनीहरूलाई क्वारेन्टाइनमा राखिएको छ। उनीहरूको जाँच भइरहेको छ। अनुकूल परिस्थिति हुने बित्तिकै हामी उनीहरूलाई नेपाल भित्र्याउछौँ। पहिले चीनबाट ल्याइएका नेपालीलाई जुन सम्मानका साथ घर पुर्यािइयो, त्यस्तै अवस्था भारतमा रहेका नेपाली दाजुभाइको पनि हुनेछ।
अब रोजगारीको कुरा गरौँ। वैदेशिक रोजगारी गुम्ने र स्वदेशमा भएका उद्योगधन्दा बन्द हुने अवस्थामा पुगेका छन्। नागरिकले रोजगारी गुमाउँदैछन्। सरकारले के सोच्दैछ?
नेपाल सरकार सजग छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय यो विषयमा चिन्तित छ। म मन्त्री भएको दिन हामीले नेपालीहरूलाई विदेशमा होइन स्वदेशमै रोजगारी दिने वातावरण बनाउनुर्छ भनेको थिएँ। तपाईंलाई यो सम्झना पनि होला। त्यो कुरा आज यथार्थमा चरितार्थ हुँदैछ। हामीकहाँ रोजगारीका थुप्रै अवसर छन्। हामी व्यवस्थितरूपमा जाने हो भने यहाँ युवाहरूलाई प्रसस्त अवसर छ।
नेपालमा निर्माणका धेरै काम भइरहेका छन्। नेपाली युवाहरू यही काम बाहिर गएर गर्ने र यहाँ बाहिरका मान्छे आएर काम गर्ने भइरहेको छ। घर बनाउने, प्लम्बर, इलेक्ट्रिसियनहरू सबै विदेशी छन्। उनीहरूले यहाँ काम पाएका छन्। त्यसकारण हामीकहाँ रोजगारीको अवसर नभएको होइन। लाखौँ युवाको काम यहाँ छन्। निर्माण व्यवसायी धेरै युवालाई काम दिन तयार छन्। जलविद्युत आयोजनामा धेरैलाई रोजगारीको अवसर छ।
कृषिको अथाह संभावना छ। बाँझो जमिन छ। कृषिको वैज्ञानिकीकरण गर्ने हो भने लाखौँ रोजगारी सिर्जना हुन्छ। लाखौँ युवा त्यसमा सहभागी हुन सक्छ। संमृद्ध नेपाल सुखी नेपालीको सपना साकार बनाउने र उत्पादकत्व बढाउने हो भने नेपाली पाखुराले यहीँ श्रम गर्नुपर्छ। पर्यटन क्षेत्रमा रोजगारीको ठूलो संभावना छ। यहाँ अवसर पनि छ।
त्यसकारण विदेशबाट नेपाली फर्कने अवस्था आएमा सम्पूर्ण श्रमिकको श्रमिक बैंक खोलेर रजिष्टर गर्छौँ। त्यहाँ उनीहरूको चाहनाअनुसारको तालिम दिन्छौँ। देशभित्र वा देशबाहिर अदक्ष कामदारलाई काममा लगाउँदा उत्पादकत्व पनि नबढ्ने र उनीहरूले पनि श्रमअनुसारको ज्याला नपाउने अवस्था छ। त्यसकारण सातै प्रदेशमा तालिम केन्द्र खोलेर मजदूरलाई तालिम दिइ श्रमिक बैंकमा आवद्ध भएकालाई सहुलियत दरमा ऋण दिने व्यवस्था मिलाइनेछ। स्वरोजगार हुन चाहनेलाई यो सुविधा दिने र रोजगार गर्न चाहनेलाई दक्ष कामदारका रूपमा अघि बढाउने हाम्रो योजना छ।
कोरोना भाइरसले दिएको सकारात्मक पक्ष भनेको नै नेपाली कामदारको व्यवस्थापन हो। उनीहरूलाई तालिम दिइ दक्ष बनाउने गरी काम गर्छौँ। देशभित्रै खपत हुने श्रमिकलाई यहीँ रोजगारी दिने व्यवस्था गर्छौँ। सकभर सबै नेपालीलाई रोजगार बनाउने हो। सबैले यहाँ काम गर्न थाले पनि नेपाल उभो लाग्छ।
सरकारले राम्रोसँग अध्ययन नै गरिसकेको छैन नि!
कोरोनाले हाम्रो अर्थव्यवस्था धकेलिँदैछ। कोरोना आफैँमा एउटा चुनौती हो। तर यसलाई हामी एउटा अवसरका रूपमा सदुपयोग गर्न सक्छौँ। कोरोनालाई अवसरका रूपमा प्रयोग गरेर भएको क्षतिको पूर्ति गर्ने गरी मेहनत गर्नुपर्छ। हामीकहाँ रोजगारको अवसर नभएको होइन व्यवस्थापन नभएको हो। कोरोना भाइरसले दिएको सकारात्मक पक्ष भनेको नै नेपाली कामदारको व्यवस्थापन हो। उनीहरूलाई तालिम दिइ दक्ष बनाउने गरी काम गर्छौँ। देशभित्रै खपत हुने श्रमिकलाई यहीँ रोजगारी दिने व्यवस्था गर्छौँ। सकभर सबै नेपालीलाई रोजगार बनाउने हो। सबैले यहाँ काम गर्न थाले पनि नेपाल उभो लाग्छ।
अन्त्यमा, अस्वस्थताका बाबजूद समय दिनुभयो। श्रमिकहरूलाई केही भन्नुछ?
यो संकटको घडीमा हामी सबै नेपालीहरू एकजुट हुनुपर्छ। सरकारले गरेको निर्णय हाम्रो लागि हो भनेर आत्मसात गर्नुपर्छ। हामीले सोसल डिस्टेन्स मेन्टेन गर्नुपर्छ। एक किसिमको कम्युनिकेसन ग्याप गर्नुपर्छ। आफूलाई कोरोना भाइरससँग सम्बन्धित कुनै लक्षण देखियो भने तत्काल जाँच गर्नुपर्छ। यथाशक्य चाँडो स्वास्थ्य केन्द्रमा जानुपर्छ र चेकजाँच गराउनुपर्छ। आफ्नो तर्फबाट कसैलाई पनि संक्रमण नहोस् भन्नेमा हामी सजग रहनुपर्छ। यस्तो आपतका बेला ठूलो साहस देखाउनुपर्छ। ठूलो हिम्मत रहनुपर्छ। हामी डराउने होइन सचेत रहनुपर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।