दमक–उदयपुरको एक मस्जिदमा एकैसाथ १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि देशैभरिका मस्जिदमा सरकारले निगरानी बढाएको छ। कोरोनाको जोखिम नियन्त्रण गर्न जारी लकडाउनका क्रममा एकैसाथ यतिका संख्यामा संक्रमित भेटिएपछि पूर्वका मस्जिदसहित सीमा तथा आवतजावतमा सरकारले थप निगरानी बढाएको हो ।
यसैक्रममा शनिबार दमक–६ स्थित जामे मस्जिदमा रहेका ११ भारतीय धर्मगुरुसहित १४ को आरडिटी परीक्षण गरिएको नगरपालिकाले जनाएको छ । आरडिटी परीक्षणको रिपोर्ट भने सबैको नेगेटिभ आएको नगरपालिकाका प्रवक्ता गीता अधिकारीले बताइन्। उपप्रमुखसमेत रहेकी प्रवक्ता अधिकारीका अनुसार सबैको रिपोटृ नेगेटिभ आएपछि डराउनुपर्ने अवस्था आएको छैन । उनीहरु दुई महिनाअघि नै नेपाल आएको खुलेको छ ।
कोरोना संक्रमण हुन नदिन सरकारले लकडाउन जारी राखेपछि उनीहरु भारत फर्कन नपाएको बताउँदै आएका छन्। उनीहरु केही दिनयता मस्जिदमै सेल्फ क्वारेन्टाइनमा छन्। देशका विभिन्न मस्जिदमा कोरोनाका बिरामी भेटिन थालेपछि दमकको मस्जिदमा समेत निगरानी बढाउन नगरवासीले आवाज उठाउँदै आएका थिए ।


यसैगरी शनिबार नै मस्जिदमा रहेका बाहेक इलाका प्रहरी कार्यालय दमकको थुनामा रहेका कैदी र प्रहरी गरी पाँच, क्वारेन्टाइनका एक र आम्दा अस्पतालबाट एक बिरामी गरी २१ जनाको आरडिटी परीक्षण गरिएको थियो । तीमध्ये चार जनाको थप स्वाब परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रवक्ता अधिकारीले बताइन्। उनका अनुसार हाल दमक–४ स्थित दाहाल प्रतिष्ठानको क्वारेन्टाइनमा दुई र मानसरोवर इन्स्टिच्युटमा १५ पुरुष रहेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।