काठमाडौ- मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले कोरोना भाइरस रोकथाम र नियन्त्रणमा भारतसँग खुला सीमा बाधक बनेको भन्दै सधैंका लागि तारबार लगाउनुपर्ने बताएका छन्। वैद्यले शनिबार एक विज्ञप्ति जारी गर्दै कोरोना नियन्त्रण तथा रोकथाममा सरकारले पूर्व तयारी गर्न नसक्दा यस्तो अवस्था आएको भन्दै आलोचना गरेका हुन्।
लकडाउनका कारण काठमाडौं उपत्यकासहित विभिन्न शहरका मजदुरहरु अलपत्र परेको भन्दै वैद्यले आर्थिक प्रबन्धसहित यातायातको साधन उपलब्ध गराई सम्बन्धित जिल्ला पुर्याउन माग गरेका छन्। यस्तै भारतीय सीमापारि थुनिएका मजदुरहरूको आफ्नो घर फर्किने अधिकार भएको भन्दै स्वदेश फर्काउने व्यवस्था गरी क्वारेन्टाइनमा राख्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।
कोरोना भाइरस नियन्त्रण र रोकथामको अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मीसहित सबैलाई पिपिईसहित स्वास्थ्य उपकरणको व्यवस्था गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ। यदि सरकारले पर्याप्त मात्रामा सुरक्षा सामग्री उपलब्ध गराउँदा गराउँदै उपचारमा जान नमान्ने डाक्टर,नर्स र एम्बुलेन्स ड्राइभर सबैलाई कारवाही गर्नुपर्ने उल्लेख गरिएको छ। कोरोना भाइरसको संक्रमणको नाममा बिरामीलाई उपचार गर्न नमान्ने निजी तथा सरकारी दुवै अस्पतालाई कानूनी दायरामा ल्याउनुपर्ने माग गरिएको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।