काठमाडौं- भारतमा पछिल्लो २४ घण्टामा ९९१ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म भारतमा संक्रमितको संख्या १४ हजार ३ सय ७८ पुगेको छ।
शनिबारमात्र ४३ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन्। भारतमा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या ४ सय ५० भन्दा बढी पुगेको छ।
यसरी संक्रमित भएका मध्ये १३ दशमलव ८५ प्रतिशत बिरामी उपचारपछि ठीक भएका छन्। भारतको केही स्थानमा भने सकारात्मक नतिजा आएको छ। २३ राज्यको ४७ जिल्लामा बीचको २८ दिनमा नयाँ संक्रमित थपिएका छैनन्।
भारतका १२ राज्यको २२ जिल्लामा दुई सातादेखि नयाँ संक्रमित फेला परेका छैनन्। विहारको लखीसराय,भागलपुर र गोपालगञ्ज, राजस्थानको उदयपुर र धौलपुर ,कर्नाटकको चित्रदुर्गा,जम्मु र कश्मीरको पुलवा,मणिपुर लागयत क्षेत्रमा नयाँ संक्रमित देखा परेका छैनन्।
यसरी कोरोना भाइरसबाट ज्यान गुमाउनेहरु ७५.३ प्रतिशत मानिस साठी वर्षभन्दामाथिका छन्। यसरी मृत्यु हुनेमध्ये ८३ प्रतिशत कुनै न कुनै रोगका बिरामी थिए।
भारतको स्वास्थ्य विभागका अनुसार संक्रमित १४ हजारमध्ये ४ हजार २ सय ९१ जना दिल्लीको धार्मिक सभामा सहभागी भएका मानिसमा पाइएको छ। तब्लीगी जमातका उनीहरु दिल्लीमा भएको धार्मिक सभामा सहभागी भएर आ आफ्नो राज्यमा पुगेका थिए।
दिल्लीमै रहेका व्यक्तिहरुको परीक्षण गर्दा कोरोना भाइरसको पुष्टि भएपछि देशभर उनीहरुको खोजी शुरु भएको थियो। ४० देशका करिब ४ हजार मानिस उक्त धार्मिक सभामा सहभागी भएका थिए।
नेपालबाट पनि केही मानिसहरु उक्त सभामा सहभागी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।