काठमाडौं- संसदको कानुन,न्याय तथा मानव अधिकार समितिले हिँडेरै घर गइरहेका मानिसहरूलाई गन्तव्यमा पुर्याउन निर्देशन दिएको छ। त्यस्तै समितिले पुर्याउन नसके जुन ठाउँमा छन्, त्यही ठाउँमा खान बस्नको उचित व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो।
शनिबार बसेको समितिको ‘भर्चुअल मिटिङ’ले आफ्नो थातथलोमा देशभित्रैबाट फर्किन चाहनेहरूलाई पैदल यात्रा गर्न बाध्य नबनाउन समेत सरकारको नाममा ध्यानाकर्षण गराएको समितिका सभापति कृष्णभक्त पोखरेलले बताए।
समितिले उनीहरूलाई सुरक्षासहितको सवारीबाट स्थानीय र प्रदेश सरकारको समन्वयमा गन्तव्यमा पुर्याउने वा जुन ठाउँमा छन् त्यही ठाउँमा खान बस्नको राम्रो प्रबन्ध गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिएको छ।
बैठकमा देव गुरूङ, बालकृष्ण खाँड, लक्ष्मणलाल कर्ण, राजेन्द्र गौतम, लाल बहादुर थापा, समिना हुसेनलगायतका सांसद सहभागी थिए।
‘चिकित्सक र स्वास्थकर्मीको सुरक्षाको प्रबन्ध गर्नू र औषधि, उपकरणलगायत सामग्रीको सञ्चय गर्नू’ समितिको निर्णयमा भनिएको छ‚ ‘बन्दीहरूलाई छुट गर्न मिल्नेसम्म छुट गरी कारागारको चाप घटाउनेतर्फ यसअघि दिएको निर्देशन कार्यान्वयन गर्नू।’ सीमा क्षेत्रको सुरक्षालाई कडाइ गर्न पनि समितिले सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको पोखरेलले बताए।
व्यक्तिको खान पाउने र उपचार मौलिक हक भएकाले खाना र औषधि अभाव भएका सबै व्यक्तिलाई क्षेत्र वा अन्य कुनै आधारमा भेदभावबिना उपलब्ध गराउन समेत समितिले सरकारलाई भनेको छ।
विपत व्यवस्थापनसम्बन्धी कानुनको माथिदेखि तलसम्म कार्यान्वयन गर्न र विदेशमा रहेका नेपाली नागरिकको अवस्थाबारे नियमित अनुगमन गरी उनीहरूको मानव अधिकारको रक्षा गर्ने दिशामा पहलकदमी लिन समेत समितिले सरकारलाई भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।