फाइल तस्बिर
काठमाडौं- थानकोट नाका हुँदै घर जान लागेका नागरिकलाई चन्द्रागिरी नगरपालिकाले क्याम्प बनाएर राखेको छ। लकडाउनका कारण हिँडेरै घर जान लागेका नागरिकहरुलाई चन्द्रगिरी नगरपालिकाले थानकोटमा क्याम्प बनाएर राखेको हो।
विभिन्न जिल्लामा मजदुरी गर्दै आएका तर लकडाउनका कारण उपत्यका हुँदै हिँडेर घर जान लागेका उनीहरुलाई खाने र बस्ने व्यवस्थासहित क्याम्पमा राखिएको सांसद् अञ्जना विशंखेले बताइन्। क्याम्पमा खाने, बस्ने व्यवस्थासहित स्वास्थ्य जाँच गरी क्याम्पमा राखिएको उनको भनाइ छ। थानकोटमा रहेको त्रिभुवन पार्कमा निर्माण गरिएको क्याम्पमा अहिले ३ सय जना रहेको उनले बताइन्।
पिकनिक स्पट भएकाले लकडाउनको समयमा अन्य कुनै पनि व्यक्तिको सम्पर्कमा उनीहरु पुग्न नसक्ने बताएकी उनले १५ वटा स्टल बनाएर व्यवस्थापन गरिएको जानकारी दिइन्। नेपाली सेनाले डिसइन्फेक्सनको काम गरिरहेको छ। स्वास्थ्य जाँच कक्ष निर्माण गरी उनीहरुको स्वास्थ्य पनि जाँच भइरहेको छ।
तराईका विभिन्न जिल्ला जाँदै गरेका श्रमिकहरुले क्याम्पका कारण खान बस्न सजिलो भएपनि कुनै व्यवस्था गरी घरसम्म जानपाए हुन्थ्यो भन्ने धारणा व्यक्त गरेका छन्।
क्याम्पमा छुट्टै छुट्टै समूहका लागि हात धुने व्यवस्था गरिएको छ। यसैगरी स्यानिटाइजर र मास्क पनि उनीहरुलाई दिइएको छ। क्याम्पबाट कोही बाहिर जान नपाओस् भनेर प्रहरीले चोकचोकमा गस्ती गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।