

दाङ–लकडाउनका कारण काम गर्न नपाएपछि दाङ घोराहीको वादी समुदायका वस्तीमा चुलो बल्न छाडेको छ। घोराही उपमहानगरपालिका १३ सेवार खोलको बगरमा वादी समुदाय बस्दै आएका छन्। काम नपाएका कारण घरमा खाने खर्च नहुँदा भोकभोकै मर्नु पर्ने अवस्था आएको पीडितहरुले बताए।
‘हामी यहाँ सबै काम गरेर खाने मजदुर छौँ, काम गर्न नपाएको एक महिनाभन्दा धेरै भयो, घरमा खाने रासन छैन,’ उनीहरुले भने, ‘सहयोग गर्न पनि कोही आएनन् ।’
कोरोना संक्रमण न्यूनीकरण गर्न सरकारले लकडाउन गरेपछि वस्तीका २ सय घर परिवारले दैनिक काम गर्न पाएका छैनन्। काम गर्न नपाउँदा आम्दानी नभएपछि अहिले छाक टार्न समस्या भएको स्थानीय श्याम बादीले बताए।
‘कोही ज्याला मजदुरी, पल्लेदार गर्ने हो, गिट्टी कुट्ने काम गर्ने हो, एक रुपैयाँ कमाउन पाएको छैन,’ उनले भने, ‘घरमा भएको अलिकता रासन पनि सकिन लाग्यो, अब के खाने हो?’
सेवार खोलाको बगरमा बस्ने बादी समुदायको वस्तीमा दुई वटा टोल छन्। दुर्गा भवानी टोल विकास संस्थामा करिब एक सय घर परिवार अहिले भोकमरीमा छन् भने शुभ विहानी टोल विकास संस्थामा ८० घर परिवार उस्तै समस्यामा रहेको स्थानीय लक्ष्मी बादीले बताईन्।
‘वडा कार्यालयले ९ घरलाई मात्र राहत दिएको थियो, त्यो पनि अतिविपन्न र अपांगलाई मात्रै । अहिले सबैको घरमा छाक बस्यो,’ टोल विकास संस्थाका अध्यक्ष रञ्जीता वादीले भनिन्, ‘वादी समुदायका धेरै घरपरिवार अहिले समस्यामा छन् ।’
त्यहाँका पुरुषहरु कसैले अटो रिक्सा चलाउने गर्थे, भने कसैले ज्याला मजदुरी। महिलाहरु दिनभर सेवार खोलाको किनारमा गिट्टी कुटेर गुजारा चलाउँदै आएका थिए । लकडाउनले आम्दानीको स्रोत नै ठप्प भएपछि अहिले भोकभोकै बस्नु बाध्य भएको बालु वादीले बताए।
‘कम्तीमा एउटा घरपरिवारमा ५ जना छन्। दैनिक तीन किलो चामलले पनि पुग्दैन्, सुनचाँदी बेचम भने कसले किनिदिने?’ उनले भने, ‘घरमा छाक बस्यो, रोगले भन्दा पनि भोकले मरिने हो कि भन्ने डर भयो।’
त्यो क्षेत्रका करिब दुई सय घर परिवारमा डेरा गरेर बस्नेहरु पनि छन्। वादी बस्तीको रुपले चिनिए पनि अन्य दलित समुदाय, जनजाती र ब्राह्मण, क्षेत्रीहरु पनि बस्छन् । बर्दिया घर भई लामो समयदेखि डेरा गरी बस्ने वावुराम सुनारले आम्दानी नभएपछि अब ५ जनाको परिवार कसरी पाल्ने भन्नेमा चिन्ता भएको बताए।
यस अगाडी त्रिभुवननगर जेसीज, वडा नम्बर १३ को कार्यालय र एउटा चर्चले केही बोरा चामल सहयोग गरेको थियो । १५÷२० घरधुरीले पाएको त्यो राहत पनि सकिएको छ । ‘ठाउँ ठाउँमा राहत बाँडेको चामल दिएको, नुन तेलको व्यवस्था गरेको सुनिन्छ, यो गाउँमा त कोही फर्केर पनि आउँदैनन्,’ लक्ष्मी बादीले बताईन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।