काठमाडौं- शुक्रबार स्वास्थ्य मन्त्रालयले गर्ने कोरोना भाइरससम्बन्धी मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विगत २४ घण्टायता कोरोना संक्रिमत नयाँ बिरामी नभेटिएको जानकारी गराएका थिए। बुधबार र बिहीबार पनि उनले संक्रमित नभेटिएको जानकारी गराएका थिए।
सवा ४ बजे आएको सूचना सकारात्मक थियो। मंगलबार एकै पटक २ जनामा संक्रमण देखिएका थिए। तर बुधबार, बिहीबार र शुक्रबार लगातार तीन दिन नयाँ संक्रमण नदेखिँदा बढेको त्रास मत्थर हुँदै थियो।
प्रेस ब्रिफिङ सकिएको ४ घन्टामै सामाजिक सञ्जाल फेसबुकमा रहेको मन्त्रालयको आधिकारीक वेबपेज र भाइबरमा रहेको मन्त्रालयको ग्रुपमा कोरोना संक्रमणको डरलाग्दो तथ्यांक सार्वजनिक भयो- २ जिल्लाका १४ जनामा संक्रमण पुष्टि भएको।
उदयपुरमा १२ जनामा कोरोना संक्रमण भएको पुष्टि भयो भने चितवनमा २ जनामा कोरोना भाइरस परीक्षण पोजेटिभ देखियो।
संक्रमित रहेको जिल्ला र उनीहरुको उमेर समूहबाहेक थप विस्तृत विवरण सार्वजनिक भएको छैन। उनीहरु अलगअलग स्थानका हुन् या विदेशबाट आएका हुन् मन्त्रालयले खुलाएको छैन।
नेपालमा फेला परेका संक्रमितहरु विदेशबाट आएकाहरु नै बढी थिए। एक संक्रमितको हकमा विदेशबाट आएका परिवारको सदस्यबाट सरेको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरेको थियो।
परिवारका सदस्यमा सरे पनि समुदायमा पुगेको अहिलेसम्म घटना देखिएको छैन। शुक्रबार सार्वजनिक भएका संक्रमितहरु पहिलो चरणका अर्थात् विदेशबाट आएका हुन् या दोस्रो चरणका परिवार या आफन्तबाट सरेको हो खुलेको छैन।
शुक्रबार सार्वजनिक भएको तथ्यांक नेपालमा सार्वजनिक भएको अहिलेसम्मको ठूलो संख्या हो। के यो समुदायमा संक्रमण पुगेको तेस्रो चरणको अवस्था हो? त्यो समेत अझै खुलेको छैन।
आठ जिल्लामा पुग्यो कोरोना संक्रमण
शुक्रबार सार्वजनिक भएको नयाँ संक्रमितको संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ। यस अगाडि नै १६ संक्रमित पुष्टि भइसकेको छ। जसमा १ जना निको भएर घर फर्किसकेका छन् भने अन्य उपचारकोक्रममा रहेका छन्।
उपचारमा रहेकाहरुको स्वास्थ्य अवस्था अहिलेसम्म सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
शुक्रबारको तथ्यांकपछि कोरोनाको संक्रमण पुगेको जिल्लाको संख्या भने बढेको छ। नेपालको ७७ जिल्लामध्ये ८ जिल्लामा कोरोना संक्रमित फेला परेका छन्।
शुक्रबार बेलुका नयाँ संक्रमित पुष्टि हुनु अगाडिसम्म काठमाडौंमा सबैभन्दा धेरै कोरोना संक्रमित देखिएका थिए। काठमाडौंमा पाँच जना कोरोना संक्रमित फेला परेका थिए। शुक्रबार एकै पटक १२ जना संक्रमित फेला परेपछि अब उदयपुर सबैभन्दा धेरै संक्रमित फेला परेको जिल्ला भएको छ।
संख्याको आधारमा काठमाडौं दोस्रो स्थानमा पुगेको छ। कैलालीमा ४ जना संक्रमित छन्। त्यसपछि पर्सामा ३ जना , बाग्लुङमा २ जना छन्। शुक्रबारै चितवनमा २ जना फेला परेका छन्। रौतहट र कञ्चनपुरमा १-१ जना संक्रमित फेला परेका छन्।
प्रदेशको आधारमा प्रदेश नम्बर १ सबैभन्दा जोखिममा देखिएको छ। प्रदेश नम्बर २, सुदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ३ मा समेत कोरोना भाइरसको संक्रमित फेला परिसकेका छन्। कर्णाली प्रदेश र प्रदेश नम्बर ५ मा अहिलेसम्म कोरोना संक्रमित फेला परेका छैनन्।
सुस्त परीक्षण
कोरोना भाइरसको संक्रमितको संख्या बढिरहे पनि सरकारले परीक्षणको गति बढाउन भने सकेको छैन। शुक्रबार सार्वजिनक भएको तथ्यांक अनुसार अहिलेसम्म सात हजार ७ सय २२ जनाको परीक्षण भएको छ। त्यसमा २ सय ६८ जनाको परिक्षणको रिपोर्ट आउन बाँकी छ। परिक्षणको तथ्यांक हेर्ने हो भने सरदर दैनिक ४ सयको हाराहारीमा शंकास्पदको परिक्षण हुने गरेको छ।
प्रधानमन्त्रीसँग आकस्मिक बैठक
मन्त्रालयका प्रवक्ताले नयाँ संक्रमितबारे पत्रकार सम्मेलनमा केही नबताए पनि उच्चतहमा भने एकै दिन १४ जनामा संक्रमण देखिएको सूचना पुगिसकेको थियो। एक्कासी नयाँ संक्रमितको संख्या झण्डै दोब्बर पुगेपछि कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समितिका पदाधिकारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले निवासमा बोलाएर आवत जावतमा कडाई गर्न निर्देशन दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।