चेन्नई- आइपिएल क्रिकेटमा चेन्नई सुपरकिंग्सले कोलकता नाइटराइडर्समाथि ५ विकेटको रोमाञ्चक जित हात पारेको छ।
कोलकताले दिएको २ सय ३ रनको लक्ष्य चेन्नईले १ बल बाँकी छदा ५ विकेटको क्षतिमा पार गर्दै रोमाञ्चक जित हात पारेको हो। दुवै इनिङमा गरी ४ सय ७ रन बन्दा खेल रोमाञ्चक बनेको थियो।
जितका लागि अन्तिम ओभरमा १७ रन चाहिएको स्थितिमा चेन्नईका डिजे ब्राभोले पहिलो बलमा छक्का प्रहार गरे। सो बल कोलकताका विनय कुमारले नो बल पनि फाल्दा चेन्नइले ७ रन जोडेको थियो। चौथो बल विनयले वाइड फ्याँकेका थिए। पाँचौ बलमा रविन्द्र जडेजाले छक्का प्रहार गरेपछि चेन्नइले रोमाञ्चक जित हात पार्यो। ब्राभो र जडेजाले समान नटआउट ११-११ रन जोडे।
आक्रामक ओपनिङ गरेको चेन्नइले पहिलो विकेटका लागि ५.५ ओभरमा ७५ रन जोड्यो। ओपनर सेन वाट्सनले १९ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ४२ रन जोडे। अर्का ओपनर आम्बाती रायुदुले २६ बलमा ३ चौका र २ छक्का हिर्काएर ३९ रन बटुले। सुरेश रैना १४ रनमा आउट भए। कप्तान महेन्द्रसिंहले धोनी २८ बलमा २५ रन बनाए। चेन्नईका लागि साम बिलिङले उत्कृष्ट ब्याटिङ गरे। उनले २३ बलमा ५६ रन जोडेपछि चेन्नइ जित नजिक पुगेको थियो। उनले २ चौका र ५ चौका प्रहार गरे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले २० ओभरमा ६ विकेट गुमाएर २ सय २ रन जोड्यो। कोलकताका लागि आन्द्रे रसेलले ३६ बलमा नटआउट ८८ रन जोडे। सातौं नम्बरमा ब्याटिङ गरेका उनले १ चौका र ११ छक्का प्रहार गरे। ओपनर क्रिस लियोन २२ र उनका ओपनिङ पार्टनर सुनिल नारिनले ४ बलमा १२ रन जोडे। रविन उथप्पा २९ रनमा आउट हुँदा नितिश रानाले १६ रन बटुले। कप्तान दिनेश कार्तिकले २५ बलमा २ चौका र १ छक्काको मद्दतमा २६ रन बनाए।
बलिङतर्फ चेन्नइका सेन वाट्सनले २ विकेट लिए। हरवजन सिंह, रविन्द्र जडेजा र शार्दुल ठाकुरले १-१ विकेट हात पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।