काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले मिर्गौला र क्यान्सरका बिरामीका लागि निशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको जानकारी दिएको छ। बिहीबार एक सूचना जारी गर्दै लकडाउन अवधिभर नियमित अस्पताल गइरहन पर्ने दीर्घरोगी समेतका लागि निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने भएको हो।
यसका लागि काठमाडौं महानगरपालिकाले निशुल्क एम्बुलेन्स उपलब्ध गराउने गरी व्यवस्था गरिएकोसमेत प्रशासनको सूचना उल्लेख छ।
'नियमित डायलाइसिस गर्नुपर्ने मिर्गौलाका बिरामी, किमोथेरापी गर्नुपर्ने क्यान्सरका बिरामी र दीर्घ रो भएका बिरामीका लागि घरबाट अस्पताल आवतजावत गर्न निशुल्क एम्बुलेन्स व्यवस्था गरिएको छ,' प्रशासनको सूचनामा उल्लेख छ।
निशुल्क एम्बुलेन्स सेवाका लागि ११८० डायल गर्न सकिनेछ। त्यसैगरी कोरोना भाइरसका बिरामीका लागि भने १०२ नम्बरमा डायल गरी निशुल्क सेवा लिन सकिने समेत बताइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।