काठमाडौं- आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दा सबै प्रदेशले कुल विनियोजित बजेटको २० प्रतिशत कृषि क्षेत्रका लागि छुट्याउन पहल गर्ने सहमति भएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूसालले सातवटै प्रदेशका कृषि, भूमि तथा सहकारी मन्त्रीसँग शुक्रबार गरेको भिडियो बैठकपछि यस्तो सहमति भएको हो। कृषिमन्त्री भूसाल र प्रदेश मन्त्रीहरुबीच भएको बैठकपछि भएका ५ वटा महत्वपूर्ण निर्णय गरिएका छन्। जसमा सबै प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट कम्तीमा २० प्रतिशत कृषिमा विनियोजन गर्न प्रदेश मन्त्रीले पहल गर्ने र सोही अनुपातमा स्थानीय सरकारलाई पनि कृषि क्षेत्रमा बजेट छुट्याउने सहमति भएको छ।
आगामी वर्षको बजेटमा समावेश गनुपर्ने कृषि तथा पशुपन्छी क्षेत्रका कार्यक्रम र त्यसमा संघ र प्रदेशले गर्ने बजेट विनियोजनका सन्दर्भमा प्रदेश सरकारले खाका बनाएर संघ सरकारलाई बुझाउने पनि सहमति भएको छ।
त्यस्तै, कोरोनाका कारण कृषि तथा पशुजन्य क्षेत्रमा भएको क्षतिको आंकलन र राहतको प्रस्ताव शनिबारसम्ममा सबै प्रदेश कृषि मन्त्रालयले संघीय कृषि मन्त्रालयलाई उपलब्ध गराउने पनि निर्णय भएको छ। केन्द्र सरकारबाट स्वीकृत राहत प्याकेजमा प्रदेश सरकारले रकम थप गरेर किसानलाई राहत उपलब्ध गराउन सक्नेछन्।
प्रदेश मन्त्रीहरुसँगको छलफलमा कृषि तथा पशुजन्य वस्तुको उत्पादन, ढुवानी, र बिक्री वितरणलाई सहज बनाउन संघिय कृषि मन्त्रालयले गृह मन्त्रालयसँग आवश्यक समन्वय र सहकार्य गर्ने पनि सहमति भएको छ।
शुक्रबारको बैठकमा कोरोना भाइरसका कारण कृषि र पशुपन्छी क्षेत्रमा परेको समस्या, कृषि उपजका बजार पहुँचको अवस्था, किसानलाई राहत तथा अबको कृषि योजना र बजेट तथा प्राथमिकताबारे छलफल भएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।