एजेन्सी– कोरोना भाइरस (कोभिड–१९)को महमारीलाई नियन्त्रणमा राखेको लाभ लिँदै दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले त्यहाँको संसदीय निर्वाचनमा विशाल जित हात पारेका छन्।
कोरोना महामारी सुरु भएयता राष्ट्रिय चुनाव गराउने दक्षिण कोरिया पहिलो राष्ट्र हो। कडा सुरक्षा र समाजिक दूरीका उपाय अपनाउँदै बुधबार कोरियामा संसदीय चुनाव भएको थियो।
राष्ट्रपति मुनको प्रजातान्त्रिक पार्टीले कुल तीन सय संसदीय क्षेत्रमध्ये १६३ मा जित हात पारेको छ। पार्टीको भातृ समूह प्लेटर्फम पार्टीले १७ सिट जितेसँगै कुल १८० सिट सत्तारुढ दललाई प्राप्त भएको छ।
कुल ३५ पार्टीले संसदीय चुनावमा भाग लिएको भए पनि मुख्य प्रतिस्पर्धा चाहिँ वामपन्थी झुकाव राख्ने डेमोक्र्याटिक पार्टी र विपक्षी दल यूनाइटेड फ्यूचर पार्टी चल्यो।
संसदीय चुनावको १६ वर्षमा वामपन्थी झुकाव राख्ने पार्टीले बहुमत ल्याएको यो पहिलो पटक हो।
राष्ट्रपति मुनको पार्टीका लागि गत जनवरीमा सम्भवाना राम्रो थिएन। दक्षिण कोरियाको अर्थतन्त्र सुस्त भएको थियो। उत्तर कोरियासँगको वार्ता अवरुद्ध थियो। समाचार शीर्षक शृंखलावद्ध राजनीतिक काण्डका मात्रै हुन्थे।
तर, देशले आक्रामक सम्पर्क पहिचान (ट्रेसिङ) र परीक्षण (टेस्टिङ) गरेर कोरोना भाइरसको महामारीलाई जित्न सफल भयो। गत फ्रेव्रुअरीको अन्त्यतिर दैनिक ९ सय संक्रमित भएकोमा त्यसलाई ३० भन्दा कममा झार्न सरकार सफल भयो।
संक्रमितको संख्या १० हजार ६ सय १३ पुगे पनि मृत्यु भने २ सय २९ जनाको मात्रै भयो।
यसैलाई मुनको पार्टीले चुनावी प्रचार अभियानको केन्द्रमा राख्यो। यसकै कारण मुनको सरकारले बहुमत ल्याउन सफल रह्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।