काठमाडाैं- पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा लण्डनबाट आएका एकै परिवारका २ जनामा काेराेना भाइरस (कोभिड- १९)काे संक्रमण देखिएकाे छ। बैशाख १ गते आरडिटी विधिबाट परीक्षण गर्दा परिवारका तीनै जनामा काेराेना पाेजिटिभ देखिएकाे थियाे। तर, पिसीआर विधिबाट थप परीक्षण गर्दा दुई जना (५८ वर्षीया पुरुष, ८१ वर्षीया महिला)मा मात्र पोजेटिभ देखिएको छ भने बाँकी १ जनाको रिपाेर्ट नेगेटिभ आएकाे छ।
सनसिटी अपार्टमेन्टका २ जनामा कोरोना पोजिटिभ देखिएपछि प्रशासनले उक्त अपार्टमेन्टमा आवतजावत पूर्ण बन्द गरेको छ। उक्त क्षेत्रमा प्रहरीले अपार्टमेन्टका साथै कोलोनीसमेत बन्द गरेको छ।
पाटन अस्पतालमा भर्ना गरिएका तीनमध्ये दुई जनामा काेराेना भाइरस संक्रमण भएकाे पुष्टि मंगलबार भएको हाे। सनसिटीका पाँच ब्लक मध्ये उनीहरु ‘ए’ ब्लकमा बस्दै आएका थिए।
उनीहरु चैत ५ मा बेलायतबाट आएका हुन्। अपार्टमेन्टका बस्ने अन्यकाे पनि काेराेना परीक्षण सुरु भएकाे छ।
परीक्षण आजैबाट सुरु गरिएको हाे। काेराेना पाेजिटिभ देखिएकाहरुसँग सम्पर्कमा आएकाहरुकाे ट्रेसिङ पनि सुरु भएकाे छ। अपार्टमेन्टका पाँच ब्लकमा ४ सय बढी परिवार बस्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।