काठमाडौं - नेकपा नेता तथा पूर्वमन्त्री जनार्द्धन शर्मा 'प्रभाकर’ खरो स्वभावका छन्। त्यो स्वभावका लाभहानी दुवै होलान्। तर शर्माको यो स्वभाव उनको परिचय बनेको छ। चित्त नबुझेका कुरामा उनी तुरुन्तै प्रतिक्रिया जनाइहाल्छन्। त्यसले कहिलकाहिँ हानी गर्ला। जब त्यो स्वभावके छायाँ उनको काममा पनि देखिन्छ। त्यतिबेला भने उनलाई लाभ पुग्छ। यही स्वभावका कारण जस्तोसुकै परिस्थितिमा पनि आफूलाई सक्रिय बनाइराख्छन्।
सरकारले लकडाउन घोषणा गरेपछि अधिकांस नेताको दैनिकी फेरिएको छ। भौतिक सक्रियता घटाएका छन्। तर शर्माले त्यसलाई पनि जारी राखेका छन्। सरकारले चैत १२ गतेदेखि लकडाउन गर्ने घोषणा गर्यो। यसको प्रत्यक्ष मारमा गरिखाने वर्ग पर्योत। धेरै मजदुर अलपत्र परेपछि उनीहरुलाई गन्तव्यमा पुर्या्उन उनले सहयोग गरे।
मेकिडल सामाग्रीको अभाव देशभरि थियो। उनको निर्वाचन क्षेत्र भएको कर्णाली प्रदेशमा मेडिकल सामग्री सरकारी तवरबाट पुग्नेमा आशंका थियो उनलाई। किनभने विकासलगायतका विषयमा कर्णाली प्राथमिकतामा नपरेको भन्दै वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग पटकपटक गुनासो गरिसकेका छन्। एकपल्ट त कर्णालीका सांसदहरु सामूहिक रुपमा प्रधानमन्त्री ओलीकहाँ पुगे। जसको नेतृत्व उनले नै गरेका थिए।) यही कारण उनी आफैंले मेडिकल सामग्री बटुलबाटुल गरेर कर्णाली प्रदेश लिएर गए।
कर्णालीका सुर्खेत, जुम्ला र रुकुमको चौरझारीमा विभिन्न उद्योगी व्यवसायीको सहयोगबाट उनले मेडिकल सामाग्री पुर्याए । कोरोना नियन्त्रण र रोकथाका लागि पार्टीले कसरी भूमिका खेल्ने भन्ने विषयमा कर्णाली प्रदेश सचिवालयको भिडियो वैठक गरे। बैठकले कोरोना तयारी तथा रोकथामका लागि आवश्यक तयारीसँगै राहत वितरण कार्यलाई प्रभावकारी बनाउने निर्णय गर्यो।
लकडाउनकै बेला शर्माले चितवनको कोरोना अस्थायी अस्पतालले गरेको उपचारका सम्बन्धमा पनि अवलोकन गरेर फर्किए।
सरकारले लकडाउन घोषणा गरेपछि अलपत्र परेका श्रमिक, मजदुर, सर्वसाधरण गरी ९० समूहलाई सुरक्षित रुपमा सम्बन्धित जिल्ला पुर्याएको शर्माले बताए। ‘सरकारले एकाएक लकडाउन घोषणा गरेपछि श्रमिक मजदुरले लकडाउन बारे जानकारी पाएनन्। लकडाउन भन्ने वित्तिकै सुरुमा सर्वसाधरण आत्तिए,’ शर्माले भने, ‘अब के हुन्छ, लकडाउन भनको के हो? बुझेनन्। आत्तिए अलपत्र परे।' सर्वसाधरण घर जाँदाजाँदै बाटोमा लकडाउन भयो । गाडिले बीचमै अलपत्र पारिदियो। हप्ता दिनसम्म उनीहरुलाई सुरक्षित तवरले गन्तव्यमा पुर्याउन सहयोग गरेको शर्माले बताए।
पहिलोपटक लगाएको लकडाउनमा धेरै अलपल परेका सर्वसाधरणलाई सम्बन्धित जिल्ला पठाउन सहयोग गरेपनि त्यो संख्या धेरै भएपछि अहिले उनी रोकिएका छन्। सलैलाई यस्तो अवस्थामा पुर्यापउन विकल्प सरकारसँग पनि छैन। व्यक्तिगत प्रयास त एउटा अभियान मात्रै न हो। आफूलाई सम्बिन्धित जिल्ला पठाइदिन आग्रह गर्दै २५ समूह नियमित सम्पर्क गरिरहेको शर्माले बताए। नेपाल-भारत सीमामा अलपत्र परेका नेपालीले समेत शर्मालाई फोन गरेर प्रवेश गराउन सहयोग मागिरहेका छन्। नेपाल प्रवेश गराउन सम्भव नभएपछि पार्टी र मन्त्रीलाई फोन गरेर भारतमै क्वारेन्टाइनमा बस्ने व्यवस्थाका पहल गरेको शर्माले बताए।
आफ्नो जिल्लामा कृषि, पशुपालनलगायत दैनिक जनजीवन प्रभावित नहुनेगरी छलफल गरेर फर्किएको शर्मा बताउँछन् । ‘लकडाउन भनिएपनि गाउँघरमा घरमै बस्दा जीवन चल्दै घाँस, दाउँरा, पानीपधेंरो र मेलापातमा जानैपर्छ,’ शर्मा भन्छन्, 'गाउँलाई समेत सानासाना समूह बनाएर आ–आफ्नो टोलमा कृषकमा जनजीवन प्रभावित नहुनेगरी काम गर्ने वातावरण मिलाइयो।’ रुकुम जिल्लाको सुरक्षा परिषदको बैठक बोलाएर कोरोना नियन्त्रण र रोकथामका साथै संक्रमण फैलिएपछि उपचारका लागि कसरी व्यवस्था गर्ने ? भन्ने सम्बन्धमा सरोकारवालासँग छलफल गरेर फर्किको उनले बताए।
ऊर्जामन्त्री हुँदा कमाएका थिए चर्चा
केही वर्ष पहिले उर्जा मन्त्रालयको जिम्मेवारीमा हुँदा शर्मा पार्टीभित्र मात्र होइन, आम जनतामाझ पनि चर्चित भए। कुनै समय १७\१८ घण्टा लामो लोडसेडिङको अन्त्य उनकै नेतृत्वमा भयो। आम जनतामाझ उनले बिद्युत प्राधिकरण प्रमुखको जिम्मेवारी दिएका कुलमान घिसिङले पाए। उनलाई ल्याएर लोडसेडिङ अन्त्यका लागि निर्धक्क काम गर्ने व्यवस्था मिलाउने शर्माको भूमिकाको प्रशंसा बौद्धिक सर्कलमा बढी भयो।
त्यसपछि उनी उत्तर र दक्षिणतिर फर्किएका तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रलाई एकै ठाउँमा ल्याउन सक्रिय रुपमा लागिपरे। एकले अर्कोलाई देखि नसहनेहरु थिए दुवै पार्टीमा। तर, दुवै पार्टीका अध्यक्षलाई संवाद गर्ने वातावरण बनाउन अन्य केही नेताका साथै उनको भूमिका पनि महत्वपूर्ण थियो। 'एकताको गर्दा शिर्ष नेतालाई नजिकबाट बुझ्ने अवसर पाएँ,’ शर्मा अनुभव सुनाउँदै भन्छन्, 'शिर्ष नेताहरु भावनात्मक रुपमा अत्यन्तै संवेनशील हुनुहुँदो रहेछ। सानो कुराले जोड्ने र टुक्रिने। एकता हुँदाको पछिल्लो अवस्थामा विदेशमा हुँदा झण्डै एकता भाडिँएको थियो।' आफूले शिर्ष नेतालाई जोड्ने काम नगरेको भए एकताले सार्थकता नपाउने उनको दाबी छ।
एकतामा जोडबलका साथ लागेका शर्मा पार्टी एकता गरेपनि पछिल्लो समय शर्मा उतिसारो खुसी छैनन्। सरकारले प्रभावकारी काम गर्न नसकेको र पार्टी भद्रागोल भएको प्रति शर्माको अभिव्यक्तिमा असन्तुष्टि झल्किन्छ। ‘अहोरात्र खटेर पार्टी एकताको पहल गरियो । जनताले अपेक्षा गरे अनुसार काम भएन,’ उनी भन्छन्, ‘यही पार्टीबाट देश राष्ट्रलाई समृद्ध बनाउनुको विकल्प छैन।’ तर, एकिकृत पार्टीलाई व्यवस्थित बनाउँदै समाजवादको यात्रामा जाने विषयलाई शर्मा दोहोर्याउन छोड्दैनन्।
काम गर्न सत्ता चाहिँदैन
आफूलाई सत्तामा हुनु र नहुनुले कुनै अर्थ नराख्ने बताउँदै शर्माले काम हुनु र नहुनुले मात्र अर्थ राख्ने बताउँछन्। 'दुनियाँका आ-आफ्नै दर्शन र विचार हुन्छन्। सोहीअनुसार आफूलाई समाहित गर्छन्,’ शर्मा भन्छन्, ‘मेरो स्वभाविक काम परिणाम ल्याउने हुन्छ। जनतालाई केही न केही सेवा होस् भन्ने मान्यता नै मेरो दर्शन हो।’ व्यक्तिगत लाभ भन्दा जनतालाई हुने विषयमा केन्द्रीत हुने उनी बताउँछन्।
सत्ता बाहिर भएका शर्मा समग्र कर्णाली प्रदेश र आफ्नो निर्वाचन क्षेत्र पश्चिम रुकुममा केन्द्रीत छन् । पार्टीले पनि कर्णली प्रदेशमा जिम्मेवारी दिएकाले प्रदेशका १० जिल्लामा केन्द्रीत छन् । सात प्रदेशमध्ये कर्णाली प्रदेश सबैभन्दा पछाडी छ। आफू त्यहाँ सम्भावानाको खोजी गरिरहेको उनी बताउँछन्। कर्णाली प्रदेश सरकारलाई सहयोग पुग्नेगरी थिङकट्यांकको अवधारणा अगाडि सारेका छन् उनले। प्रदेशका सम्भावनाहरु के-के छन्< चुनौतिहरु के-के हुन्< भन्ने विषयमा थिङट्यांकले काम गरिररहेको उनी बताउँछन्।
पूर्वी रुकुम र पश्चिम रुकुममा जिल्ला विभाजित भएपछि शर्मा पश्चिम रुकुमबाट प्रतिनिधित्व गर्छन्। पश्चिम रुकुमका ३ नगरपालिका र ३ गाउँपालिकाको विकासमा उनी केन्द्रीत छन् । सत्ता बाहिर हुँदा फुर्सद हुने भएकाले आफ्नो निर्वाचन क्षेत्रमा प्रतिवद्ध भएर काम गरिरहेको बताउँछन्। ‘हरेक महिना आफ्नो निर्वाचन क्षेत्र जाने पर्यत्न गरिन्छ,’ प्रभाकर भन्छन्, 'कुनै महत्वपूर्ण काम नहुँदा हरेक महिनाजसो आफ्नो निर्वाचन क्षेत्र जान्छु। जनताका गुनासा सुन्ने र विकास निर्माणमा के कस्तो प्रगति भए भन्ने रिपार्ट लिएर फर्किन्छु।’
सानैदेखि जुझारु
उमेरले झण्डै ६० वर्ष पुग्न लाग्दा पनि उनी २०÷२५ वर्षे युवा जस्तै सक्रिय र जुझारु देखिन्छन्। आफूलाई लागेको कुरा स्पष्ट राख्छन्। ‘मलाई कुनै कुरा घुमाएर कुटनीकि तरिकाले गर्न आउँदैन,’ शर्मा भन्छन्, 'आफूलाई लागेको कुरा पार्टी अध्यक्षलाई पनि सिधै भन्ने गर्छु। मनमा छलकपट षड्यन्त्र नहुने भएकाले नेताहरुले त्यति चित्त दुखाउदैनन्।’
२०१९ सालमा रुकुमको रेसी गाउँमा मध्यम वर्गीय परिवारमा शर्माको जन्म भएको हो। त्यहाँ दरवारसँग सिधा सम्बन्ध भएका ठकुरीको दबदबा थियो। 'हाम्रो गाउँमा मात्र होइन जिल्लाका धेरै ठकुरीहरुको सम्बन्ध सिधा दरवारसँग हुन्थ्यो,’ शर्मा भन्छन्, 'हामीलाई अनाहकमा कुट्दा पिट्दा पनि केही बोल्न पाइदैन थियो। उनीहरुको सामन्ती व्यवहारले गर्दा मलाई विस्तारै विद्रोही बनाउँदै लग्यो।'
आफू सानैदेखि विद्रोही स्वभाव रहेको र अन्याय सहन नसक्ने उनले बताए। कसैलाई हेपेको देखेमा वा आफूमाथि आइलाग्दा प्रतिकार गर्ने आफ्नो स्वभाव रहेको उनी बताउँछन्। उनका पिता २०२२ सालमै रुकुम जिल्ला कम्युनिष्ट पार्टीका सस्थापक सदस्य भएकाले नै शर्मामा सानैदेखि कम्युनिष्ट विचारको छाप पर्न गयो। १४ वर्षकै उम्मेर हुँदा २०३४ सालमा तत्कालिन कम्युनिष्ट पार्टी चौमको सदस्यता लिएर राजनीतिमा होमिएका थिए।
२०४८ सालमा तत्कालिन जनमोर्चाले निर्वाचनलाई उपयोग गर्ने नीति लिएपछि २९ वर्षको उम्मेरमा उम्मेदवार उठे। तर, निर्वाचनमा थोरै मतले पराजित भए । माओवादी २०५२ सालमा जनयुद्ध सुरु गरेपछि प्रत्यक्ष युद्धमोर्चामा सहभागी भए। माओवादीले २०५७ सालमा जनमुक्ति सेनाको अवधारणा ल्याएपछि जनमुक्ति सेना तालिम लिएर युद्ध मोर्चामा सहभागी भए।
सुदूरपश्चिम क्षेत्रमा माओवादी जनयुद्धममा असफल भइरहेको अवस्थामा प्रभाकर ब्युरो इन्चार्ज र सेनाको कमाण्डर भएर काम गरे। सेतीमहाकालीमा जति ठाउँमा माओवादीले 'कारबाही' गर्यो। आफ्नै नेतृत्वमा भएको उनी बताउँछन्। जनयुद्धमा प्रभाकर सेनाको डेपुटी कमाण्डर समेत भइ जनयुद्धभर सहभागी भए। तर, माओवादी शान्ति प्रक्रियामा आएपछि शान्ति, ऊर्जा र गृह मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।