काठमाडौं– धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिता अन्तर्गत महेन्द्रनगर युनाइटेड क्वालिफायरमा पुगेको छ। मंगलबार भएको एलिमिनेटरमा सिवाइसी अत्तरियालाई १५ रनले पराजित गर्दै महेन्द्रनगरले क्वालिफायरमा स्थान पक्का गरेको हो।
अब महेन्द्रनगरले फाइनल प्रवेशका लागि काठमाडौं गोल्डेन्ससँग प्रतिस्पर्धा गर्नेछ। काठमाडौं र महेन्द्रनगरबीचको विजेताले उपाधिका लागि धनगढी टिम चौराहासँग प्रतिस्पर्धा गर्नेछ। धनगढीले मंगलबार नै भएको खेलमा काठमाडौंलाई १ विकेटले हराएर फाइनलमा स्थान पक्का गरेको थियो।
महेन्द्रनगरले दिएको १ सय ३१ रनको लक्ष्य पछ्याएको अत्तरियाले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय १५ रन मात्र जोड्य सक्यो। अत्तरियाका लागि विपिन चन्द्रले नटआउट २८ रन जोडेपनि जितका लागि पर्याप्त हुन सकेन। उनले २९ बलमा १ छक्का प्रहार गरे। त्यसअघि दीपेन्द्रसिंह ऐरी २७ रनमा रनआउट भए। उनले ३५ बलमा १ छक्का प्रहार गरे। कप्तान सुवास खकुरेलले २५ बलमा २ चौका र १ छक्काको मद्दतमा ३० रन जोडे। ओपनर प्रेम तामाङ ५ रनमा आउट हुँदा गौरव चिकतार १४ रनमा आउट भए।
बलिङतर्फ महेन्द्रनगरका रोबिन क्षेत्रीले २ विकेट लिए। उनले ४ ओभरमा १६ रन मात्र खर्चिए। क्षेत्री खेलको म्यान अफ दिम म्याच भए। भुवन कार्कीले १ विकेट हात पारे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३० रन जोड्यो। उसका लागि आरिफ शेखले ३५ रन जोडे। पुनित मेहराले २६ र करण केसीले नटआउट २४ रन जोडे। करणले १४ बलमा ३ चौका र १ छक्का हिर्काए। रोहित कुमार पौडेलले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
बलिङतर्फ अत्तरियाका कमलसिंह ऐरीले २ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।