नेपालगन्ज– प्रदेश ५ मा पहिलो पटक अक्सन प्रणालीमा हुन लागेको नेपालगन्ज कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने टिमका मालिकहरु र आयोजक ग्रिन इभेन्टोसँग सोमबार लिखित सम्झौता भएको छ।
आगामी वैशाख ३ देखि १२ गतेसम्म कोहलपुर क्रिकेट मैदानमा हुने प्रतियोगिताका लागि जिसान बाँके ब्लास्टरका तर्फबाट श्याम चौधरी, आशिर्वाद पेन्ट्स् पाल्पा योद्धाजका तर्फबाट दुर्गा प्रसाद चौलागाईं, अर्घाखाँची सिमेन्ट्स बर्दिया टाइगर्सका तर्फबाट दिवस मल्ल, पप्पु कन्स्ट्रक्सन रोल्पा गोरिल्लाजका तर्फबाट दिपेन्द्र थापा, एभ्रोल टिएमटी लुम्बिनी यात्रीजको तर्फबाट आशीष कुमार चौधरी, दंगाली गोर्खाजका तर्फबाट अर्जुन पाण्डे र आयोजक ग्रिन इभेन्टोका प्रबन्ध निर्देशक मोहम्मद रफी इराकीबीच सम्झौता भएको हो।
गत चैत २० गते भएको टिम अक्सनमा बाँके ब्लास्टर सर्वाधिक २ लाख ४० हजार रुपैयाँमा बिक्री भएको थियो। त्यसैगरी लुम्बिनी १ लाख ५० हजार, रोल्पा १ लाख ३० हजार, पाल्पा १ लाख १० हजार, दंगाली गोर्खाज १ लाख ३० हजार, बर्दिया १ लाख ७० हजार रुपैयाँमा बिक्री भएका थिए।
त्यसैगरी आयोजक ग्रीन ईभेन्टोले हिजै ६ टिमका प्रशिक्षकहरुको नाम समेत सार्वजनिक गरेको छ। लुम्बिनीका लागि दिपेन्द्र प्रताप सिंहलाई नियुक्त गरेको छ। त्यस्तै बाँकेका लागि दुर्गा सेन, पाल्पाका लागि इरफान हुसैन सैयद, बर्दियाका लागि सञ्जु क्षेत्री, दंगाली गोर्खाजका लागि रुपेश शर्मा, रोल्पाका लागि जमिल अहमद अन्सारी नियुक्त भएका हुन्।
टी–२० फरम्याटमा खेलाइने प्रतियोगितामा सहभागि प्रत्येक टिमको सन्देश गीत समेत सार्वजनिक गरिएको छ। प्रत्येक टिमका लागि छुट्टाछुट्टै गीतका रचनाकार डा ऋषि भटट् रहेका छन् भने गायन डा अभिशेख अर्जेलको रहेको छ। नेपालगन्ज कपको भिडियो र गीत यस अघिनै सार्वजनिक भैसकेको छ।
प्रतियोगिताको विजेताले १ लाख १० हजार तथा उप विजेताले ६० हजार रुपैयाँ पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।