प्रिय प्रधानमन्त्री,
कोरोनाले विश्वकै झ्यालढोका बन्द गरिदिएको यो बखत तपाईंचाहिँ मुखसमेत बन्द गरेर बस्नुभएको छ। भातृत्व बढाउनुपर्ने यो दुःखका क्षणमा तीतो बचन बोल्न मलाई पनि मन छैन। तपाईंको स्वास्थ्य अवस्थाबाट ज्ञात मेरो पनि शुभेच्छा प्रशस्त आराम गर्नुहोस् भन्ने नै थियो, छ र हुनेछ। ज्यानले आराम गरे पनि कान र मुख खुलै राख्नुहुन्छ भन्ने अपेक्षासहितको शुभेच्छा हो खासमा यो।
जनताका गुनासो सुन्ने कान र उनीहरुलाई ढाडस दिने बोलिबचन मात्रै बन्द गर्नुभएको हो कि भन्ने लाग्न थालेको छ (माफ गर्नुहोस्, यो विषम परिस्थितिमा एक निम्छरो नागरिकलाई यस्तो महसुस भएकोमा)। शासन आफैंले गरिरहेको महसुस पनि बेलाबखत गराउनु हुन्छ। अस्ति सार्क देशको भर्चुअल सम्मेलनमा सहभागी भएर गराउनुभएको थियो, हिजो मन्त्रिपरिषद्को बैठकको अध्यक्षता गरेर।
हिजोको बैठकमा तपाईंले एउटा निर्णय गरिदिनुभयो, र्यापिड किटबाट सुदूरपश्चिमका दुई जिल्ला र बागलुङमा कोरोना टेस्ट गरिने। यो निर्णयले मलाई खुसी र पीरको बीचमा ल्याएर छाडिदिएको छ। खुसी हुनुपर्ने हो, किनभने सरकारले केही गर्दैछ। पीर लागिरहेको छ, जसरी हुन गइरहेको छ, त्यो सही छैन। यति हुँदा पनि बोल्न मन थिएन, तपाईंजस्तै।
तर, एकाएक मार्टिन निमोलरको बहुचर्चित कविता दिमागमा आयो। मैले उहिल्यै पढेको हुँ, त्यसैले बिर्सी पनि सक्थें होला। केही दिनअघि तपाईंकै सचिवालय सदस्यले फेसबुक पोस्ट गरेकाले सम्झिएँ। कविताभाव यस्तो छ, 'त्यसपछि उनीहरु मलाई नै खोज्दै आए, मेरो लागि बोलिदिने कोही थिएन।'
हो, मलाई पनि एकाएक त्यस्तै महसुस भयो। त्यो र्यापिड टेस्ट मेरै गाउँघर (सुदूरपश्चिम) मा हुँदैछ। जति विश्वबन्धुत्वको कुरा गरे पनि आफ्नै भनेपछि बढी माया लाग्दो रहेछ (जस्तो, तपाईंलाई आफ्ना गुटका नेताहरुको लाग्छ नि, त्यस्तै सम्झिनुहोस् न)।
यस्तो महसुस हुनुको पहिलो कारण थियो- र्यापिड टेस्टका लागि प्रयोग हुने किटको गुणस्तर। जसको बारेमा यतिबेला ठूलो बहस चलिरहेको छ। केही दिनअघि तपाईंकै नेताहरुको प्रिय ओम्नी ग्रुपले निगाह गरेको उक्त किटको गुणस्तर परीक्षण आजको दिनसम्म हुन सकेको छैन। यो किट ल्याउने स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकारले केही दिनअघि नै र्यापिड किटको गुणस्तरमाथि प्रश्न गरेका थिए। प्रयोग नगर्न सार्वजनिक आह्वान गरेका थिए।
त्यसपछि केही माइक्रोबाइलोजिष्टसँग सोधखोज गरेको थिएँ। उनीहरुले भयावह दृश्य बनाइदिए दिमागमा। यसै पनि र्यापिड किट कोरोना भाइरस पत्ता लगाउनका लागि भरपर्दो उपाय रहेनछ, त्यसमाथि चीनबाट ल्याइएका किटको गुणस्तर परीक्षण भएको छैन। यसो बाहिरतिरका समाचार पढ्दा चीनबाट मगाएका किटहरु केही देशले फर्काएको ताजा उदाहरण भेटिँदारहेछन्।
आजको मितिसम्म सुदूरपश्चिम कोरोनाबाट सबैभन्दा बढी प्रभावित क्षेत्र हो। भारत आक्रान्त भइरहेकाले सबैभन्दा बढी सम्भावित हो भनेर यसअघि नै सम्झाइएको हो, तपाईंको कानमा पर्यो कि परेन थाहा छैन। त्यसका लागि प्रशस्त तयारी हुनुपर्थ्यो। त्यो भएन। आउनेजति सबैलाई क्वारेन्टाइनमा राख्ने, हरेक जिल्ला र स्थानीय तहहरु रेकर्ड राखेर निगरानी गर्ने जस्ता विषयमा चुके। भारतमा बेरोजगार भएपछि हालसालै देश फिरेका एक लाख ४० हजार सुदूरपश्चिमेलीहरु कुन मेलामा घुमिरहेका छन्? त्यसबारे राज्यलाई थाहा छैन। यस्तो डरलाग्दो परिस्थितिमा राज्यको भूमिका कस्तो हुनुपर्छ? संघको कस्तो, प्रदेशको कस्तो र स्थानीय कस्तो? यसको उत्तर खोजिरहेका छन् नागरिक। तर, तपाईं त मौनव्रतमा हुनुहुन्छ।
सुदूरपश्चिममा आतंकले घन्टी बजाइसकेको वर्तमान परिस्थितिमा मन्त्री परिषद्ले त्यहाँका लागि जम्माजम्मी एउटा निर्णय गर्यो, र्यापिड किटबाट कोरोना जाँच गरिने। महाकालीमा हेलिने नागरिक र महकालीपारि नै हेलाहोचो खेपिरहेका नागरिक र दुईछाक खान हरेक दिन हातपाउ खियाउनुपर्ने नागरिकका बारेमा पनि मन्त्री परिषद्ले केही निर्णय गर्नुपर्थ्यो। त्यो क्रन्दन तपाईंको कानसम्म अझै पुगेको छैन सायद। नत्र कसरी मौन बस्न सकिन्छ?
र्यापिड किटबाट सम्भावित कोरोनाका बिरामीको परीक्षणका विषयमा तपाईंहरुले क्याबिनेटबाट एउटा निष्कर्ष पनि निकाल्नुभएछ। मेरो बुझाइमा त्यो यस्तो रहेछ, पहिलो चरणमा र्यापिड किटबाट जाँच्ने, जतिमा कोरोना पोजिटिभ देखिन्छ, फेरि पिसिआर प्रविधिमा जाँच्ने। यो तरिका सुन्दा कर्णप्रिय लाग्यो। तर, गुणस्तर जाँच्दै नजाँचिएको र्यापिड किटले नेगेटिभलाई पोजेटिभ मात्रै देखाउला त? दिमागमा तुरुन्तै प्रश्नले कब्जा जमायो।
नेगेटिभलाई पोजेटिभ देखायो भने त ठिकै छ। उसलाई आइसोलेसनमा राखेर फेरि जाँचौंला। यो विधिअनुसार नेगेटिभ आए घर पठाइदिने हो। पोजेटिभलाई नेगेटिभ देखायो भने नि? त्यस्तो परिस्थितिमा उसको पुनः परीक्षण हुने छैन। आइसोलेसनमा रहने छैन। निर्धक्क भएर समाजमा घुमफिर गर्नेछ। यसो गर्दा आइलाग्ने जोखिमबारे बोल्नुपर्थ्यो कि पर्दैनथ्यो?
र्यापिड किटबाट हुने परीक्षणबाट हामी त्यसैले आतंकित छौं। यसकारण हामीले सुरुदेखि नै प्रश्न गरिरहेका छौं, र्यापिड किटको गुणस्तर जाँचेर किन नकिनेको? गुणस्तर जाँच्दा यसको अवगुण थाहा हुन्थ्यो (केही न केही अवगुण सबै र्यापिड किटमा हुन्छ)। यसमा पोजेटिभलाई नेगेटिभ देखाउने अवगुण बढी छ कि नेगेटिभलाई पोजेटिभ देखाउने? त्यो पनि थाहा लाग्थ्यो।
हुन त तपाईंले मेडिकल सामाग्री किन्न जिम्मा दिएका मन्त्रीहरुलाई हतार थियो। तीन घन्टाभित्र ठेकेदार छान्नुपर्ने, जसरी पनि ओम्नी ग्रुपलाई ठेक्का पार्नुपर्ने र उसले बटुलबाटुल गरेका जस्तोसुकै सामग्री प्लेनमा खाँदेर नेपाल ल्याइहाल्नुपर्ने। यो तीव्रगतिको काममा गुणस्तर जाँच्ने सुविधा कहाँ थियो र? मजस्ता निम्छरा नागरिकलाई तपाईं यहीँनेर बोल्नुपर्छ जस्तो लागेको हो। महाविपत्तिको समयमा नागरिकका लागि आफ्नै ज्यान हत्केलामा राख्नुपर्ने शासकले खान खोजेको कमिसनको अन्तर्यका विषयमा तपाईंको एक बचन सुन्न चाहेको हो।
विश्व मेरै मुठ्ठीमा छ भन्ने अहंकार पाल्ने देश र शासकले कोरोनासँग घुँडा टेकेको अवस्था छ। त्यस्तो समयमा तपाईंले गर्नसक्ने काम सिमित छन्। त्यो अवगत नै छ। कोरोनाका अघि घुँडा टेकेका शासकले समेत यो लडाइँमा आफूसँगै रहेको अनुभूति नागरिकलाई दिइरहेका छन्। त्यस्तोचाहिँ खोजेको हो।
आत्मबलको महिमा तपाईंका अघि गाउनु भनेको 'आमालाई मामा चिनाए' जस्तो हो। रोगले निरन्तर प्रहार गर्दा पनि आत्मबलको हतियारले तपाईं प्रतिकूल स्वास्थ्यमाथि विजय प्राप्त गरिरहनुभएको छ। त्यसैले नागरिकलाई म साथमै छु भनेर एक वचन बोलिदिए हुन्थ्यो लागेको हो। तपाईं गर्नसक्ने काम सिमित छन्, तर तपाईंको बोलीको महत्व यतिबेला असिमित छ। यति बोध भएर पनि किन बोलिरहनु भएको छैन? जान्न खोजेको यत्ति हो।
तपाईंले यतिबेला बोल्नैपर्ने खास विषय पनि छ। कोरोना विरुद्धको लडाइँमा तपाईंले मैदानमा उतारेका जर्नेल/कर्नेलहरुमाथि संगीन आरोप लागेको छ। उनीहरु कोरोना विरुद्धका सिपाहीका लागि बलियो हतियार होइन, अर्थोपार्जनमा मग्न छन् भन्ने विषयले शान्त सहरमा कोलाहल छ। तपाईंबाट शासित नेपाल देशका नागरिकले पनि यस्तै अनुभूत गरिरहेका छन्। कोरोनाको आक्रमण बढ्दो छ, देशले गोलीगठ्ठा किन्न सकेको छैन। कसरी पार पाउने हो? यस्तै चिन्ताले लकडाउनमा पनि नागरिकलाई निद्रा परेको छैन। कसैको नियतको वा नियतिको शिकार भइएको हो? यसबारे तपाईं बोली सुन्न चाहने बढेका छन्। त्यसैले तपाईं बोल्नुपर्छ।
तपाईंसँग भाषणशिल्प छ। प्रस्तुति शैली कलात्मक छ। तपाईंलाई शब्द चयन र उखानटुक्काको सुन्दर संयोजन गर्न पनि आउँछ। तर यतिबेला केही सवालसहित यो देशका नागरिक तपाईंको बोली पर्खिरहेका छन्। उनीहरु जान्न चाहन्छन्, तपाईंलाई नागरिकले गरिरहेका प्रश्नको जवाफ दिन आउँछ कि आउँदैन? तपाईंलाई संकटको बेला ढाडस दिन आउँछ कि आउँदैन? सबैभन्दा पेचिलो प्रश्न, तपाईंलाई आफ्नै सरकारको छवि जोगाउने कदम चाल्न आउँछ कि आउँदैन?
त्यसैले प्रिय प्रधानमन्त्री, एक बचन बोल, यो संकटको घडीमा त्यही बोली हुनेछ अनमोल।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।