काठमाडौं– धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताका समूह चरणका १५ खेल सकिएका छन्। संघीय प्रहरी एकाइ कार्यालय धनगढीको मैदानमा समूह चरणका १३ खेलको नजिता आउँदा २ खेल वर्षाका कारण हुन सकेनन्।
समूह चरणमा काठमाडौं गोल्डेन्सले सवै खेल जित्दै क्वालिफायरमा स्थान बनायो। टिम चौराहा धनगढी दोस्रो हुँदै क्वालिफायरमा पुग्यो। तेस्रो भएको महेन्द्रनगर युनाइटेड र चौथो बनेको सिवाइसी अत्तरिया एलिमिनेटरमा पुगे। पाँचौ बनेको विराटनगर किंग्स र छैटौं बनेको रुपन्देही च्यालेन्जर्स भने समूह चरणबाटै बाहिरिए।
समूह चरणमा विदेशी खेलाडी हाबी बन्दा महँगो रकममा आवद्ध भएका घरेलु खेलाडीले भने फितलो प्रदर्शन गरे। अक्सनमार्फत चार खेलाडी सवैभन्दा बढी १ सय ५० हजार रुपैयाँमा आवद्ध भएका थिए।
जसमा सगर पुन रुपन्देही च्यालेन्जर्स, करण केसी महेन्द्रनगर युनाइटेड, बसन्त रेग्मी विराटनगर किंग्स र आरिफ शेख महेन्द्रनगर युनाइटेडमा महँगो खेलाडीका रुपमा आवद्ध भएका थिए।
सागरको रुपेन्देही समूह चरणबाटै बाहिरियो। सागरले ५ खेलमा ८४ रन मात्र जोड्न सके। अत्तरिया विरुद्धको पहिलो खेलमा डकआउट भएका सागरले काठमाडौं विरुद्ध १८ रन जोड्दा विकेट लिन सकेनन्। यस्तै विराटनगर विरुद्ध ५ रन जोड्दा उनले १ विकेट लिए। महेन्द्रनगर विरुद्ध उनले २८ रन जोडे भने १ विकेट लिए। धनगढी विरुद्धको अन्तिम खेलमा उनले प्रतियोगिताको सर्वाधिक ३३ रन जोड्दा १ विकेट लिए।
करण केसीले पनि महेन्द्रनगरका लागि उल्लेख्य प्रदर्शन गर्न सकेनन्। ३ खेलमा उनले १ विकेट मात्र लिन सके भने १ रन मात्र जोडे।
बसन्त रेग्मीको डिपिएल यात्रा राम्रो हुन सकेन। राष्ट्रिय टिमका कप्तान पारस र हङकङका कप्तान बाबर हायतसहित बसन्त जस्ता अनुभवी खेलाडी रहेको विराटनगर समूह चरणबाटै बाहिरियो। बसन्तले ५ खेलमा ४ विकेट लिए। धनगढी र काठमाडौं विरुद्ध २–२ विकेट लिएका उनले ३ खेलमा विकेट लिएनन्। तीन खेलमा ब्याटिङ गरेका उनले १६ रन मात्र जोड्न सके।
अर्का महँगा खेलाडी आरिफ शेखले प्रदर्शन अपेक्षाकृत हुन सकेन। उनले ३ खेलमा २४ रन मात्र बटुल्न सके। विराटनगर विरुद्ध २० रन जोडेका उनी धनगढी विरुद्ध शून्य रनमा आउट भए। रुपन्देही विरुद्ध पनि उनी ४ रनमै आउट भएका थिए।
यता रणनीतिक खेलाडीको रुपमा आवद्ध भएका खेलाडी मध्ये रुपन्देहीका शक्ति गौचनको प्रदर्शन पनि फिक्का रह्यो। उनले ५ खेलमा १ विकेट मात्र लिन सके भने ३० रन जोडे।
समूह चरणमा ९ खेलाडीले सय भन्दा बढी रन जोडेका छन्। जसमा विराटनगरका बाबर हायतले सवैभन्दा बढी १ सय ८६ रन जोडेका छन्। दोस्रो स्थानमा रहेका रुपन्देहीका प्रदीप ऐरीले ५ खेलमा १ सय ५६ र तेस्रो स्थानमा रहेका काठमाडौंका ज्ञानेन्द्र मल्लले ४ खेलमा १ सय ५५ रन जोडेका छन्। धनगढीका सुनील धमलाले ५ खेलमा १ सय ३८ र काठमाडौंका अमित श्रेष्ठले ४ खेलमा १ सय २२ रन जोडेका छन्।
बढी विकेट लिने खेलाडीमा अत्तरियाका शुभांकर उराव सहित काठमाडौंका रासिद खान र धनगढीका ललित राजवंशीले समान ९–९ विकेट लिएका छन्। शुभाकर र रासिदले ४–४ खेल खेल्दा ललितले ५ खेल खेले। अत्तरियाका कमलसिंह ऐरीले ४ खेलबाट ७ विकेट लिँदा विराटनगरका कप्तान पारस खड्काले ५ खेलबाट ७ विकेट हात पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।