बुटवल- कोरोना भाइरसको आंशकामा बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालको आइसोलेसनमा मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण रिर्पोट नेगेटिभ आएको छ।
कोरोना भाइरसको लक्षण देखिएपछि कारोना अस्पतालमा उपचारका लागि ल्याइएका रुपन्देहीको सैनामैना नगरपालिका ४ मुर्गिया सिसौडाँडा बस्ने ३४ वर्षीय बाबुराम थापाको रिर्पोट नगेटिभ आएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले जनाएको छ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर राजेन्द्र खनालले थापाको थ्रोट स्वाब परीक्षणका लागि आइतबार काठमाडौंस्थित राष्ट्रिय प्रयोगशाला पठाइएकोमा आज नेगेटिभ रिर्पोट आएको बताए।
अहिले उनको शव लुम्बिनी प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ। मृतक थापाको शव लिन उनका आफन्त तथा स्थानीय नआएपछि उनको शव शवगृहमा राखिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर खनालले जानकारी दिए।
दुबईमा रोजगारीका लागि रहेका उनी चैत्र ६ गते काठमाडाैं आएका थिए। काठमाडाैंबाट उनी ७ गते बसमा चढेर घर (मुर्गिया) आएका थिए। सुरुदेखि नै ज्वरो आएर बिरामी भएका उनी ५/६ दिनसम्म घरमै उपचार गराएका थिए।
१३ गते उच्च ज्वरो र सास फेर्न गारो भएपछि उनलाई बुटवलस्थित आइसोलिसनमा ल्याइएको थियो। शनिबारसम्म सामान्य हिडडुल गरेका उनको आइतबार बिहान एक्कासी स्वास्थ्य बिग्रिएको अस्पतालले जनाएको छ। उनलाई आइतबार दिउँसो एक बजे अस्पतालले मृत घोषणा गरेको मेसु खनालले जानकारी दिए। दुबईमा छदा उनले ट्याक्सी चलाउँदै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।