बुटवल- कोरोना भाइरस संक्रमण भएको आंशकामा बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालको आइसुलेसनमा मृत्यु भएका व्यक्तिको शव तथा परिवार व्यवस्थापनमा समस्या देखिएको छ।
कोरोना भाइरसको आंशकामा चैत १३ गते बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा ल्याइएका रुपन्देहीका ३४ वर्षीय व्यक्तिको आइतबार दिउँसो मृत्यु भएको थियो।
मृत्युपछि अहिले उनको शव आइसोलेसनमै राखिएको छ। अस्पतालमा उनकी श्रीमतीबाहेक अहिलेसम्म कोही पनि सम्पर्कमा नआएको अस्पतालले जनाएको छ। लुम्बिनी प्रादेशिक अस्पाताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रोजेन्द्र खनालले ती व्यत्तिको शव तथा उनकी श्रीमतीलाई व्यवस्थापनका लागि अहिलेसम्म कुनै पनि सम्पर्कमा नआएको बताए।
ती व्यक्तिको मृत्युपछि उनकी श्रीमती बेहोस अवस्थामा अस्पतालमा छट्पटाइरहेको र उनलाई सम्झाइबुझाई गर्न कोहि पनि नपुगेको उनले बताए।
'स्थानीय तथा जनप्रतिनिधिले अहिलेसम्म कुनै पनि खालको रेस्पोन्स गरेका छैनन्,' मेडिकल सुपरिटेन्डेन्ट खनालले भने, 'ती व्यक्तिको मृत्युपछि वातावरण सुनसान भएको छ।'
दुबईमा रोजगारीका लागि रहेका उनी चैत्र ६ गते काठमाण्डौ आएका थिए। काठमाडौंबाट उनी ७ गते बसमा चढेर घर (मुर्गिया) आएका थिए। शुरुदेखि नै ज्वरो आएर बिरामी भएका उनलाई ५/६ दिन सम्म घरमै राखेर उपचार गरिएका थियो।
चैत १३ गते उच्च ज्वरो र सास फेर्न गारो भएपछि उनलाई बुटवलस्थित सो अस्पतालको आइसोलेसनमा राखिएको थियो। हिजोसम्म सामान्य हिँडडुल गरेका उनको बिहान एक्कासी स्वास्थ्य बिग्रिएको अस्पतालले जनाएको छ। दिउँसो एक बजे अस्पतालले उनलाई मृत घोषणा गरेको मेसु खनालले जानकारी दिए। दुबईमा छँदा उनले ट्याक्सी चलाउदै आएको बताइएको छ।
'उनमा कोरोना संक्रमण छ/छैन भन्ने पुष्टि हुन बाँकी छ। परीक्षणका लागि आइतबार मात्र उनको नमूना केन्द्रीय प्रयोगशाला काठमाडौं पठाइएकाले मृत्युको कारण बताउन नसकिने मेडिकल सुपरिटेन्डेन्ट खनालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।