काठमाडौं- सरकारले थप एक साता लकडाउन लम्ब्याउने निर्णय गरेको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कोरोना भाइरसको संक्रमण फैलन नदिन लकडाउन थप एक साता लम्ब्याउने निर्णय गरेको हो।
'मन्त्रिपरिषद् बैठकले थप एक साता सम्म लकडाउन थप गर्ने निर्णय गरेको छ,' बैठकमा सहभागी एक मन्त्रीले भने, 'यससम्बन्धी थप निर्णय तत्कालै प्रवक्ताले सार्वजनिक गर्नुहुनेछ। तपाइहरूले थाहा पाइहाल्नुहुन्छ।' बैठक भर्खरै सकिएको हो।
उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले बन्दाबन्दी (लकडाउन) एक साता लम्ब्याउन मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेश गरेको थियो।
यस्तै मन्त्रिपरिषद् बैठकले समितिले नै प्रस्ताव गरेको अनुसार अप्रिल १५ सम्म हवाई उडान रोक्ने निर्णय पनि अनुमोदन गरेको छ। यसैगरी नेपाल-भारत सीमा क्षेत्रमा रहेका नेपालीलाई एक पटकका लागि नेपाल प्रवेश गर्न समेत दिने निर्णय गरेको छ। तर उनीहरु अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने छ।
'आवश्यकता अनुसार लकडाउन एक साता लम्ब्याउने निर्णय भएको छ। गरिब तथा विपन्न परिवार व्यावसायीका लागि आर्थिक प्याकेज ल्याउने भनिएको छ। यस्तै बन्दाबन्दी उल्लंघन भइरहेको अवस्थामा थप कडाई गराउने उच्च स्तरीय समितिमा छलफल भएको छ,' समिति सचिवालयका एक सदस्यले बताएका थिए।
सरकारले गत मंगलबारबाट एक साताका लागि लकडाउन गर्ने निर्णय गरेको थियो। हालसम्म नेपालमा ५ जना कोरोना भाइरस संक्रमित भएको पुष्टि भइसकेको छ। उनीहरु पाँचै जना विभिन्न मितिमा विदेशबाट नेपाल आएका हुन्। नेपालमा कोरोना भाइरस संक्रमित पुष्टि भएको दोस्रो र पाँचौं नमूना भएका व्यक्तिहरू चैत ६ मा एउटै विमानबाट कतार हुँदै नेपाल फर्किएका व्यक्ति भएको पाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।