एजेन्सी- स्पेनले चीनबाट मगाएको कोरोना संक्रमण परीक्षण किट गुणस्तररहीन पाइएपछि फिर्ता पठाएको छ। कोरोनाको संक्रमण बढेपछि स्पेनले चीनबाट ९ हजार कोरोना परीक्षण किट मगाएको थियो। सो किटको परीक्षणमा आवश्यक गुणस्तरअनुसारको नभएपछि फिर्ता पठाउने भएको छ।
सिएनएनका अनुसार स्पेनले एक व्यापारिक फर्म मार्फत चीनको सेन्जेन बायोसी बायोटेक्नोलोजीमार्फत ती परिक्षण किट मगाएको थियो। संकटको बेलामा मगाएकाे परीक्षण किट काम नलाग्ने भएको खुलेपछि चीनले समेत चासो देखाएको छ।
चीनको सेन्जेन मार्केट सुपरिभजन कार्यालयले सो सामान स्पेन पठाउने कम्पनीबारे अनुसन्धान सुरु गरेको जनाएको छ।
स्पेनमा कोरोना भाइरसको संक्रमण दैनिक रुपमा बढिरहेको छ। शुक्रबारमात्र कोरोना भाइरसको संक्रमणबाट स्पेनमा ७ सय ६९ जनाको मृत्यु भएको छ। अहिलेसम्म स्पेनमा कोरोना भाइरसको संक्रमणबाट ४ हजार ८ सय ५८ जनाको मृत्यु भइसकेको छ। स्पेनमा कोरोना भाइरसका संक्रमितको संख्या ६४ हजार नाघिसकेको छ।
उता इटालीमा प्रहरीले ९ सय अनधिकृत कोरोना भाइरस परीक्षण किट बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।