काठमाडौं– इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आवद्ध दिल्ली डेयरडेभिल्स पहिलो खेलमै पराजित भएको छ। दिल्लीलाई आइतबार भएको खेलमा किंग्स इलाभेन पञ्जावले ६ विकेटले पराजित गरेको हो।
दिल्लीले दिएको १ सय ६७ रनको लक्ष्य पञ्जावले ७ बल बाँकी छदा ४ विकेट गुमाएर भेट्टायो।
खेलमा सन्दीप पहिलो रोजाइमा पर्न सकेनन्। यता अफगानिस्तानका बलर मुजिव उर रहमानले पञ्जावको तर्फबाट डेब्यु गर्दै २ विकेट लिए।
पञ्जावको जितमा ओपनर लोकेश राहुलले कीर्तिमानी अर्धशतक प्रहार गरे। उनले १४ बलमा अर्धशतक प्रहार गरे। यो आइपिएलको छिटो अर्धशतक हो। ५१ रनमा आउट हुनुअघि उनले १६ बलमा ६ चौका र ४ छक्का प्रहार गरे। अर्का ओपनर मयंक अग्रवाल ७ रनमा आउट भए भने युवराज सिंह १२ रनमा पेभिलियन फर्के। करुण नइरले ३३ बलमा ५० रन प्रहार गरे। उनले ५ चौका र २ छक्का हिर्काए। डेभिड मिल्लरले नआउट २४ र मार्कोस स्टोइनिसले नटआउट २२ रन बटुले।
बलिङतर्फ दिल्लीका ट्रेन्ट बाउल्ट, राहुल टेवाइटा, क्रिस मोरिस र ड्यानिलय क्रिस्टियनले १–१ विकेट लिए।
त्यअसघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६६ रन जोड्यो। दिल्लीका लागि कप्तान गौतम गम्भिरले ५५ रन जोडे। उनले ४२ बलमा ५ चौका र १ छक्का प्रहार गरे। रिशव पन्तले २८ रन जोडे भने क्रिस मोरिसले नटआउट २७ रनको योगदान दिए। मोरिसले १६ बलमा १ चौका र १ छक्का प्रहार गरे। ड्यानियल क्रिस्टियनले नटआउट १३ रन बटुले।
बलिङतर्फ पञ्जावका मोहित शर्मा र मुजिव उर रहमानले समान २–२ विकेट लिए। अफगानिस्तानका मुजिवले डेब्यु खेलमै २ विकेट लिने क्रममा ४ ओभरमा २८ रन खर्चिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।