काठमाडौं– सिंगापुरमा भएको टुएक्सयू कम्प्रेसन रनको १० किलोमिटर दौडको उपाधि नेपाली धावक निमेष गुरुङले जितेका छन्।
आइतबार भएको रनको १० किलोमिटर दौड उनले ३१ मिनेटमा पूरा गरेर पहिलो स्थान हासिल गरेका हुन्। अन्तर्राष्ट्रिय स्तरको दौडमा जापानका खेलाडी दोस्रो भए भने सिंगापुरका खेलाडीले तेस्रो स्थानमा रहेर दौड पूरा गरेका थिए।

पहिलो स्थान हात पारेसँगै निमेषले एक हजार डलर पुरस्कार र मोबाइल लगायत अन्य गिफ्टह्याम्पर पाएका छन्। अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा हजारौ प्रतिस्पर्धीले भाग लिएको निमेषले सिंगापुरबाट नेपाल लाइभलाई जानकारी दिए।


सिंगापुर पुलिसका जागिरे निमेष सिंगापुरका नाम चलेका नेपाली धावक हुन्। सन् २०१३ देखि दौडिन थालेका उनले त्यहि वर्ष ५ हजार मिटरमा सिंगापुरको २५ वर्ष पुरानो कीर्तिमान भंग गरेका थिए भने १० हजार मिटरको राष्ट्रिय कीर्तिमान पनि भंग गरेका थिए।
गत वर्ष अमेरिकामा भएको विश्व पुलिस फायर गेम्समा २ स्वर्ण जितेका थिए। गत अगस्टमा अमेरिकाको लस एन्जलसमा भएको प्रहरीको विश्व च्याम्पियनसिपमा पनि उनले हाफ म्याराथन र १० हजार मिटर दौडमा स्वर्ण जिते।
२०१४ देखि हालसम्म उनले ५ दर्जन स्वर्णसहित ३ सयभन्दा बढी पदक जितिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।