एजेन्सी- कोरोना भाइरसको संक्रमण देखिएलगत्तै प्रभावकारीरुपमा नियन्त्रण गर्न सफल सिंगापुरमा पुनः कोरोनाका नयाँ संक्रमित देखिन थालेका छन्। संक्रमण रोकथाममा सिंगापुर सरकारले अपनाएको शैलीको विश्वस्तरमै प्रशंसासमेत भएको थियो।
सोमबार एकै दिन सिंगापुरमा ५४ नयाँ संक्रमित फेला परेका छन्। एकै दिनमा यति संक्रमित देखिएको यो पहिलो घटना भएको सिएनएनले जनाएको छ।
नयाँ देखिएका ५४ नयाँ केसमध्ये ४८ बाहिरबाट सिंगापुर आएकामा देखिएको हो। उनीहरुको यात्रा विवरण हेर्दा उनीहरु युरोप, उत्तरी अमेरिका र दक्षिणपूर्वी एसिया पुगेको देखिएको छ। सोमबार बढेको नयाँ केससँगै सिंगापुरमा संक्रमितको संख्या ५०९ पुगेको सिंगापुरको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै सिएनएनले लेखेको छ।
पाँच सय ९ संक्रमितमध्ये २ जनाको मृत्यु भइसकेको छ। १ सय ५२ उपचारपछि निको भएर घर फर्किएका छन्। ३ सय ५५ जना अहिले अस्पतालमा उपचाररत छन्। उपचाररतमध्ये १५ को अवस्था चिन्ताजनक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।