न्युयोर्क- अमेरिकामा तीव्र गतिमा कोरोना भाइरसको संक्रमण फैलिएपछि सरकारले घरमै बस्न, सामाजिक दुरी कायम गर्न दिनहुँ अनुरोध गरिरहेका छन्। तर शहरवासीले भने सरकारको आग्रह मानेका छैनन्। सरकारको अवज्ञा गर्दै समुन्द्र किनार पुग्नेहरू घटेका छैनन्। समुन्द्र किनार र पार्क अहिले पनि भरिभराउ छन्।
अमेरिकामा कोरोना भाइरसको संक्रमण तिव्र रूपमा बढिरहेको छ। अमेरिकामा ३५ हजारलाई संक्रमण भएको पुष्टि भइसकेको छ भने चार सय बढीको मृत्यु भइसकेको छ। अमेरिकाको ५० वटै राज्यमा कोरोनाको संक्रमण देखिइसकेको छ।
लस एन्जलसको अवस्था पनि उस्तै छ। व्यक्तिहरू भिडभाडमै हिँडिरहेका छन्। पार्किङ क्षेत्र भरिभराउ छ। लस एन्जसलका मेयर एलिक गार्सेटीले समुन्द्र किनारमा अहिले पनि भिड देखिएको भन्दै घरमा बस्न, बाहिर हिँड्दा सामाजिक दुरी कायम गर्न आग्रह गरेका थिए।
'अहिलेको समय जहाँ त्यही घुम्ने समय हैन,गम्भीर हुनुस्,' उनले भनेका छन्, 'घरमा बसौं र ज्यान जोगाऔं।' जति आग्रह गरे पनि शहरवासीले नमानेपछि सान्ता मोनिकाले आफ्नो क्षेत्रका समुन्द्र किनार र सार्वजनिक पार्कमा जान रोक लगाएको छ।
मियामीका समुन्द्रमा जहाज नै लिएर रमाइरहेकाहरुको भिडियोसमेत सार्वजनिक भएको छ।
यस्ता तस्बिर र भिडियो सार्वजनिक भएपछि मियामी डेडका मेयर कार्लोस गिमेनेजले भिडियो र तस्बिर देखेर दुःख लागेको भन्दै इमर्जेन्सी घोषणा भएको बेलामा धेरै तनाव लिन नसक्ने भन्दै ब्यक्तिगत रुपमा समेत जिम्मेवार हुन आग्रह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।