म्यानचेस्टर– म्यानचेस्टर डर्बीमा युनाइटेडसँग पराजित भएपछि सिटीको ६ खेलअघि उपाधि जित्ने लक्ष्य अधुरै बनेको छ।
सिटीलाई शनिबार राति भएको खेलमा युनाइटेडले ३–२ गोलले पराजित गरेको हो। पहिलो हाफमा सिटीले २–० गोलको अग्रता लिएपनि युनाइटेडले दोस्रो हाफमा ३ गोल गरेर उत्कृष्ट पुनरागमन गरेको हो।
खेलको २५ मिनेटमा भिसेन्ट कोम्पनी र ३० मिनेटमा गोन्डगनले गोल गरेर सिटीलाई अग्रता दिलाएका थिए।
पाउल पोग्बाले ५३ र ५४ मिनेटमा गरी लगातार २ गोल गरेपछि खेल बराबरी भयो। ६९ मिनेटमा स्मलिङले अर्को गोल गरेपछि सिटी पराजित हुन बाध्य भयो।
हारपछि सिटीले उपाधि जित्न अर्को खेल कुर्नु पर्ने भएको छ। बाँकी रहेका ६ मध्ये एक खेलमा जित हात पार्ने सिटीले सिजनको प्रिमियर लिगको उपाधि जित्नेछ।
लिगमा सिटीले ३२ खेलबाट ८४ अंक जोडेको छ भने दोस्रो स्थानको युनाइटेडको ७१ अंक छ। तेस्रो स्थानमा एक खेल बढी खेलेर ६७ अंक जोडेको लिभरपुल छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।