काठमाडौं- कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलँदै जाँदा विश्व खेलकुद नराम्ररी प्रभावित भएका छन्। खेलाडी र प्रशिक्षकहरुमा पनि कोरोना भाइरसको संक्रमण देखिएका छन्। खेल गतिविधि ठप्प छ।
अहिलेको अवस्थाले अझै कति पछिसम्म असर देखाउने हो भन्ने डर पनि बढिरहेको छ। खेलाडीको तलब कम हुनेदेखि नयाँ सम्झौताहरुमा पनि समस्या देखिँदै छ। खेलाडीहरु सेल्फ क्वारेन्टाइनमा छन्। नियमित अभ्यासमा रहने र खेल गतिविधिमा संलग्न हुने त्यस्ता खेलाडीहरु बन्द घरभित्र खुम्चिनुपर्दा निराश छन्।
यस्तोमा दक्षिण अफ्रिकाका क्रिकेट खेलाडी डेल स्टेनसँग इएसपिएन क्रिकइन्फोले कोरोना संक्रमण र क्रिकेटसँग सम्बन्धित रहेर कुराकानी गरेको छ। उनी भर्खरै पाकिस्तान सुपर लिगबाट खेल बीचमा नै छाडेर घर फर्किएका हुन्। जहाँ उनी इस्लामाबाद युनाइटेडमा आबद्ध थिए। कोरोना संक्रमणको खतरा बढेपछि नै पाकिस्तान सुपर लिगको सेमिफाइनल खेल हुन नसकेको हो।
अवस्था कस्तो भइरहेको छ?
यस्तो अवस्थालाई कसरी बुझाउने मलाई थाहा छैन। तपाईं जहाँसुकै जानुहोस् मानिसहरु कोरोना भाइरस संक्रमणबारे नै कुराकानी गरिरहेका छन्। पसलदेखि प्लेनसम्म त्यही नै मात्र विषय छ, लाग्छ कुराकानीका लागि अब अरु सबै कुरा सकियो। साथीहरु वाट्सएप ग्रुपमा समेत त्यही कुरा गरिरहेका हुन्छन्। त्यसबाट पर हुन नै मुस्किल भइरहेको छ। छुट्टीको समयमा त खोला छेउमा माछा मारेर वा समुन्द्र तटमा खेल्दै बस्नुपर्ने हो तर अवस्था त्यस्तो छैन।
गएको हप्ता के गरेर बित्यो, बताउन मिल्छ?
एक हप्ता त यति छिटो बित्यो नि, म पाकिस्तानमा थिएँ। बाहिर पानी परिरहँदा पनि यताउति केही गर्न पाइएन। होटलमा बन्दी जस्तो भएका थियौँ। कतै नहिँड्नु भन्ने आदेश थियो। मलाई नियम मिचेर बाहिर निस्कनु पनि थिएन तर पनि अप्ठ्यारो चाहिँ लाग्ने रहेछ। अझ मैले केही गलत काम गरिदिउँला र पाकिस्तानमा क्रिकेट नै खेल्न नपाउने केही भइदेला भनेर मनमा डर पनि लागिरहेको थियो।
जसरी दिन बढ्दै गयो उति खराब अवस्था हुँदै गयो। एक दुई दिनसम्म वास्ता नै नभएको कोरोनाबारे अब हरेकले कुराकानी गर्न थालिसकेका थिए। अब त तपाइँसँग ‘स्यानिटाइजर’ अत्यावश्यक भइसकेको थियो।
पाकिस्तानबाहिरका खेलाडीहरुबीच घर फर्कनेबारे पनि कुराकानी हुन थाल्यो। हामीले कुरा गरिरहँदा अर्को टिमका त नौ जना खेलाडी घर फर्किनै सकेछन्। हामीले पनि बैठक बस्यौँ। त्यसपछि म एकैछिन पौडी खेल्न गएँ। त्यसपछि फेरि अर्को बैठक भयो, जहाँ हामी घर फर्कने भन्ने नै निर्णय भयो।
त्यतिबेला मैले पनि सोचिरहेको थिएँ किन पो अनावश्यक ‘रिस्क’ लिने। घर फर्किंदा नै ठीक हुन्छ। त्यसै रात नै म घर फर्कन प्लेनमा थिएँ। त्यतिबेलासम्म म फर्किंदैछु भनेर घरमा भन्नसम्म भ्याएको थिइनँ। प्लेनमा चढेपछि नै भने- ‘सुन्नु है, म आज घर फर्कंदैछु भोलि भेटौँला।’
अहिले तपाईंसँग पर्याप्त ‘स्यानिटाइजर’ र ‘ट्वाइलेट पेपर’ छन् त?
अहिले म र मेरो प्रेमिका आमासँग नै बसिरहेका छौँ। हामी बस्ने गरेको घर मर्मत भइरहेको छ त्यसैले पनि त्यहाँ बस्न अलि मिलेन। आमा बस्ने घर सहरबाट अलि पर भएकाले पनि यहाँ नै राम्रो छ। केप टाउनबाट नजिकै रहेको यो ठाउँलाई कोमित्जे भनिन्छ। यो मलाई मनपर्ने ठाउँ पनि हो। यहाँ हामीसँग स्यानिटाइजर र ट्वाइलेट पेपर अझै केही हप्तालाई पुग्नेगरी छ।
यस्तो समयमा धेरै सामान एकैपटक किनेर थुपारेर राख्नु राम्रो पनि होइन। कतिलाई आजकै लागि छैन कसैले वर्ष दिनका लागि जम्मा गर्नु कदापि हुँदैन। दुई हप्ताको लागि किनेर अर्को दिन जाँदा त पसलबाट सब ट्वाइलेट पेपर कसैले उठाइदिसकेछ।
धेरै मानिसहरुको जीवन हरेक दिनको आवश्यकता पूरा गर्ने र अर्को दिन त्यही दिनका लागि काम गरेर अगाडि बढ्ने बानी हुन्छ। त्यसैले एकै परिवारले अनावश्यक रुपमा सामान थुपार्ने गर्नु हुँदैन।
यी कुराले परिवारमा कत्तिको हैरानी आउला भन्ने लाग्छ?
अहिले सबै फुर्सदमा हुँदा पनि मेरो आमा नै व्यस्त भइरहनुभएको छ। उहाँ के के काम गरिनै रहनुहुन्छ। काम गर्ने मान्छेहरुको छोराछोरी हेरेर पनि बसिरहनुहुन्छ। अहिले सबै विद्यालयहरु बन्द रहेकाले पनि गाउँमा रहेका केटाकेटीहरु सम्हाल्न सजिलो छैन। उनीहरुलाई हेर्ने मान्छेको खाँचो छ। त्यसैले मेरो आमा टोल वरपरका केटाकेटीको रेखदेखमा समय दिइरहनुभएको छ। अर्को कुरा हामी समयका बारेमा उति चिन्ता गर्दैनौँ, आरामले बसिरहेका हुन्छौँ। गएको तीन दिनमा जति तनाव भयो अब त्यति तनाव त वर्षभरि नै पनि हुँदैन। अहिले ‘सेल्फ आइसोलेसन’मा बस्न यता घरमा जस्तो ठाउँ कतै होला जस्तो पनि लाग्दैन।
तपाइँको क्रिकेट अभ्यासमा कस्तो प्रभाव परिरहेको छ?
सबैलाई थाहै छ, म उति धेरै खेल अभ्यास गर्दै बस्ने मान्छे पनि होइन। म खेल जीवनको यस्तो अवस्थामा छु कि मलाई लाग्छ- अहिले म सोचेकै बेला बाउन्सर, योर्कर, लेन्थ बल सबै फाल्न सक्छु। खेलको दिनमा नै वार्मअप गर्दा म ती कुराहरुमा विचार गर्छु र धेरै हदसम्म सफल पनि हुन्छु। सबैभन्दा ठूलो कुरा त मानसिक रुपमा खेलका लागि तयार हुनु नै रहेछ।
अर्को विचार गर्नुपर्ने कुरा शरीरको स्फुर्ति कायम रहिरहोस् भन्ने पनि हो। फिटनेसका लागि त अहिले पनि काम गरिरहेको नै हुन्छु। अब मैदानमा खेल्न पाइने कहिले हो भन्ने पनि यकिन छैन। अबको प्रतियोगिता भनेको इन्डियन प्रिमियर लिग (आइपिएल) नै होला। त्यसका लागि म फिट भएर नै बस्नेछु।
अहिले घरमा नै बसिरहेका बेला पुरानो खेलको कुनै भिडियो हेर्न मन लाग्यो भने तपाइँको रोजाइमा कुन खेल हुनेछ?
प्राय त १९९९ अगाडिको खेलहरु नै हुन्छ होला। १९९२, १९९६ र १९९९ का विश्वकपका खेलहरु मलाई धेरै मन पर्छ। त्यसपछि २००३ को विश्वकप पनि राम्रो लाग्छ। किनभने त्यो समयदेखि नै मैले ब्रेट लिलाई राम्ररी नियालेको हो। त्यही बेला जोन्टीका साथै वासिम अक्रमको खेल पनि धेरै राम्ररी हेर्न पाएको थिएँ। त्यो सबै खेलहरु हेर्दा निकै भावुक पनि हुन्छु। मेरो रोजाइँमा कसैले चार सय रन बनाएको खेल हुँदैन, मेरो रोजाइँमा कुनै बलरको बल स्वीङ भएका क्षणहरु पर्छन्।
विभाजनका बीच पनि एकताको सन्देश दिएको खेलकुदले नै थियो। खेलकुदमा तपाइँको धर्म, जाति के हो? तपाइँको छालाको रंग कस्तो छ भन्ने केही कुराको वास्ता हुँदैन। यदि तपाइँले खेलकुदलाई पर लगिदिनुभयो भने बाँकि के रहन्छ भन्ने त मलाई थाहा छैन।
समय हुँदा तपाईंलाई माछा मार्न पनि खुब मनपर्छ, अहिले त्यस्तो केही योजना त छैन?
मलाई माछा मार्न मन पर्ने जमेको पानीमा होइन, बगिरहेको पानीमा नै हो। अहिले मन लाग्यो भने गाडी लिएर एक्लै कतै पर खोलातिर जान पनि सक्छु। तर अहिले पनि सहरदेखि टाढा आरामले नै बसिरहेकाले त्यस्तो केही योजना भने छैन। कहिलेकाहिँ केही नगरी बस्न पनि रमाइलो नै हुन्छ।
आइसोलेसनमा बस्नुपर्दा अर्को एकजना साथी राख्न मिल्दा तपाइँको रोजाइमा को पर्छ? वा योसँग चाहिँ बस्नै नपरे हुन्थ्यो भन्ने कोही छ?
क्वारेन्टाइनमा एक जनासँग मिल्छ भने त मलाई क्वान्टन डि ककसँग बस्न मन पर्छ। विश्वमा मलाई मनपर्ने मान्छेमा डि कक हुन्। यदि तपाइँ उसको कोठामा जानुभयो भने कि त माछा पकाइरहेको हुनेछ कि त माछा पकाइरहेको वा माछा पालिरहेको भिडियो हेरिरहेको हुनेछ। मलाई पकाउने भनेसी असाध्यै अल्छी लाग्छ त्यसले ऊ भयो भने त गजव। ऊ निकै राम्रो कुक हो।
र मलाई कसैसँग बस्नै नपरे हुन्थ्यो भन्ने चाहिँ कोहि छैन। तर धेरै गीत बजाएर सुनिरहनुपर्ने मान्छेसँग चाहिँ बस्नु नपरे हुन्थ्यो भन्ने लाग्छ।
यस्तो समयमा खेलको महत्व के रहला?
खेलको महत्व त रहि नै हाल्छ। हाम्रो जस्तो देशमा हरेक मानिसलाई एक ढिक्का बनाउने भनेकै खेलकुदले हो। पहिले त विभाजनका बीच पनि एकताको सन्देश दिएको खेलकुदले नै थियो। खेलकुदमा तपाइँको धर्म, जाति के हो? तपाइँको छालाको रंग कस्तो छ भन्ने केही कुराको वास्ता हुँदैन। यदि तपाइँले खेलकुदलाई पर लगिदिनुभयो भने बाँकि के रहन्छ भन्ने त मलाई थाहा छैन।
समर्थकहरुका लागि केही सन्देश छ?
स्वस्थ रहनुहोस्, हात धोइरहने बानि गर्नुहोस्, आफ्नो ख्याल गर्नुहोस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।