काठमाडौं– इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु भएपनि नेपाली समर्थकको ध्यान भने आइतबारको खेलमा छ। आइतबार नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने आवद्ध दिल्ली डेयरडेभिल्सले पहिलो खेल खेल्दैछ। दिउँसो सवा ४ बजे किंग्स इलाभेन पञ्जावसँग खेल्नका लागि दिल्लीको टिम अहिले मोहालीमा छ।
२० लाख भारुमा आवद्ध भएका सन्दीपका लागि दिल्लीको प्लेइङ ११ मा पर्नु नै पहिलो चुनौती हुनेछ। अनुभवी भारतीय बलर अमित मिश्रा टिममा रहनुले सन्दीपले दिल्लीको जर्सीमा मैदान उत्रिने सम्भावनालाई कम गरिदिएको छ। तर केहि दिनअघि मात्र दिल्लीका प्रशिक्षक रिकी पोन्टिङले सन्दीप एक प्रतिभावान युवा खेलाडी भएको र उनको प्रदर्शनले नै प्लेइङ इलेवेनमा पर्ने सम्भावनालाई बढाइदिने बताएका थिए।
आइपिएल सुरु हुनुअघि क्रिकेट सम्बन्धि चर्चित मिडियाले सार्वजनिक गरेको दिल्लीको पहिलो रोजाइको टिममा सन्दीप छैनन्। 'क्रिकइन्फो'को पहिलो रोजाइको टिममा २ जना स्पिनरले खेल्न सक्ने विश्लेषण छ। जसमा सहवाज नदिम, अमित मिश्रा र राहुल टेवाटिया छन्। यी तीन जना मध्ये २ जनाले मात्र पहिलो रोजाइमा स्थान पाउने 'क्रिकइन्फो'को विश्लेषण छ।
यस्तै 'क्रिकबज'का लागि हर्ष भोग्लेले गरेको विश्लेषण पनि सन्दीप पहिलो रोजाइमा छैनन्। भोग्लेले अमित मिश्रा आइपिएलका बढि विकेट लिने खेलाडी भएकाले पहिलो रोजाइमा पर्ने बताएका छन्। यस्तै सहवाज नदिमले रणजी ट्रफीमा राम्रो प्रदर्शन गरेकाले उनी टिममा पर्ने बताए। राहुल टेवाटिया र जयन्त यादवको पनि सम्भावना रहेको उनको दाबी छ। यद्यपी विस्तारै आफ्नो नाम बनाइरहेका सन्दीप लामिछानेको पनि सम्भावना रहेको उनले बताए। भोग्लेले समग्रमा स्पिनरको रुपमा अमित मिश्रा र साहवाज नदिम उत्तम विकल्प रहेको बताएका छन्।

यता अर्का विश्लेषक आकाश चोपडाका अनुसार २ जना स्पिनरले मौका पाउँदा अमित मिश्रा र साहवाज नदिम पहिलो रोजाइमा पर्ने बताएका छन्। उनले दिल्लीको स्पिन बलिङमा सवैभन्दा बढी विकल्प रहेको समेत बताए।
दिल्लीको टिममा स्पिनरका रुपमा अमित मिश्रा, राहुल टेवाइटा, साहवाज नदिम, जयन्त यादव, अभिषेक शर्मा र सन्दीप लामिछाने छन्। स्पिनरमा पनि अमित मिश्रा, राहुल टेवाइटा र सन्दीप लामिछानेको बलिङ स्टाइल एउटै छ। जसले गर्दा सन्दीपलाई प्लेइङ ११ पर्न मुस्किल हुने पक्का छ। यी ६ मध्ये २ जना मात्र स्पिनरले मौका पाउनेछन्।
सबै खेलमा सन्दीपको उपस्थिति नरहेपनि केहि खेलहरुमा भने उनले बलिङ गर्न पाउने सम्भावनालाई नकार्न सकिँदैन। प्रशिक्षक पोन्टिङका अनुसार सन्दीप टिमका उत्तम बिल्कप हुन्। यदि पाएका अवसरहरुमा सन्दीपले आफुलाई प्रमाणित गर्नसक्ने हो भने आगामि सिजनमा उनले आफ्नो तथा नेपाली खेलाडीका लागि आइपिएलको ढोका अवश्य खुल्नेछ। तर अन्तर्राष्ट्रिय ‘एक्सपोजर’ तथा विश्वस्तरिय अभ्यास गर्न सन्दीपका लागि आइपिएल साँच्चै नै महत्वपूर्ण रहनेछ भन्नेमा दुविधा छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।