काठमाडौं– धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत घरेलु टिम चौराहा धनगढी प्लेअफमा प्रवेश गरेको छ। शनिबार भएको समूह चरणको अन्तिम खेलमा रुपन्देही च्यालेञ्जर्सलाई ३ रनले पराजित गर्दै धनगढीले प्लेअफमा स्थान पक्का गरेको हो। यसअघि नै बाहिरिसकेको रुपेन्देही समूह चरणका सबै खेलमा पराजित हुने क्रममा लगातार पाँचौ खेलमा पनि हार्यो।
शनिबार रुपन्देही र धनगढीबीचको खेल वर्षाका कारण प्रभावित बनेपछि ८ ओभरमा घटाइएको थियो। ८ ओभरमा ७७ रनको लक्ष्य पछ्याएको रुपन्देहीले ५ विकेटको क्षतिमा ७३ रन मात्र जोड्न सक्यो। रुपेन्देहीका लागि सागर पुनले १६ बलमा ३३ रन जोडेपनि जितका लागि पर्याप्त हुन सके। सागरले धनगढीका रोहान मुस्ताफबाट बोल्ड हुनुअघि ३ चौका र ३ छक्का प्रहार गरे। यस्तै दीपक प्रसाद अन्तिम ओभरमा १६ रनमा रन आउट हुनु रुपन्देहीका लागि दुर्भाग्य साबित भयो।

रुपेन्देहीका ओपनरद्वय प्रदीप ऐरी ६ रनमा ललित भण्डारीबाट बोल्ड भए। ओपनिङमा आएका सिद्धान्त लोहनी ३ रनमा रनआटउट भए। अमरसिंह रटौला शून्यमा आउट भए । रोहान मुस्ताफाले सातौं ओभरमा सागर पुन र रटौलालाई आउट गरेपछि खेल धनगढीको पक्षमा आएको थियो। अन्तिम ओभरमा १४ रन चाहिएको रुपन्देहीका दीपक प्रसाद रन आउट हुँदा धनगढीका बलर योगेन्द्रसिंह कार्कीले ७ रन मात्र खर्चिए।
बलिङतर्फ धनगढीका मुस्ताफाले २ र ललितले १ विकेट लिए। धनगढीले रुपेन्देहीका २ ब्याट्सम्यानलाई रनआउट गरेको थियो।
अंक तालिका

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित ८ ओभरमा ७ विकेट गुमाएर ७६ रन जोड्यो। धनगढीका लागि मध्यक्रमका ब्याट्सम्यान सोनु तामाङले १४ बलमा ३४ रन जोडे। उनले १ चौका र ४ छक्का प्रहार गरे। रोहान मुस्ताफाले १३ बलमा १५ रन प्रहार गरे। उनले १ छक्का मात्र प्रहार गर्न सके। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्। ओपनिङमा आएका अस्फाक अहमद डकआउट हुँदा सुनील धमला ६ रन र सोमपाल कामी २ रनमा आउट भए। राजु रिजल शून्य रन र राजेश पुलामी मगर ९ रनमा आउट भए। योगेन्द्रसिंह कार्कीले नटआउट ५ र शंकर रानाले २ रन जोडे।
बलिङतर्फ रुपेन्देहीका सुशन भारीले ३ विकेट लिए। दीपेश श्रेष्ठले २ विकेट हात पार्दा सागर पुन र शक्ति गौचनले समान १–१ विकेट आफ्नो नाममा लेखाए।
तस्बिर : क्रिकेटिङ नेपाल डटकम
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।