काठमाडौं- मूल्य वृद्धि आकासिने क्रम थप बढेको छ। चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा मुद्रास्फीति ६.८७ प्रतिशत पुगेको छ। ६ महिनाको अवधिमा मुद्रास्फीति ६.८२ प्रतिशत थियो। केहि महिनादेखि लगातार मूल्य बढिरहेको छ। खाद्यान्न तथा पेय पदार्थको मूल्य पनि बढिरहेको छ।
माघमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.८७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोहि महिनामा यस्तो मुद्रास्फीति ४.३५ प्रतिशत थियो। समीक्षा महिनामा खाद्य तथा पेयर पदार्थ समूहको मुद्रास्फीति ९.७९ प्रतिशत र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.६५ प्रतिशत रहेको छ।
मुल्य वृद्धि सबैभन्दा धेरै उपत्यकामा रहेको छ। विप्रेषण आप्रवाह ०.५ प्रतिशतले घटेको छ। गत महिनामा रेमिट्यान्सको आप्रवाह ०.९ प्रतिशतले मात्रै सुधार भएको थियो। गएकाे महिनामा विप्रेषण आप्रवाहको वृद्धिदरमा मात्रै गिरावट आएको थियो। तर यस पटक भने विप्रेषण आप्रवाह नै घटेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार शोधनान्तर स्थिति रु २१ अर्ब ६१ करोड बचत देखिएको छ। हाल नेपालमा विदेशी विनिमय सञ्चिति १० खर्ब ९६ अर्ब रुपैयाँ कायम भएको छ। उक्त सञ्चिति ८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिन्छ।
संघीय सरकारको बैंकिङ कारोबारमा आधारित खर्च चार खर्ब ४९ अर्ब रुपैयाँ र राजस्व परिचालन ५ खर्ब ५१ अर्ब रुपैयाँ रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार विस्तृत मुद्राप्रदाय ५.६ प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १३.८ प्रतिशतले बढेको छ। बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६.४ प्रतिशतले निजी क्षेत्रतर्फको कर्जा ८.९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।
वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १५.६ प्रतिशत र कर्जाको वृद्धिदर १४.१ प्रतिशत रहेको छ।
कोरोनाका कारण घट्यो रेमिट्यान्स
आर्थिक वर्ष २०७६/०७७ मा नेपाल राष्ट्र बैंकले गरेको ७ महिनाको समीक्षामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ०.५ प्रतिशतले घटेको छ।
विप्रेषण घटेर यो अवधिमा ५१३ अर्ब २१ करोड कायम भएकोछ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २८.५ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाहमा ०.२ प्रतिशतले कमी आएकोछ। अघिल्लो वर्ष यस्तो आप्रवाह १६ प्रतिशतले बढेको थियो।
विश्वमा कोरोना भाइरसको संक्रमण बढेसँगै ०.५ प्रतिशतले रेमिट्यान्स घटेको अनुमान गरिएको छ। विप्रेषण घटे पनि समीक्षा अवधिमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण)का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने बढेको छ। वैदेशिक रोजगारीमा जानेको संख्या २१.७ प्रतिशतले बढेको हो। अघिल्लो वर्षको सोह अवधिमा यस्तो संख्या ३७।५ प्रतिशतले घटेको थियो।
पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ०.६ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोहि अवधिमा यस्तो संख्या ४.९ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा खुद ट्रान्सफर आयसमेत १.१ प्रतिशतले ह्रास भई रु.५७९ अर्ब ९४ करोड कायम भएको छ। अघिल्लो वर्षको सोहि अवधिमा यस्तो आय २७.३ प्रतिशतले बढेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।